२०६८ को जेठताका म धनुषा जिल्लाको सिङ्गराजोर गाउँ पुगेको थिएँ । त्यहाँ गाई चराउँदै गरेका रमेश यादव (नाम, थर परिवर्तन) भेटिए । उमेर २० । पातलो शरीर । खैरो रङ्गको हाफ चेक सर्ट र खरानी रङ्गको फुल प्यान्ट लगाएका । शान्त अनुहार । नरम स्वरका । धेरै नबोल्ने ।
उनले मलाई आफू दुई वर्ष युएई बसेर नेपाल फर्किएको दुई वर्ष भईसकेको बताए । हिसाब लगाउँदा त उनी १६ वर्षको उमेरमा विदेश हिंडेको हुनुपर्ने थियो । तर नेपाल सरकारको नियम अनुसार श्रमका लागी विदेश जान उमेर कम्तीमा १८ वर्ष पुगेको हुनुपर्छ ।
“एजेण्टले उमेर बढाएर नागरिकता निकालिदियो । त्यहि नागरिकताबाट पासपोर्ट पनि उसैले निकालिदियो । अनि म १६ वर्ष कै उमेरमा १८ बर्षको भनेर दुबई गएँ ।” रमेशले सोझो, सफा मनले म चिन्दै नचिनेको मान्छेलाई भने । मलाई त्यो बेलासम्म उमेर बढाएर पासपोर्ट निकाल्न मिल्छ भन्ने थाहा थिएन । म छक्क परें देशको प्रशासनिक अवस्था देखेर ।
रमेशको परिवार अति निम्न आय श्रोतको थियो । जग्गा जमिन धेरै थिएन । न त हातमा कुनै शीप नै थियो ।
चार बर्ष पहिले घर छेऊकै काका पर्नेले जनकपुरमा आफूले चिनेको एजेण्टले विदेश पठाउने कुरा रमेशका बा लाई बताए । बा ले रमेशलाई बताए । रमेशले हुन्छ भने । रमेशका बा ले काका पर्नेलाई जनकपुरको एजेण्टसँग कुरा गर्न भने । जनकपुरको एजेण्टले र काका पर्नेले नै रमेशको नागरिकता र पासपोर्ट बनाउन सघाए ।
रमेशका बा ले गाऊँकै जमिनदारसँग एक लाख रुपियाँ ऋण लिए । सयकडा तीनमा । अर्थात् प्रति महिना ३% को ब्याजदरमा । प्रति वर्ष ३६,००० रुपियाँको ब्याज मात्रै । काका पर्नेले बताए अनुसार दुबईमा रमेशको तलब महिनाको नेपाली (रुपियाँ) बीस हजार हुन्थ्यो । खान बस्न फ्री । रमेशका बा ले हिसाब लगाए अनुसार रमेशले विदेशबाट पठाएको पैसाले एक वर्षमा सजिलै ऋण तिरी भ्याईने थियो र त्यसपछिको कमाई घर चलाउन काम लाग्थ्यो र बचत हुन थाल्थ्यो ।
रमेशका बा को सपना यहि थियो । काका पर्नेले उनलाई यहि सपना देखाएका थिए । काका पर्नेलाई जनकपुरको एजेण्टले यहि भनेका थिए । रमेशले पनि यहि सपना देखेका थिए । कडा मिहिनेत गरेर घरको आय माथि उकास्ने उनको चाहना थियो ।
रमेशका बा ले ऋणको एक लाख मध्ये काका पर्नेलाई पचासी हजार दिए । त्यो पैसाबाट ८० हजार जनकपुरको एजेण्टले काठमाडौंमा रहेको म्यानपावरमा बुझाएर रमेशलाई विदेश उडाइदिने वाला थियो । बाँकी ५ हजार पासपोर्ट बनाउन लाग्ने थियो । बा ले रमेशलाई १५ हजार बाटा खर्च दिए ।
पासपोर्ट बनेर रमेशले छुन नपाउँदै जनकपुरका एजेण्टले पासपोर्ट काठमाडौं पठाए । पासपोर्टमा रमेशले आफ्नो फोटो छापिएको पन्ना र हरियो गाता मात्र देखे ।
पासपोर्ट काठमाडौं पठाएको एक महिना पछि जनकपुरको एजेण्टले काका पर्नेलाई फोन गरे । रमेशका बा र रमेशसँग मोबाइल थिएन । “भिसा झरेको छ, दुई दिन पछि दुबई जाने फ्लाईट् छ” भनेर एजेण्टले खबर पठाए ।जनकपुरका एजेण्ट त्यतिबेला काठमाडौं मै रहेछन् । रमेशलाई त्यतै भेट्ने बताए । रमेशलाई काठमाडौं गौशालाको गेष्ट हाउसको फोन नम्बर दिए । बसबाट झरेपछि गेष्ट हाउस नजिकै छ भने ।
त्यहि रात विदाबारी भएर रमेश काठमाडौं गौशाला जाने बस चढे । जनकपुर बसपार्क सम्म रमेशका बा र काका पर्ने पनि आएका थिए । रमेशकी आमा उनी सानै हुँदा बितिसकेकी थिइन् । अब घरमा रमेशका बा र रमेश भन्दा दुई वर्ष कान्छा भाइ मात्र बाँकी भए । भाइ स्कुल पढ्दै थिए । रमेशले ९ कक्षा पढेर स्कुल छोडेका थिए ।
नाइटबसले एकाबिहानै रमेशलाई काठमाडौं गौशाला झारिदियो । बसको खलाँसीले गेष्ट हाउसको बाटो देखाइदियो । बिहान ६ बजे रमेश सीताराम गेष्ट हाउसको ढोका अगाडि पुगिसकेका थिए । गेष्ट हाउसमा जनकपुरको एजेण्टले रमेश आउने खबर गरेको रहेछ । रमेशलाई गेष्ट हाउस वालाले एउटा कोठामा लगेर राख्यो । त्यहाँ ऊ जस्तै अरु तीनजना केटाहरु थिए । सप्तरी, महोत्तरी, र भोजपुरबाट काठमाडौं आएका । भिसा झरेको भएर विदेश उड्न ठिक्क परेका । घर सबैको छुट्टाछुट्टै भए पनि गन्तव्य उहि थियो । दुबई !
त्यहि दिन दिउँसो जनकपुरका एजेण्ट आए र चारै जना केटाहरुलाई लिएर पुरानो बानेश्वरको म्यानपावरमा लगे । उनले रमेशहरुलाई अर्को एउटा मान्छेको जिम्मा लगाईदिए । उनी थिए काठमाडौंका एजेण्ट । काठमाडौंको एजेण्टको जिम्मामा चारै जना परेपछि जनकपुरका एजेण्ट जनकपुरै फर्किए । बाँकी काम काठमाडौंका एजेण्टले गरिदिने वाला थिए ।
काठमाडौंमा रमेशले थाहा पाए कि काका पर्नेलाई रमेशका बा ले दिएको ८० हजारबाट उनले जनकपुरको एजेण्टलाई ७५ हजार दिएका रहेछन् । जनकपुरको एजेण्टले फोनमा अरु कसैलाई “दुबई जान ७५ हजार लाग्छ” भनेको रमेशले सुनेका थिए । जनकपुरको एजेण्टले काठमाडौंको एजेण्टलाई कति दियो र काठमाडौंको एजेण्टले म्यानपावरलाई कति दियो त रमेशलाई थाहा भएन तर म्यानपावर कम्पनीले उनलाई दिएको बिल ३५ हजारको मात्र थियो । “धेेरै पैसाको बिल देख्यो भने एयरपोर्टमा किच्किच् गर्छ ।” काठमाडौंका एजेण्टले यत्ति मात्र भनेका थिए ।
म्यानपावर कम्पनीमा उनीहरुले कन्ट्रयाक्ट पनि साईन गरेका थिए । त्यसमा खाने-बस्ने कटाएर १८ हजार तलब लेखिएको थियो । काका पर्नेले त तलब बीस हजार हुने र खान-बस्न फ्रि हुने बताएका थिए । रमेशको र रमेशको बा को हिसाब यहाँ अलिकति बिग्रीयो । तर पनि ऋण तिर्न पुग्ने तलब छँदै थियो । रमेशले साईन गरे ।
काठमाडौं आएको एक हप्ता सम्म रमेश र अरु तीन जना केटाहरु सीताराम गेष्ट हाउस मै बसे । कुनै बेला गौशाला वरीपरी घुम्न निस्किए । एक दिन बिहान पशुपति गए । नत्र दिन भरी गेष्ट हाउसको डाइनिङ रुममा टिभी हेर्दै बसे । एक हप्ता पछि फेरी काठमाडौंको एजेण्टको फोन आयो । “भोली बिहान ११ बजेको फ्लाईट छ । म ७ बजे लिन आउँछु । तयार बस्नु ।”
रमेशको मन बल्ल आत्तियो । कता जाऊँ के गरौं भयो । भागेर गाउँ नै फर्किऊँ-फर्किऊँ पनि भयो । रुन मन लाग्यो । भात पनि खान मन लागेन । राति गेष्ट हाउसको साहुको मोबाइलबाट काका पर्नेलाई फोन गरे । उनले बा र भाइसँग कुरा गराइदिए । रमेशले नेपाल छोड्नु अघि बासँग दुई मिनेट बोले ।
भोली बिहान पौने ७ मै काठमाडौंको एजेण्ट आयो । रमेशहरु तयार भईसकेका थिए । एजेण्टले सबैलाई हात-हातमा एउटा प्लाष्टिको फाईल थमायो । सबै चाहिने कागजपत्र त्यहिँ छ भन्यो । सबैलाई उस्तै रँगको टोपी लगाईदियो । म्यानपावर कम्पनीको नाम लेखेको थियो टोपीमा । उनीहरु हिँड्दै एयरपोर्ट तिर लागे ।
एयरपोर्टमा उनीहरुको जस्तै टोपी लगाएका थुप्रै मानिसहरु थिए । सबै पुरुष । कोहि रमेश जस्तै कलिला । कोहि चालिस, पचास वर्षका जस्ता । अनेक रंगका । अनेक अनुहारका । अनेक हाऊभाऊका । तर सबैमा दुईटा समानता थियो । पहिलो, टोपीको रङ । दोस्रो, अनुहारमा झल्केको अनिश्चितता ।
एजेण्टले रमेश र उनीजस्तै टोपी लगाएकालाई भित्र हुलेर बिदाई गरे । अब उनीहरु एक्लै पनि थिए । तर फेरी एक अर्काका साथी पनि थिए ।
एजेण्टले दिएको प्लाष्टिकको फाइलबाट रमेशले पासपोर्ट निकाले । उनले पहिलो पल्ट पासपोर्स छोए । आफ्नो फोटो हेरे । अनुहार त कस्तो बिगारेको फोटो जस्तो लाग्यो उनलाई ।
जानी-नजानी सबैजना बोर्डिङ् पास लिने लाईनमा लागे । श्रमको कागज देखाए । एस्केलेटर चढेर अगाडि बढे । इमिग्रेसन फर्म भर्न एजेण्टले सिकाएका थिए । रमेशले आफ्नो फर्म भरेर अरु नचिनेका सातजनाको पनि भरिदिए । इमिग्रेसन तर्फ लागे । सामान चेक जाँच गराए । प्रस्थान तर्फ गए । सबै थोक यत्ति छिटो भयो कि कति कुरा उनीहरुले जानेनन् । वरीपरीको हेर्दै सिके । कहिले कोहि आएर सिकाइदिए । कतिले नजानेकोमा हकारे । पुलिसले पनि गाली गरे ।
हेर्दा-हेर्दै कति छिटो उनीहरु दुबई पुगे । रमेश दुबई कति ठूलो रहेछ भन्दै छक्क परे ।
यहाँ उस्तै टोपी लगाइकाहरु छुट्टिँदै गए । गौशालाको गेष्ट हाउसमा भेटेका केटाहरु पनि लाखापाखा लागे । रमेश र अर्का एक जना नेपाली मात्र बाँकी भए । धादिङका सुजन विक । अरु सबैलाई लिन कोहि न कोहि आएका थिए । उनीहरुलाई लिन कोहि आएन ।
रमेश र सुजनले एक अर्काको प्याष्टिकको फाइल हेरे । कम्पनीको नाम एउटै थियो । सिबिसि बेकारी फ्याक्ट्री, दुबई । दुबई एयरपोर्टबाट आफू सँग भएको केहि दिराम (युएईको मुद्रा) तिरेर त्यहि कम्पनीमा सुजनले फोन गरे । टुटेफुटेको अङ्ग्रेजीमा के के भने । अलि अलि रमेशले थपे । फोन काटियो । अलमल्ल परे । अस्तव्यस्त भए । घरी पानी पिए । घरी ट्वाइलेट गए । वरीपरी हेरे । लाउडस्पिकरमा के बोलेको केहि बुझेनन् । भोकले आत्तिए ।
सात घण्टा यसरी बिताएपछि बल्ल एउटा मान्छे उनीहरुलाई लिन आयो । उनीहरुलाई गाडिमा हालेर बेकरी फ्याक्ट्रीमा लग्यो । उनीहरुसँग रहेको प्लाष्टिकको फाइल लियो । पासपोर्ट पनि लियो । आठजना भएको एउटा कोठामा एउटा-एउटा खाट दियो । खाना दियो । भोली बिहान आठ बजे तयार रहन भन्यो । अनि गयो ।
कोठामा अरु मानिस भारतीय तीन जना र बङ्गलादेशी तीन जना थिए । हिन्दीमा उनीहरुले रमेश र सुजनलाई कामका बारेमा, कम्पनीका बारेमा र दुबईका बारेमा थुप्रै कुुरा बताए । अलि मन शान्त भयो । अलि डर पनि लाग्यो ।
भोली पल्ट कम्पनीको अफिसमा लगेर उनीहरुको कामको बारेमा सुपरभाईजरले रमेशलाई र उनी जस्तै अरु १० जना जतिलाई बताए । सुजन पनि सँगै थिए । उनीहरुको काम ट्रकबाट पिठोको बोरा बोकेर भण्डार सम्म लग्ने थियो । काम यत्ति थियो । सुन्दा सजिलै होला जस्तो थियो । पछि ५० किलोको बोरा बोक्दा रमेशले बल्ल चाल पाए यो त असम्भवप्राय काम थियो ।
सुरु कै दिन त्यहाँ सुपरभाईजरले अर्को कन्ट्रयाक्ट साईन गर्न लगाए । तर यो कन्ट्रयाक्ट त काठमाडौंको म्यानपावरको भन्दा भिन्न थियो । यहाँ लेखिएको थियो कि रमेशको तलब महिनाको ५०० दिराम हुन्छ । त्यो बेला एक दिराम बराबर नेपाली २५ रुपियाँ थियो । रमेशको तलब त नेपाली १२,५०० मात्र हुन आउने देखियो । रमेशको र रमेशका बा को हिसाब फेरी गोलमाल भयो । तर समस्या यहाँ मात्रै सकिएन । कन्ट्रयाक्टमा के पनि लेखिएको थियो भने खान-बस्नको महिनामा २५० दिराम कटाईनेछ । अर्थात् रमेशको हातमा महिनाको नेपाली ६२५० रुपियाँ (२५० दिराम) मात्र पर्छ । रमेशको र रमेशको बा को हिसाब अब गोलमाल मात्र भएन । उनीहरुले देखेको सबै सपना चकनाचुर भयो । रमेशले सपना देखेकोमा नै पछुतो गरे । सपना देख्नु नै उनको सबैभन्दा ठूलो भूल थियो ।
महिनाको ३००० रुपियाँ जमिनदारलाई ब्याज बुझाएपछि रमेशको हातमा ३२५० रुपियाँ मात्र पर्थ्यो । यसमा साउँ कटाउने त हिसाबै छैन । यसमा रमेशको निजी खर्चको त हिसाबै छैन । सबै बरबाद भयो ।
रमेशले एक हप्ता काम गरेपछि बा लाई फोनमा यो कुरा भने । बा ले काका पर्नेलाई भने । काका पर्नेले जनकपुरको एजेण्टलाई भने । जनकपुरको एजेण्टले काठमाडौंको एजेण्टलाई भने । काठमाडौंको एजेण्टले जनकपुरको एजेण्टलाई “रमेशलाई यो कुरा थाहा थियो त । उसले कन्ट्रयाक्ट त साईन गरेको छ ।” भनेर भनिदियो । जनकपुुरको एजेण्टले काका पर्नेलाई त्यसै भन्यो । काका पर्नेले रमेशका बा लाई त्यसै भने । बा केहि बोलेनन् । उनका आँखा मात्र रसाए ।
दुबईमा रमेशले दुई वर्ष काम गरे । दोस्रो वर्षमा तलब अलिकति बढ्यो । तर त्यो पनि ब्याजको पैसा तिर्दा र घर खर्च चलाउँदै सकिन्थ्यो । रमेश कहिलेकाहिँ सोच्थे । उनी आफ्नो र आफ्नो परिवारको लागी काम गर्न दुबई आएका हुन् कि जमिनदारको लागी ? यो सबै पसिनाको कमाई त जमिनदारले पो लग्यो । उनलाई त म्यानपावरले पो ठग्यो । एजेण्टले पनि ठग्यो । के उनको बा ले सपना देख्नु गलत थियो ? गरिबले सपना देख्न पाइँदैन ?
दुई वर्ष काम गरेपछि उनको फ्याक्ट्रीमा आगो लाग्यो । एक महिनासम्म काम सुचारु हुन्छ कि कुर्दा-कुर्दै कम्पनी नै बन्द भयो । रमेश नेपाल फर्किए । कुनै क्षतिपूर्ति पाइनन् ।
दुई वर्ष काम गर्दा रमेशको सपनाको एक इन्च पनि पूरा भएको थिएन । ऋण एक लाख ज्युँकात्युँ थियो । त्यसको ब्याज ढाडै भाँच्ने थियो ।
रमेशका बा ले आफ्नो भागको सानो जग्गा पनि बेचेर साहुको ऋण तिरे । रमेश पछिल्ला दुई वर्षदेखि गाई चराउँदै थिए । सानो बारीमा तरकारी उमार्दै थिए । उनीसँग अब देख्न कुनै सपना बाँकी थिएन । उनको उमेर मात्र २० वर्ष थियो । तर भाव शून्य थियो ।
नेपाल फर्केर रमेशले काका पर्नेलाई पनि भेटे, जनकपुरको एजेण्टलाई पनि भेटे । उनीहरुले न त केहि सहयोग गरे न त सहानुभूति नै दर्शाए । रमेशको भाग्यलाई दोष दिए र आफ्नो बाटो लागे । काठमाडौंको एजेण्ट सम्पर्कमा कहिल्यै आएन । म्यानपावरमा रमेशले कहिल्यै सम्पर्क गर्दै गरेनन् ।
रमेशका जस्ता थुप्रै कथाहरु नेपालमा भेटिन्छन् । केहि कथा रमेशका भन्दा सुखी छन् । केहि कथा रमेशका भन्दा धेरै दर्दनाक छन् । तर जबसम्म सोझा रमेशहरु र सोझा रमेशका सोझा बाआमाहरुलाई एजेण्ट र म्यानपावरले ठगीरहन्छ, रमेशहरुले विदेश जाने सपना देखिरहन्छन् । जबसम्म सरकारले रमेशजस्ता युवाहरुलाई राम्रो पढाई र सीपको व्यवस्था गर्न सक्दैन, तब सम्म रमेशहरुलाई एजेण्ट र म्यानपावरले ठगीरहन्छ । कोभिड-१९ का कारण नेपालीहरु फर्केर कृषि क्रान्ति, हरित क्रान्ति आदि इत्यादि गर्लान् भनेर सोच्नु एक प्रकारको सकारात्मक सोच होला । म चाहन्छु यस्तै होस् । तर गाउँ-गाउँमा व्याप्त एजेण्टको सञ्जाल र सरकारको अनुपस्थितीले यो त्यत्ति सजिलो होला जस्तो छैन । जबसम्म जमिनदारहरुले चर्को ब्याज लिईरहन्छन् तब सम्म देशमा कुनै आर्थिक क्रान्ति सम्भव छैन । गरिबीको चक्र तोड्न गाह्रो छैन । जबसम्म सहुलियतमा ऋण, शीपको सराहना, र कृषिको आधुनिकिरण हुँदैन तबसम्म खोक्रो राष्ट्रवादले मानिसलाई नेपाल फर्काउँदैन । जबसम्म विचौलियाहरु र विचौलियाहरुले चलाएको शासन पद्दाती रहिरहन्छ, रमेश र रमेशका बाआमाहरुको आँशु बगिरहन्छ ।
Leave a Reply