सञ्जय शर्मा “खेतारे”
२०७७ बैशाख २५ | 07 May 2020
बा बिरामी पर्नु भएको थियो । बा पहिले पनि सालै पिच्छे बर्खा याम तिर बिरामी पर्नु हुन्थ्यो । धेरै जस्तो टाईफाईड हुन्थ्यो । पत्रकारिता गर्दा जता पनि होटलमा खाने बानीले होला ।
पछि मोटरसाइकलले ठोकेर कुमको हड्डि भाँचिएपछि बा अलि कमजोर हुनुभएको थियो । अहिले पनि आमा बरु विरामी परे पनि आफ्नो दैनिक कामहरु गर्ने गर्नु हुन्छ । तर बा विरामी पर्नु भयो भने खाट छोड्नु हुन्न । आ-आफ्नो तरिका हुन्छ होला निको हुने पनि !
बा विरामी पर्दा खसीको खुट्टाको सुप खाने गर्नुहुन्थ्यो । यस्तो “खुट्टी”को सुपले तागत दिन्छ भन्नुहुन्थ्यो आमा ।
यो पल्ट बा-लाई सामान्य ज्वरो मात्र आएको थियो । तर दुई दिनदेखि बा-ले खाट नछोडेको देखेर आमा अलि बढि चिन्तित हुनुहुन्थ्यो । आमाले मलाई नजिकैको मासु पसलमा गएर “एउटा खुट्टी लिएर आईजो ।” भनेर अह्राउनु भयो ।
अरुबेला सधैं मासु किन्ने पसलमा आज खुट्टी सकिईसकेछ । दोस्रो पसल बन्द रहेछ । तेस्रो पसलमा पनि खुट्टी रहेनछ । अब कसो गर्ने होला भन्ने सोच्दा सोच्दै देखें कि चौथो नयाँ आधुनिक मासु पसल खुलेको रहेछ । हेमको घर मुनिको मासु पसल । सेतो टायल हालेको मासु पसल ठूलो, उज्यालो, सफा थियो । बाँकि अघिल्ला तीन वटा मासु पसल सानो ठाऊँमा बनेका र सफाई खासै नगर्ने खालका थिए ।
मासु पसल भित्र पसेर साहुनीलाई “एउटा खुट्टी दिनु न !” भनें ।
साहुनी अरु नै ग्राहकको लागी भाग लगाउँदै थिइन् एकछिन मलाई वास्ता गरिनन् । सो ग्राहक गएपछि “तपाइँलाई के राखिदिऊँ ?” भनेर नम्र स्वरमा सोधिन् ।
“खुट्टी” भनें ।
“कति किलो ?”
“एउटा भए हुन्छ ।” खुट्टी त एउटा, दुइटा, तीनटा, चारवटा, पो बेच्थे त पहिले । अचेल किलोमा बेच्न थालेछन् कि क्या हो सोचें ।
“एउटा मात्रै ?” अलि हिच्किचाएको जसरी सोधिन् ।
अचेल एउटा मात्रै खुट्टी पाईन्न कि क्या हो ? भन्ने सोचें । “किन र एउटा दिन मिल्दैन र ?” सोधें ।
“हैन मान्छेले पाँच, दश किलो लग्छन् । एउटा मात्रै लिन त कोहि आउँदैन । पैसा लिन पनि गाह्रो हुन्छ एउटाको ।”
म छक्क परें । नेपालीहरुले अचेल के गर्न थालेछन् र खुट्टीको त्यत्रो धेरै लगेर भन्ने सोचें । “एउटाको कति पर्छ र ? म पैसा दिई हाल्छु नि मिलाएर ।” भनें ।
“भैगो एउटा त सित्तैमा लैजानुस् भनिन् ।” म चकित परें ।
फ्रिजर खोलिन् र त्यहाँबाट एउटा कुखुराको खुट्टा निकालेर “लिनुस् ।” भनिन् ।
म खित्का छोड्दै हाँस्न थालें । रातो-रातो भएँ । “मैले त खसीको खुट्टी भनेको !” हाँस्दै भनें ।
“ए ! मैले त कुकुरलाई ख्वाउनलाई पो एउटा खोज्नु भयो होला सोचेको । यहाँ त खसी पाइँदैन । कुखुराको मासु मात्रै बेच्छौं हामी त ! बाहिर बोर्डमै लेखेको छ नि ! हेर्नु भएन ? ” भनिन् । उनी पनि खित्का छोड्दै हाँस्न थालिन् ।
म लाजले निहुँरिँदै बाहिर निस्कें ।
यो घटनाको दुई-तीन दिन पछि बा खसीको खुट्टीको सुप नखाई निको र फुर्तिलो हुनु भयो । कुखुराको “खुट्टी” को सुप खाएको भए बरु अलि छिटो निको हुनुहुन्थ्यो कि !
फोटो विकिपिडियाबाट साभार ।
Leave a Reply