यो लेख २७ जेठ २०७७ (९ जुन २०२०) का दिन नयाँ पत्रिकामा छापिएको थियो ।
भारतसँगको सीमा विवाद अझ बढ्दै जाँदा, सामाजिक सञ्जालमा थुप्रै थरी राष्ट्रवादी पोष्टहरु “सेर” गरिए । तपाइँले यस्ता पोष्टहरु याद गर्नु भयो यसमा अधिकाँश भारतलाई गाली गरिएका पोष्टहरु थिए । भारतले नेपालको स्वाधिनतामा धावा बोलेका कारण यस्तो हुनु स्वाभाविक पनि थियो । नेपाली र भारतीय साइबर सेनाले एक अर्का माथि थुप्रै “अट्याक” र “काउण्टर अट्याक” पनि गरे । यस्तो झगडामा दुवै पक्षबाट तल्लो स्तरको गालीगलौज पनि भयो । हामी भारतलाई, भारतीय मिडियालाई, र भारतीयहरुलाई मात्र गरिरहेका थिएनौं । हामी हाम्रो नश्लवाद पनि पोख्दै थियौं । विषाक्त पुरुषत्व (टक्सिक म्यास्कुलिनिटी) देखाउँदै थियौं । भारतीयहरुले पनि त्यसै गर्दै थिए । तर यो लेखमा नेपालका आयामहरुमा केन्द्रित रहौं ।
नेपालीहरुले आफ्नो राष्ट्रियता (न्याश्नालिटी) र क्षेत्रीयता (टेरिटोरियालिटी) प्रस्तुत गर्ने क्रममा फेरी पनि आफू भित्र रहेको राष्ट्रवाद (न्याश्नलिजम्), नश्लवाद (जिनोफोविया र रेसिजम्), पितृसत्ता, र औपनिवेशीक मानसिकता (कोलोनाईज्ड माइन्ड) को पनि प्रदर्शन गरे । यो लेख लेख्न सुरु गर्दा दीपेन्द्र झा र सरिता गिरीको राष्ट्रियता माथि प्रश्न उठाइँदै थियो भने मनिषा कोइराला माथि भारतीय मिडियाको निम्न स्तरको टिप्पणीको चर्को विरोध हुँदै थियो । त्यस्तै मिनेन्द्र रिजाल, रवि लामिछाने र राजेश हमालको वाह-वाही हुँदै थियो । यो लेख सकिन लाग्दा वर्षा राउत माथि सामाजिक सञ्जालमा अत्यन्तै निम्न स्तरको हमला हुँदै थियो । उनको “गल्ती” यत्ति थियो कि उनले मनिषाले जस्तो सिधै नेपालको पक्ष लिइनन् र कूटनीतिक ढङ्गले समस्याको समाधान गर्नु पर्छ भनिन् । ऋतिक रोशन काण्ड र ईराकमा १२ नेपालीहरु मारिए पछिको नेपालमा भएका साम्प्रदायिक दङ्गा र कुनै पनि मधेस आन्दोलन र भारतीय नाकाबन्दी ताका मधेसी र मुस्लीम धर्मावलम्बी माथि हुने नश्लीय लान्छना र जातिय भेदभावको गन्ध नेपालले लिम्पियाधुरा सहितको नक्सा जारी गर्दा सामाजिक सञ्जालमा देख्न पाइन्थ्यो । महिला माथि हुने घरेलु हिंसा र राज्यले उनीहरु माथि गरेको दोस्रो दर्जाको व्यवहारलाई नेपालीहरुले सामाजिक सञ्जालमा राष्ट्रवाद र राष्ट्रियताको दुहाई दिंदै प्रष्ट्याईदिएका थिए ।
नेपाली राष्ट्रियताको सवालमा थुप्रै कुरा छुटाउन नहुने खालका छन् । तर पहिचान र स्वाधीनता मुख्य विषय हुन् जुन धेरै हदसम्म एक अर्काका पर्याय पनि हुन् । हामीले गौतम बुद्ध, सगरमाथा, र सीताको छवि संस्थागत गरेर नेपाली हुनुको पहिचान दिन्छौं । त्यस्तै भारत र चीनसँगको ठोस सीमानाबाट र नेपालको अर्थराजनीतिमा बाहिरी शक्तिहरुको चलखेल निस्तेज भएको सार्वभौम राष्ट्रको स्वाधीन परिकल्पना गर्छौं । कुनै मूद्दा यी दुवै मापदण्डमा टेकेर सैद्धान्तिकरण हुन्छन् । जस्तै “वीर गोर्खाली” को अवधारणा पहिचान र स्वाधीनता दुवैसँग जोडिन्छ ।
“वीर गोर्खाली” को अवधारणाले नेपाली राष्ट्रियतामा पहिचान थप्ने काम मात्र गर्दैन । यसले गोर्खाली साम्राज्यले स्थापित गरेको भौगोलिक सीमानाको पनि अवधारणा तय गर्छ । भर्खरैको नक्सा विवादमा “ग्रेटर नेपाल” को नक्सा सतहमा यहि कारण आएको थियो । नेपाली राष्ट्रियता र राष्ट्रवादमा “वीर गोर्खाली” को इतिहास र वर्तमान दुवै गहिरो रुपमा जोडिएको छ । र सबैभन्दा रोचक कुरा के हो भने पञ्चायतकालीन “वीर गोर्खाली” को अवधारणा ब्रिटिश उपनिवेश (कोलोनियलिजम्), राष्ट्रवाद, क्षेत्रीयता, पुरुषत्व (म्यास्कुलिनिटी), र नश्लवाद सँग जोडिएको छ । यो लेखले यी विषयहरुको उठान गर्नेछ ।
गोर्खाली सेनासँग रुष्ठ र गोर्खाली युद्ध बन्दीहरुलाई पश्चिम नेपालमा जम्मा गरेर बेलायतले “गुर्खा रेजिमेण्ट” को निर्माण सन् १८१४-१६ को नेपाल-बेलायत युद्धका बेला गरेको थियो । पछि ब्रिटिश साम्राज्य डगमगाउँदै जाँदा वा उसको औपनिवेशिक स्वार्थ पूरा गर्न ब्रिटिश गोर्खाको प्रयोग भयो । चाहे रसियन युद्ध होस् वा दुईटै विश्व युद्ध वा इराक र अफगानिस्तानमा होस्, नेपालीहरुले बेलायतको तर्फबाट लडिरहे । ब्रिटिश गोर्खामा भर्ती हुनुपर्ने कारणहरुमा आर्थिक कारण मुख्य थियो । तर त्यस सँग-सँगै निरञ्कुश राणा शासकहरुले नेपालका पहाडबाट मुख्यता जनजाति युवाहरुलाई जबरजस्ती पनि गल्लावालको जिम्मा लगाई भर्ती गराए (थप सन्दर्भका लागी मेरी डेसेनको १९९१ को पिएचडी सोधपत्र हेर्नुहोला) । आफ्नो निरञ्कुश राज्य व्यवस्था टिकाउन राणाहरुले ब्रिटिशहरुलाई निरन्तर आफ्ना नागरिकहरु भर्ती हुन खटाइरहे । रैती बनाईरहे । बिस्तारै भर्ती हुनु भनेको संस्कृतिक महत्त्वको विषय पनि हुन पुग्यो । आर्थिक रुपले सम्पन्न मात्र नभएर “ब्रेभ गुर्खाज्” (वीर गोर्खाली) को उपनामले संसारभरी चर्चित नेपालीहरु युद्ध कुशलताका लागी र वीरताका लागी पनि ब्रिटिशको सेवामा लागीरहे । हाल यो आर्थिक र संस्कृतिक रुपले मात्र नभई भू-राजनीतिक हिसाबले पनि महत्त्वपूर्ण छ किनभने ब्रिटिश गोर्खा सैनिक र उनीहरुका परिवारले सजिलै ब्रिटिश पासपोर्ट प्राप्त गर्न सक्छन् । यसरी गोर्खाली सँग-सँगै सिख र पठान लगायतका मानिसहरुलाई “ब्रिटिश ईण्डियन आर्मी” मा भर्ती गरेर औपनिवेशिक ब्रिटिशहरुले आफ्नो पूँजीवादी, साम्राज्यवादी र विस्तारवादी अवसर दशकौं सम्म पूरा गरिरहे ।
राष्ट्रियता र पहिचान
मैले पछिल्लो लेखमा बेनेडिक एण्डरसनको “इम्याजिण्ड कम्युनिटिज्” को अवधारणामा जब कुनै नेपालीले पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म रहेका नेपालीहरु मिलेर एउटा नेपाल राष्ट्र बन्छ भन्ने विषयमा छलफल गरेको थिएँ । त्यो नेपाली कल्पना (इम्याजिनेशन) को एउटा ठूलो खोट पञ्चायतकालीन “एक भाषा, एक भेष” को अवधारणामा थियो । नेपाली राष्ट्रियता र नेपाली हुनुको परिभाषामा नेपाली बोल्ने, हिन्दू धर्म मान्ने, “उपल्लो” जातको मध्यम वर्गीय पुरुष सजिलै सँग अटाउँछन् । यसमा गैर पहाडे, “उपल्लो” भनिने जात बाहेकका मानिस, हिन्दु धर्म नमनाउने, नेपाली भाषा बोल्न नजान्ने, निम्न वर्गीय मानिस, र पुरुष बाकेका अरु लिङ्ग (महिला मात्रै होइन) लाई अटाउन हम्मे-हम्मे पर्छ । यहाँ राष्ट्रियताको वर्गीकरण र अलगीकरण हुन्छ । कसैले त्यस्तो पहाडे राष्ट्रवाद भन्दा भिन्न कुरा गरे त्यो बहिष्करणमा पर्छ । उदाहरण: सरिता गिरी वा वर्षा राउत ।
राष्ट्रियताको अवधारणा पहिचानको विषयसँग नजिक हुन्छ । वीर गोर्खालीको एकात्मक संरचनामा पहाडे हिन्दू पितृसत्तात्मक राष्ट्रियता अटाउन खोजिए पनि यो पहिचानको कुरा अरु धेरै कोणहरुमा गएर ठोक्किन्छ । कति कोणहरु समनान्तर रेखा बनेर निस्कन्छन् भने थुप्रै पहिचानका मुद्दाहरु एक आपसमा बाझिन्छन् । जस्तै नेपालको सीमानामा बस्ने केहि मानिसहरु हिन्दू छन्, केहि छैनन् । यहाँ नेपाली बोल्न नजान्ने थुप्रै मानिसहरु छन् । उनीहरुले कहिल्यै ढाका टोपी र दौरा सुरुवाल लगाउँदैनन् । कोहि बाहुन छन् कोहि दलित । कोहि जातभात मान्दैनन् वा यस्तो वर्गीकरण गर्ने धर्म नै मान्दैनन् । कोहि महिला, कोहि पुरुष, कोहि यी दुईटा लैङ्गिक भिन्नतामा नपर्नेहरु । एउटै मान्छेको धेरै पहिचान हुन्छ । एउटै मानिस बहुआयामिक हुन्छ । एउटै व्यक्तिले बहुपहिचान बोकेको हुन्छ । यस्तो नेपालमा मात्रै होइन संसार भरी हुन्छ ।
“म र तिमी बीच फरक छ” भनेर जनाउन पहिचान अपरिहार्य हुन आउँछ । यसरी आफू वा आफ्नाबाट अरुलाई अलग्याउनुलाई अङ्ग्रजीमा अदरिङ्ग भनिन्छ । नेपालीमा यसलाई अलगीकरण भनौं । नेपाली राष्ट्रियता र पहिचानको सवालमा पनि अलगीकरणको मूद्दा धेरै पुरानो हो । पञ्चायतकालको अन्त्य हुँदासम्म नेपाली हुनु भनेको खास पहाडे उपल्लो जातको दौरा-सुरुवाल लगाउने, नेपाली भाषा बोल्ने र दशैं मनाउने पुरुष भन्ने बुझिन्थ्यो । मैले अन्य धर्म, भाषा, लिङ्ग, जात-जाति छँदै थिएनन् भन्ने खोजेको होइन । तर जे जति अन्य थिए, ति अन्य नै भईरहे । अलगीकरणमा परिरहे । राज्यले उनीहरुलाई दोस्रो दर्जाको व्यवहार गरिरह्यो । आम नागरिकहरुले त्यहि सिके र अहिले त्यहि सामाजिक सञ्जालमा देखाईरहेका छन् ।
पहिचानको मुद्दासँग आफ्नो र पराई भन्ने द्वैदता प्रष्ट देखिन्छ । कसैले “म नेपाली हुँ” भन्यो भने अरुलाई “तिमी नेपाली होइनौ” भनेको हुन सक्छ । सामान्य रुपमा नेपाल भित्रै “म नेपाली हुँ” भनिरहनु पर्दैन । तर कोहि नेपाली प्रष्ट नबोल्ने मानिसले नेपाल मै यो बारम्बार दिईरहेको हुन सक्छ । “म पहाडे हुँ” भनेर सायदै कसैले भन्छ होला । तर नश्लवादी यो देशमा “तिमी मधेसी हौ” भनेर धेरै ठाउँमा विभेद गरिन्छ । यो पितृसत्तात्मक समाजमा महिलले भोग्ने दु:ख पुरुषले कहिल्यै भोग्दैनन् र त्यसैले बुझ्न सक्दैनन् । हिन्दू राष्ट्रवादी र अतिवादीहरु बढ्दै गएको हाम्रो समाजमा एउटा मुस्लिमले कैयौं पटक आफ्नो राष्ट्रियताको पुष्टि गर्नु पर्छ । जातिय विभेद ग्रस्त यो समाजमा अन्तरजातिय विवाह गरेकै कारण कोहि मारिन्छन् ।
वीर गोर्खालीको निर्माण
पाश्चात्य साम्राज्यवादी शक्तिहरु (जस्तै बेलायत) ले पूर्वीय संस्कृतिलाई रोमान्टिसाइज गरेर प्राच्यवाद (ओरिएनटलिजम्) को परिकल्पना गरे । सामान्य भाषामा भन्नु पर्दा पूर्वलाई असभ्य भनेर पाश्चात्य सभ्यतालाई सर्वश्रेष्ठ देखाउनु प्राच्यवादको मुख्य उद्देश्य थियो । संसारमा धेरै थरीका प्राच्यवादहरु चर्चित थिए जसमा यो लेखमा म वीरताको निर्माणलाई पुरुषत्वसँग जोड्न जाँदै छु ।
ख्याँती प्राप्त प्राध्यापक एडवर्ड सईद भन्छन् कि यसरी साम्राज्यवादीहरुको प्राच्यवादमा औपनिवेशिक देशहरु (जस्तै टर्की, इरान, भारत) ले पनि सहमति जनाउँछन् । साम्राज्यवादीहरुले आख्यान वा गैर-आख्यानको सहयोगले औपनिवेशिक जनताहरुको एकखाले चरित्र निर्माण गरेका हुन्छन् र उपनिवेशका मानिसहरुले यो चरित्रलाई ग्रहण गरेका हुन्छन् । सईद भन्छन् कि प्राच्यवाद रोमान्टसाइज गरिएको परिदृश्य र झूठको खेती मात्र होइन । यसमा साम्राज्यवादीहरुले शताब्दीयौंदेखि लगानी गरेका हुन्छन् । सिद्धान्तहरु प्रतिपादन गरेका हुन्छन् । र यसलाई प्रयोगमा पनि ल्याएका हुन्छन् । सईदको समालोचनामा परेका “असभ्य अरबहरु” को परिकल्पना, प्राध्यापक सैयद हुसैन अलातासले समालोचना गरेका दक्षिणपूर्वी एसियाका “अल्छी आदिवासहरु” को चित्रण र हामी सबैले सुन्ने गरेको “ब्रेभ गुर्खाज” वा “वीर गोर्खाली” को निर्माणमा ठेली-का-ठेली किताबहरु लेखिएका हुन्छन् ।
सन् १९८० सम्म मात्रै ब्रिटिश गोर्खाका बारेमा ३२० वटा जति लेख-रचनाहरु प्रकाशित भईसकेका थिए । पछिल्ला ४० वर्षमा यो सङ्ख्या आकाशिएको हुनुपर्छ । सोआस युनिभर्सिटीका प्राध्यापक लिओनेल काप्लानको वर्गीकरणका अनुसार “वीर गोर्खाली” का विषयमा अङ्ग्रेजी भाषामा लेखिएका किताबहरुलाई मुख्यतया सैन्य इतिहास, संस्मरण र आत्मवृतान्त, फोटोग्राफीका किताब, र भर्तीमा काम लाग्ने हाते किताबहरु गरी चार भाग लगाउन सकिन्छ ।
प्राच्यवादी “वीर गोर्खाली” को निर्माणमा सघाउन “सैन्य जातिको सिद्धान्त” (मार्सियल रेस थ्यौरी) को प्रतिपादन भयो जसले कुनै विशिष्ट जातिमा सैन्य कौशल अरुमा भन्दा धेरै हुने बताउँछ । गोर्खालीको साथ-साथै स्कट्ल्याण्डका पहाडे जाति, सिख र पठानहरुमा पनि यस्तो सैन्य कुशलता रहेको विश्वास गर्ने बेलायतीहरुले अध्ययन र नीजि अवलोकनका आधारमा यस्ता जातिहरुलाई अरु भन्दा बलिया र आँटिला हुने देखाउँदै थुप्रै किताबहरु लेखे (प्राध्यापक हेथर स्ट्रिट्स्-सल्टरको समलोचनाहरु हर्नुहोस्) ।
यस्तो सिद्धान्तको अवधारणा कुनै जातिलाई विशेष देखाएर फाईदा उठाउनु मात्रै थिएन । एउटा जातिलाई अर्को भन्दा कनिष्ठ बनाउनु पनि थियो । दक्षिण एसियामा बेलायतीहरुले गोर्खाली, सिख र पठानहरुलाई वीर मात्र बनाएनन् । पढेलेखेका बङ्गालीहरुको बढ्दो राजनीतिक पहुँचलाई कम गर्न उनीहरुलाई डरपोख, पुरुषत्व कम भएको र स्त्रीवत भनेर व्याख्या पनि गरे । यसले दक्षिण एसियामा व्याप्त लैङ्गिक विभेदलाई झनै मलजल गरेको थियो । पहाडे गोर्खालीहरुलाई “जब्बर, कट्टर, आत्मानुशासित तर हंसमुख” भनि बेलायतीहरुले परिभाषा गर्थे र साथै समथर भू-भागका मानिसहरु (जस्तै बङ्गाली) लाई “नरम र निर्धो” भन्ने गर्थे (काप्लानको वारियर जेन्टलमेन, मृनालिनी सिन्हाको कोलोनियल म्यास्कुलिनिटी, हेदर स्ट्रिट्सको मार्सियल रेसेज लगायत समालोचना हेर्नुहोस्) । अहिलेको नेपाल-भारत विवादमा यो भावना पनि प्रसारीत भएको देखिन्छ । आफ्नो विषाक्त पुरुषत्व देखाउन थुप्रै मानिसहरु सामाजिक सञ्जालमा लालायित देखिन्छन् ।
तर प्राच्यवादी ब्रिटिशहरुले चलाखी पूर्ण ढङ्गले यी “बलिया र आँटिला” पूर्वीय “जाति”हरुलाई तर्क गर्न नजान्ने र अविवेकी भनेर वर्गीकरण गरे र आफूलाई उनीहरु भन्दा विशिष्ठ बनाए । गोरा ब्रिटिश, पहाडे गोर्खाली र समथरका भारतीयहरु बीच दर्जा बनाए, अलगीकरण गरे र आफूलाई सबैभन्दा सर्वश्रेष्ठ भनेर स्थापित गराए । यसरी वर्गीकरण गरेपछि ब्रिटिशहरुलाई आफू माथि बसेर भारतीयहरु शोषण गर्न गोर्खालीहरुको सहारा लिन्थे ।
“डिभाईड एण्ड रुल” (विभाजन गर र शासन गर) को नीति ब्रिटिशले अंगीकार गरे र त्यसमा पूर्ण रुपमा सफल पनि भए । सन् १८५७ को भारतीय विद्रोहदेखि मलायाको युद्धसम्ममा गोर्खालीहरुले यो पुष्ठि पनि गरिदिए । यस बाहेक थुप्रै युद्धहरुमा सामेल भएर धेरै नेपालीहरुले ज्यान पनि गुमाए । नेपालीहरुले आफूलाई वीर बनाईरहे । यो पछि पहाडे नेपाली राष्ट्रियतामा परिणत गरियो । उनीहरुले भारतीयहरुलाई निर्धो सोचिरहे, जुन हालसम्म पनि “भारतीय जस्तो देखिने” हरु माथि वर्गीकरण र अलगीकरण गर्ने अस्त्रका रुपमा प्रयोग भईरहन्छ ।
नेपाली राष्ट्रियताको निर्माण
ब्रिटिस गोर्खालीहरुलाई “बहादुर, वफादार, र सैन्य कुशलता भएको” भनेर ब्रिटिशहरुले लेखेनन् मात्रै सो कुरा नेपालीहरुले सिरोपर पनि गरे । यसमा नेपाली राज्य नै लागी परेको देखिन्छ । महेन्द्रिय राष्ट्रवादको निर्माण ताका काठमाडौंका पढेलेखेका वर्गको यस्तो संरचना निर्माणमा विशेष योगदान थियो । नेपाललाई “एक राष्ट्र” का रुपमा चिनाउन यसरी भानुभक्तिय नेपाली भाषाको उत्खनन् गरेर नेपाल भरी नेपाली भाषाको पठनपाठन र बोलचालमा जोड दिइएको थियो (थप सन्दर्भका लागी इतिहासकार प्रत्युष वन्तको सन् १९९६ मा सिन्हास् जर्नलमा प्रकाशित लेख हेर्नुहोस्) । दार्शनिक मिसेल फूकोलले भने जस्तै राज्य शक्तिको नजिक जो थियो उसैले ज्ञानको निर्माण गर्न थाल्यो । यसबाट पहाडे “उच्च” जातका सम्भ्रान्त पुरुषहरुले सबैभन्दा बढी फाइदा उठाए ।
“उपल्लो” भनिने जातले बोल्ने “खस कुरा” लाई राष्ट्रिय भाषा बनाएपछि पञ्चायती राज्यले बहुजातिय र बहुभाषिक नेपाललाई नेपालीकरण गर्न थाल्यो । नेपालको बहुआयामिक पाटाहरुलाई ढाका टोपी र दौरासुरुवाल को पर्दाले लुकाउन थालियो । नेपाली राष्ट्रियताको निर्माण गर्न अगाडि भनिए जस्तै “एक भाषा, एक भेष” को निर्माण भयो । प्रत्युष वन्त (सन् १९९६) यसमा थप्दै तर्क गर्छन् कि “वीर गोर्खाली” को अवधारणाले बहुजातिय नेपाललाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न खोज्यो । नेपाली राष्ट्रियतालाई चिनाउन देशको बहुजातिय, बहुभाषिक, बहुधार्मिक चित्रलाई वीर गोर्खालीको एकसूत्रीय भावनाले जित्न थाल्यो । गोर्खाली राज्यद्वारा जसका पूर्खाहरुको हत्या भयो उनीहरु समेत “वीर गोर्खाली” को सूत्रमा बाँधिन थाले ।
नेपाली भाषाको राष्ट्रियकरणमा साहित्यकारहरुको विशेष भूमिका छ । उनीहरुले वीर नेपालीहरुका बारेमा ठेलीकाठेली रचनाहरु लेखे । नेपाली भाषा शिक्षालाई अनिवार्य बनाएर, अन्य मातृभाषा पठनपाठन र बोलीचालीलाई निरुत्साहित गरेर, नेपाली पाठ्यक्रममा राष्ट्रवादी सामाग्रीहरु पढाएर, रेडियो टिभीमा राष्ट्रप्रेमी गीतहरु बजाएर नेपाली वीरताको पहिचानलाई नेपाली राज्यले संस्थागत गर्यो । पछिल्लो समय नेपाली चलचित्रबाट पनि यो भएको छ । (उदाहरण: राजेश हमालले नेपाल-भारत सीमा सतम्भ बोकेर “ठिक” ठाऊँमा गाडेको दृश्य हाल सामाजिक सञ्जालमा चर्चित छ ।)
सामाजिक सञ्जालमा झगडा गर्ने नेपालीहरु साँच्चिकै खुकुरी बोकेर भारतीय क्षेप्यास्त्रसँग लड्न तयार भए । उनीहरुले यसो किन गरे भने उनीहरुले सानैदेखि यहि पढ्दै सुन्दै आईरहेका छन् । पश्चिम काँगडामा लडाइँ लड्दाको वीर गाथा मात्र उनीहरुले नेपाली पाठ्यक्रममा पढे । उनीहरुले त्यस्तो लडाइँ लड्नेहरुको चित्कार कहिल्यै पढेनन् । इतिहासले लेखन छनौट गरी राज्यलाई सुहाउने ढङ्गमा प्रस्तुत गरिएको हुन्छ । नेपाली राज्यले वीर गोर्खालीको कथा सामाजिक शिक्षाको कक्षामा पढाउँदा नेपालले ब्रिटिशसँग हारेर सुगौली सन्धी गर्नु परेको पढेनन् । उनीहरुले नेपाल कुनै पनि देशको उपनिवेश नरहेको पढे तर आफ्नै शासकहरुले पहिले ब्रिटिश र पछि भारतको सहानुभूति नपाई राज्य सञ्चालन गर्न नसकेको पढेनन् । उनीहरुले “म कहिल्यै नझुक्ने नेपालको छोरो” भन्ने गीत मात्र सुने । यो पुरुषत्वले ओतप्रोत राष्ट्रवादलाई कहिल्यै प्रश्न गरेनन् । उनीहरुले मूढे बलले मात्र देश जितिन्छ भन्ने पढे तर चलाख कुटनीति जुनसुकै युद्धभन्दा ठूलो हुन्छ भन्ने कुनै किताबमा देखेनन् ।
तराईका र हिमालका कैयन जाति र समुदायलाई नेपाली राष्ट्रियताको साँघुरो घेरा भित्र जबरजस्ती अटाउन खोजियो । त्यो घेरा यति बलियो हुँदै गयो कि कसैको राष्ट्रियता माथी प्रश्न उठाउन कसैले हिन्दी वा भोजपुरी बोलीरहनु पर्दैन, उनीहरुको वर्णले नै त्यो विभेदको सिर्जना गरीदिन्छ । काठमाडौंमा आफैं देशका अन्य क्षेत्रबाट आएर बसोबास गरेकाहरुकोमा तरकारी बेच्न मात्रै जानु पर्दैन, उनीहरु संसदमा पुगेर संविधान निर्माता नै भएपनि वर्गीकरणमा परिरहन्छन् । उनीहरुले धोती लगाउनु मात्रै पर्दैन, उनीहरु लुम्बिनीमै जन्मे पनि उनीहरुको बुद्धसँगको सम्बन्धमा प्रश्न चिन्ह खडा हुन्छ । ब्रिटिशहरुले गरेको “डिभाईड एण्ड रुल” नीति हामीले यतिसम्म ग्रहण गर्यौं कि आफ्नै दाजुभाइ दिदीबहिनी माथि हामी शंका गर्न थाल्यौं । न यसमा नेपालीहरु अछुतो छन् न त भारतीयहरु नै ।
वर्गीकरणको राजनीति
माथि भनिएजस्तै राष्ट्रवाद र पहिचानको मुद्दामा वर्गीकरणको ठूलो भूमिका रहेको हुन्छ । नेपाली राज्यले राष्ट्रवादमा सबै भन्दा बढी प्रयोग गर्ने अस्त्र भनेको भारतलाई नराम्रो देखाउनु हो । त्यस्तै भारतले मुख्यतया पाकिस्तानलाई नराम्रो देखाउँछ । अहिले त्यहाँ पनि बन्दुकको नाल नेपाल तर्फ सोझिएको छ ।
महेन्द्रको पालादेखि नेपाली शासकहरुले आफ्नो शासन सत्ता टिकाउन कहिले “ईण्डिया कार्ड” र कहिले “चाईना कार्ड” को प्रयोग गरिरहेकै छन् । भारतलाई शत्रु र चीनलाई मित्र सोच्ने मानसिकता निर्माणमा यसको ठूलो हात पनि छ । तर रमाइलो के पनि छ भने पहाडे नेताहरुले भारतमा गएर सम्झौता गर्दा उनीहरुको नियतमा मात्र प्रश्न उठाइन्छ, उनीहरुको राष्ट्रियतामा होइन । मधेसी नेताहरुले त्यहि काम गर्दा उनीहरुको नियत र राष्ट्रियतमा दुवैमा प्रश्न उठाइन्छ । सरिता गिरीले संसदमा हिन्दी भाषामा बोल्नुले उनको राष्ट्रियता माथि प्रश्न गर्नु माथि चर्चा गरिएको पुरुष पहाडे खस भाषा बोल्ने राष्ट्रवादबाट प्रेरित छ । नेपाली आमाको नामबाट छोराछोरीले नागरिकता नपाउने नियम पनि त्यहि संकिर्ण राष्ट्रवादबाट प्रेरित छ । यो राष्ट्रवादले प्रशान्त तामाङ्गलाई आफ्नो देख्छ तर धोती लगाउने नेपालीलाई पराई ठान्छ । आर्थर गन र भिम निरौला यसमा समेटिन्छन् तर वर्षा राउतलाई बहिष्करण गरिन्छ ।
महामारीले थपेको अलगीकरण
कोभिड-१९ को प्रकोप नेपालमा बढ्दै जाँदा नेपाली अलगीरकण, वर्गीकरण, र नश्लवाद झनै प्रष्ट रुपमा देखियो । विदेशबाट फर्किएका नागरिकहरुको घरमा रातो चिन्ह लगाउनेदेखि विदेशबाट नेपाल फर्किन नदिने सरकारी नीति पनि लागू भयो । आफ्नै देश फर्कनबाट नागरिकहरुलाई बञ्चित गरियो । यसको खासै विरोध भएन ।
वर्षौंदेखि नेपालीहरुले विदेशमा काम गरेर रेमिट्यान्स् स्वदेश पठाइरहेका छन् । अर्थतन्त्र धानिरहेका छन् । नेपाल सरकारले उनीहरुलाई दिने भनेको हरियो पासपोर्ट हो, त्यो पनि कम्तीमा पाँच हजार रुपियाँ लिएर । त्यसबाहेक उनीहरुको सुरक्षाका लागी सरकारले अत्यन्तै थोरै गरेको छ ।
भारतबाट फर्किएका नेपालीहरुसँगै कोभिड-१९ पनि देश भित्रिँदा प्रधानमन्त्रीले नै “भारतीय भाइरस” भनेर वर्गीकरण गरे । सामाजिक सञ्जालमा थुप्रैले आफ्नै घर आउन खोज्ने नेपालीहरुलाई देश छिर्न दिन नहुने तर्क गरे । उनीहरुले सरकारको लाचारीमाथि प्रश्न गरेनन् । देशको अर्थतन्त्रमा ठूलो सहयोग गरिरहेका रेमिट्यान्स पठाउने मानिसहरु नै बहिष्करणमा परे । कतिले नेपाल आउन खोज्दा-खोज्दै प्राणत्याग गरे ।
भारतबाट नेपाल फर्किएका आप्रवासी र धार्मिक समारोहमा सहभागी भएर आएकाहरुलाई लक्षित गरी थुप्रै नश्लवादी गालीगलौज सामाजिक सञ्जालमा भए । केन्द्रले उसै पनि उपेक्षा गरेको ठाऊँहरुमा क्वारेन्टाइन मै बसेका युवाले पनि समयमा स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनु पर्यो । यस्तोमा सरकारको आलोचना कम भयो । भारतबाट आएकाहरुले, अझ गैर-हिन्दूहरुले जानी-जानी कोरोनाभाइरस बोकेर आएको जसरी सामाजिक सञ्जाल तात्यो ।
लकडाउनलाई नै एकमात्र अस्त्र बनाएको सरकारले निम्न आय स्रोत भएका र दैनिक ज्यालादारी गरेर खानेहरुको बारेमा कम सोचेको छ । सयौं किलोमिटर पैदल हिंडेकाहरुको कथाले नेपाली समाज कति विभाजीत र वर्गीय छ भनेर देखाएको छ ।
यस्तै राष्ट्रवादको वर्गीकरणलाई अझ सघाउन सीमामा काँडेतार लगाउने सुझावहरु आए । यी नौला सुझावहरु होइनन् । कतिले काँडेतार लगाए पनि । राष्ट्र (नेशन-स्टेट) को परिकल्पनामा ठोस सीमानाको अवधारणा पर्छ । तर डोनाल्ड ट्रम्पले भन्ने गरेको जस्तो पर्खाल वा काँडेतारले कसलाई छेक्न खोजेको हो ? तस्करी गर्ने त सरकारसँगै काँधमाकाँध मिलाएर भ्रष्टाचार गर्न व्यस्त छ । वर्षौंदेखि सांस्कृति र नीजि सम्बन्ध रहेका सीमा वारी र पारीका जनताहरुलाई ब्रिटिशहरुले सिकाएको “डिभाइड एण्ड रुल” को मानसिकताबाट हामी कहिले माथि उठ्ने ? देशमा विद्यामान गम्भीर जटिलताहरुलाई बिर्सेर थुप्रै नेपालीहरु काँडेतारको पक्षधर भएर निस्किए । देशको वरीपरी काँडेतार लगाउन पुग्ने पैसाले कति पिसिआर, पिपिई र भेन्टिलेटर किन्न सकिन्छ होला ? अहिले हाम्रो प्राथमिकतामा कोभिड-१९ हो कि काँडेतार र नक्सा ? ख्वै हामीले सरकारमाथि दबाब दिन जानेको ?
अन्त्यमा,
भारतसँग र भारतीयसँग लिम्पियाधूरामा लड्न तयार नेपालीहरुले आफ्नो “वीर गोर्खाली” को संरचनाबाट माथि उठन जरुरी छ । कसैले भने जस्तो देशका लागी मर्ने मार्ने युगको अन्त्य हुनु जरुरी छ र अन्तरराष्ट्रिय सीमा विवादलाई आपसी कुटनीतिक ढङ्गबाट टुङ्गोमा पुर्याउन जरुरी छ । निश्चय पनि राष्ट्रियताको कुरा भावनात्मक कुरा हो । राज्यले हामीलाई यस विषयमा भावनात्मक हुन नै सिकाउँछ, सिकाएको छ । कुनै पनि कालखण्डका नेताले राष्ट्रवादी कुरा गरेर आफ्नो गिर्दो लोकप्रियतालाई माथि उठाउन खोज्छन् । अहिले भईरहेको पनि त्यहि हो । नेपाल र भारतमा लोकरञ्जन गर्ने (पप्युलिष्ट) नेताहरुले शासन चलाईरहेका छन् । आफ्नो अकर्मण्यतालाई लुकाउन पटक-पटक नेपाली राजनीतिक वृतमा राष्ट्रवादको चर्को नारा लगाईन्छ । नेपालीहरुले अब यो याद गर्नु जरुरी छ कि नेताहरुले खोक्रो राष्ट्रवादको सहारामा देशलाई अझै उँधोगति तर्फ नधकेलुन् । फेरी राष्ट्रवादको हुँकार दिने तर देश र जनताको सेवामा सिन्को नउठाउने, उल्टै दम्भ देखाउँदै जनतालाई रैतीको जस्तो व्यवहार गर्ने नेताहरुले फेरी कहिल्यै चुनाव नजितुन् । देश एकात्मक हिन्दु राज्य व्यवस्थाबाट धर्मनिरपेक्ष संघीय गणतन्त्र बनिसक्यो । नेपालमा विभिन्न भाषा, धर्म, जात-जाति, लिङ्ग, भेषभूषा, संस्कृति, र राजनीतिक आस्था बोकेका मानिसहरु बसोबास गर्छन् । यसमा फेरी पहाडे हिन्दू पुरुषहरुले उनीहरु भन्दा भिन्न देखिने अन्य कुनै मानिसहरुक राष्ट्रियता माथि प्रश्न उठाउन पाउँदैनन् ।
हामी अर्नव गोस्वामीलाई गाली गर्नु अघि एकछिन हामीले महेन्द्रमाला र सामाजिक शिक्षामा पढेको वीर गोर्खालीको इतिहासलाई प्रश्न गरौं । यो सबै राष्ट्रवाद (न्याश्नलिजम्), क्षेत्रीयता (टेरिटोरियालिटी), नश्लवाद (जिनोफोविया र रेसिजम्), पितृसत्ता, र औपनिवेशीक मानसिकता (कोलोनाईज्ड माइन्ड) को असर हो भनेर मनन गरौं ।
यस लेखमा राखिएको फोटो एआईले बनाएको हो ।
Leave a Reply