सञ्जय शर्मा “खेतारे”
२०७७ बैशाख २४ | 06 May 2020
हँगेरीमा म राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै थिएँ । उनी समाजशास्त्रमा । रसियाबाट आएकी थिइन् । होस्टेलमा मेरो कोठाको सामुन्ने उनको कोठा थियो । कहिले काहीं ढोकाबाट निस्कँदा आँखा जुध्थ्यो । बिस्तारै मुस्कान साटिन थाल्यो ।
उनको आँखा साह्रै राम्रा थिए । मृगका जस्ता । लामो सर्लक्क मिलेको कपाल । सेतो छाला र राता गाला । सुमधुर स्वर । टिपिकल हलिउडकी अभिनेत्री जस्तो ।
एकदिन कलेज जाँदा सँगै पर्यौं । ५ मिनेटको बस यात्रा, १५ मिनेटको मेट्रो अनि १० मिनेटको हिँडाईमा थुप्रै गफ भयो ।
एक-दुई पल्ट कफि पिउन पनि गयौं ।
त्यो मृगनयन अझै मनमस्तिस्कमा ताजा छ ।
एकदिन भान्सा कोठामा भेट भयो । म प्रेशर कुकरमा भात पकाउँदै थिए । उनले फ्रिज खोलिन् । स्याऊ टोकिन् । अनि मुस्कुराउँदै म भए तिर आएर कुरा गर्न सुरु मात्रै के गर्दै थिइन् प्रेशर कुकरको सिठ्ठी लाग्यो ।
उनको सेतो कलकलाउँदो छाला एक्कासी रातो-कालो भयो । “यो भाँडाले यस्तो आवाज निकाल्छ भनेर पहिल्यै भन्नू पर्दैन ?” भनेर हकारिन् र भान्साबाट बाहिर गइन् ।
त्यो दिन देखिन् न उनी मसँग बोलिन् न मैले कहिल्यै प्रेशर कुकरमा भात पकाएँ ।
फोटो स्रोत: इण्डिया मार्ट
Leave a Reply