गान्धी र चोर

– सञ्जय शर्मा “खेतारे”

1 May 2020 | २०७७ बैशाख १९

चोरसँग मैले गरेको “गान्धीगिरी”का बारेमा जब मैले टोलका केटाहरुलाई सुनाएको थिएँ, सुरुमा कसैले पत्याएका थिएनन् । एकैछिन पछि धीरेन्द्रले जङ्गीदै त्यसको “हात भाँचिदिनु पर्ने तिमीले” भनेको थियो । ऊ स्वभावैले अलि जङ्गी मान्छे थियो । भेला भएका मध्ये कसैले “तिमी डरछेरुवा रहेछौ” पनि भनेका थिए ।

केटाहरुलाई भेटेर घर फर्किंदै गर्दा सोच्दै गएँ । चोरको हात भाँच्न त सजिलै सक्थें । उसले मेरो झ्यालभित्र हात घुसार्दा हात समातेर झ्यालको खापा तिर धकेलिदिएको भए हात त पक्कै भाँचिन्थ्यो । त्यो गर्ने आँट ममा थियो वा थिएन थाहा छैन । तर मुख्य कुरा त मैले उसको हात भाँच्न वा उसलाई चोट पुर्‍याउन खोजेकै थिइनँ । तर के म डरछेरुवा थिएँ त ? डर र अहिंसा बीच ठूलो खाडल मात्रै होइन अहिंसा त डरसँग पैठेजोरी खेलेपछि प्राप्त गरिने जितमा छ । निडरता पछि मात्रै अहिंसाको बाटो खुल्छ । अहिंसाको बाटो अङ्गालेको मानिसलाई डर लाग्दैन भनेर गान्धीले भनेका थिए ।

***

यो घटना आज भन्दा नौ वर्ष पुरानो हो । त्यो बेला हरि सरले हामीलाई राजनीतिक दर्शन पढाउनु हुन्थ्यो । हरि सर गान्धीको ठूलो प्रशंसक हुनुहुन्थ्यो । गान्धीको “हिन्द स्वराज” बारे हामीले दुई दिन तीन-तीन घण्टा बसेर विमर्श गरेका थियौं । यो सानो किताबको लेखन शैली पनि गजबको छ । गान्धीले आफैं “पाठक” (प्रश्नकर्ता) भएर र आफैंलाई “सम्पादक” (उत्तरदाता) बनाएर मिठो तरिकाले तर्क र विश्लेषण गर्छन् । पाश्चात्य राजनीतिक दर्शनबाट सुरु भएको हाम्रो कक्षा थमस् हब्स्, जन् लक्, जँ-ज्याक् रुस्सो हुँदै पूर्वीय चिन्तन तर्फ आइरहेको थियो ।

सञ्जय दत्तको “लगे रहो मुन्ना भाइ” भन्ने फिल्म हेरेपछि गान्धी प्रतिको कौतुहलता बढेर मैले गान्धीको जीवनी “माई एक्स्पेरिमेन्ट्स् वीथ ट्रुथ” (सत्यसँगको प्रयोग) पहिल्यै पढिसकेको थिएँ । गान्धीको विचार हुवहु अनुसरण गर्न नसके पनि अहिंसाको बाटो खुबै रोचक लागको थियो मलाई । आफू साकाहारी भएकाले अहिंसाको प्रयोग गर्न केहि हदसम्म भए पनि सिक्दै थिएँ ।

हरि सरले अरु कुनै पनि दार्शनिक वा विचारकको बारेमा छलफल गर्दा यति उज्यालो अनुहार लगाउनु भएको थिएन जति गान्धीको बारेमा कुरा गर्दा खुसी हुनुभएको थियो । सर बीपी कोइरालाको पनि प्रशंसक भएकाले गान्धी र बीपीको समानता र असमझदारीहरुको बारेमा हामीले धेरै लामो चर्चा गरेका थियौं । बीपीले राणाहरु विरुद्ध हतियार उठाउने निर्णय गरेका थिए भने गान्धीले हिंसालाई कुनै हालतमा पनि वैधानिकता दिने वाला थिएनन् । दुवैका आफ्नै तर्कहरु थिए । तर दुवैले कुनै न कुनै हिसाबमा स्वराजको कल्पना गरेका थिए र त्यो प्राप्त गर्नेमा दृढ थिए ।

यत्तिकैमा “हिन्द स्वराज” मा एउटा प्रश्न आयो । “प्यासिभ रेसिस्टेन्स्” (निष्क्रिय प्रतिरोध) कसरी गर्ने त भन्ने विश्लेषण गर्दा गान्धीले “तपाइँको अगाडि एउटा सिंह उभिएको छ र तपाइँसँग एउटा लठ्ठी छ भने के गर्नुहुन्छ त ?” भन्ने प्रश्न गर्छन् । तपाइँ साँच्चै नै अहिंसा वा निष्क्रिय प्रतिरोध गर्न चाहनु हुन्छ भने पहिले त तपाइँमा डर हुनु भएन । तपाइँले आफ्नो अगाडि सिंह देखेपछि आफ्नो बचाऊमा लठ्ठी उठाउनु भयो भने तपाइँमा डर अझै छ भन्ने प्रष्ट भयो । लठ्ठी उठाएर तपाइँ हिंसाको बाटो रोज्दै हुनुहुन्छ । यो अवस्थामा तपाइँ अहिंसा वा निष्क्रिय प्रतिरोधका लागी तयार भईसक्नु भएको छैन । “अब सिंहले आफू खान आउँदा के गर्ने त ? चुपचाप हेरिरहने ?” भन्ने प्रश्न आउन सक्ला । तर कुरोको चुरो त्यो होइन । गान्धीले अङ्ग्रेजहरु विरुद्ध लड्नलाई अहिंसा र निष्क्रिय प्रतिरोधको अबलम्बन गर्छन् । कसैले पिट्न आउँदा पनि चुपचाप थापेर बस्ने बरु एउटा गालामा थप्पड हाने अर्को गाला अघि तेसार्ने उदाहरण त यहाँहरुलाई थाहै होला । मुख्य कुरा डर माथिको जितको हो । अहिंसा र निष्क्रिय प्रतिरोध गर्नु छ भने निडर हुनु सबैभन्दा ठूलो कुरो हो । गान्धी भन्छन् कि जब डरलाई जित्न सक्षम हुनुहुन्छ, तब मात्रै अहिंसाको बाटोमा हिंड्न सक्नुहुन्छ ।

हरि सरको त्यो दिनको कक्षा सकियो । अबको दुई दिन पछि फेरी कक्षा थियो । सो पाठको तयारी गर्नु पर्ने थियो । तर पाठको तयारी भन्दा पेट भित्रको भोकले बढि पिरोलेको थियो । कक्षा सकेर हामी खाना खान तिर लाग्यौं । सँगै पढ्ने थुप्रै सहपाठी मध्ये थिए हिमाल दाइ र चिरन्जीवि । खाना खाने बेला हिमाल दाइ र चिरन्जीवि आफ्नो अगाडि भातको ठूलो चूली लगाए लामो विश्लेषण गर्थे । कुनै-कुनै दिन त उनीहरु हामीलाई एकेडेमिक राईटिङ् (प्राज्ञिक लेखाई) सिकाउने हाम्रो ब्रिटिस गुरुलाई प्रश्न सोधेर भातै खान दिंदैन थिए । उहाँले चम्चामा भात उभाउने बित्तिकै प्रश्न सोधिहाल्थे । उत्तर दिने सुरमा उहाँले भात खान नपाएको पनि याद गर्नुहुँदैन थियो । उहाँको भात दालमा ढाडिएर चिसो भैसक्दा सम्म हिमाल दाइ र चिरञ्जीवि प्रश्न सोधिरहन्थे । अनि आफ्नो भागको भात सकिएपछि विदा मागेर बाहिर निस्कन्थे । गुरु ढाडिएको चिसो भातमा एक्लै खानेमा पर्थे ।

आज ब्रिटिस गुरु भात खाने ठाऊँमा हुनुहुन्थेन । हिमाल दाइ, चिरञ्जीवि, डुलकुमार, र म मात्रै थियौं । कुरै-कुरामा चिरन्जीविले हिमाल दाइलाई सोध्यो । “तपाइँको घरमा चोर आए के गर्नु हुन्छ त ? गान्धीले भने जस्तै गर्ने हो भने त उसलाई चोर्न दिनु पर्‍यो नि !” हिमाल दाइले भने यो कुरा भिन्न रुपमा सोचेका रहेछन् । भने: “हैन । म चोरलाई नचोर्न प्रेरित गर्नेछु । उसलाई यहाँ तिमीले चोर्ने बहुमूल्य सामान केहि छैन र यो सबै मैले मिहिनेत गरेर कमाएको हो भन्नेछु । उसलाई भन्नेछु कि तिमीले चोरेर लगेको चोरीको सामानले तिमीलाई छट्पटी हुनेछ । तिमी राम्ररी सुत्न पनि सक्ने छैनौ । त्यसैले यस्तो काम छोड । आफ्नै बलबुँताले जे जति गर्न सक्छौ त्यो गर र आफ्नो पेट पाल । यसरी कमाएको थोरै भएपनि तिम्रो हृदयले शान्ति प्राप्त गर्नेछ ।” डुलकुमार र म यो कुरा सुन्दै थियौं । उसको र मेरो भातको चूली सकिईसकेको थियो तर हिमाल दाइको र चिरञ्जीविको भातको चूली जस्ताको तस्तै थियो । उनीहरु गफ मै मस्त थिए । कालो दालमा ढाडिएको चिसो भातले उनीहरुलाई हेरिरहेको थियो ।

म मनमनै सोच्दै थिएँ । हिमाल दाइले राती घरमा चोर आएको कसरी थाहा पाउलान् र ? थाहा पाईहाले पनि चोरले उनको कुरा सुनेर त किन बस्थ्यो होला र ? वा सुनेरै बसे पनि अनुशरण किन गर्थ्यो होला र ? तर मलाई हिमाल दाइको कुरो घत पर्‍यो । चोरलाई नै बदल्न सके पो त बल्ल परिवर्तन आउँथ्यो होला भन्ने सोचें । मेरो तिर चोर आए उससँग गान्धीगिरी गर्ने र उसलाई बदलेर छाड्ने सोचें । त्यो दिन त्यसै सकियो ।

***

मेरो टोल तिर चोरी हुने नौलो कुरो थिएन । म आठ बर्षको छँदा असार महिनाको दिउँसै हाम्रो घरमा चोर पसेर थुप्रै सामान चोरेर लगेको थियो । दशैंमा लगाउन भनेर बा-आमाले ल्याइदिएको सेतो जुत्ता पनि दराज फोरेर लगेको थियो । “बहिनीले तेरो जुत्ता देखी भने तुरुन्तै आफूलाई पनि जुत्ता चाहियो भन्छे । उसलाई अर्को महिना किनिदिउँला । यो महिना पैसा सकियो । यो जुत्ता दराजमा लुकाएर राखौं” भनेका थिए बा-आमाले । त्यसपछि पनि हाम्रो घर वरपर चोरीका सानातिना घटना प्रत्येक महिना जस्तो भईरहन्थे ।

***

“हिन्द स्वराज” पढेको दुई दिन पछि म राजनीतिक चिन्तनको अर्को पाठको तयारी गर्दै थिएँ । यो पाठ पनि गान्धी कै बारे थियो । तर त्यो दिन छिट्टै निदाएछु ।

म त्यतिबेला भुइँतल्लामा सुत्थें । तीन-बाई-दुईको सानो कोठा थियो । एकातिर झ्याल, अर्कातिर ढोका भएको । झ्यालमा पातलो पर्दा थियो । घर पर्खालले घेरिएको थिएन । मेरो कोठाको झ्याल सामुन्ने आठ फुटे हिंड्ने बाटो थियो । बाटोमा कोहि हिंडेको पनि ठ्याक्कै आभाष हुने गरी झ्यालकै सामुन्नेको बाटो । खनाल अङ्कलको अगुवाइमा बाटोभरी बत्ती राखिएको थियो । बत्तीले गर्दा चोर आउन कम हुने आशा थियो । तर दिनमा चौध घण्टा त लोडसेडिङ्ग नै हुन्थ्यो । जेठको गर्मी सहन नसकेर त्यो रात झ्याल खुल्लै राखेर सुतेको थिएँ । राति सबेरै सुतेको हुनाले बिहान चार बजेतिर आँखा खुलेको एकछिन भएको थियो । बाटोको बत्ती झ्यालको शीशामा ठोक्किएर मेरो खाटको छेऊ तिर छायाँ परेको थियो । त्यो छायाँ चल्यो । झ्याल आधी बन्द भएको हुँदो हो कसैले झ्याल खोल्दै थियो । जुरुक्क उठें । नभन्दै चोर आएछ ।

ऊ बिस्तारै झ्यालबाट हात घुसार्दै कोठा भित्रको मेलोमेसो बुझ्दै थियो । पर्दाले छेकिएको हुनाले र बाहिरको उज्यालोले गर्दा उसले मलाई देखेको थिएन । यसैपनि कोठामा पढ्ने किताब-कापी र मेरा केहि जोर लुगा बाहेक अरु खासै थिएन ।

“चोर ! चोर !” भन्दै कराऊँ कि उसलाई समात्न तिर लागूँ ? यस्तैमा हिमाल दाइको कुराको याद आयो । अनि पर्दाले छेकिएको चोरलाई “भाइ यहाँ चोर्ने केहि छैन ।” भन्दै थिएँ चोर कुलेलम ठोक्यो । मैले बोलेको पूरै सुन्यो कि सुनेन पनि थाहा छैन । हिमाल दाइको जस्तो लामो प्रवचन दिने त कुरै भएन । मन खिन्न भयो । त्यसपछि झ्याल अगाडि उभिएँ चोरलाई कुर्न । मेरो मन भित्रको गान्धीले मलाई स्याबासी दिईरहेको थियो अनि भनिरहेको थियो कि चोर फेरी फर्कन्छ कुरेर बस । चोरलाई बदलेर सोच्ने अठोट लिएर झ्याल अगाडि उभिइरहें । तर चोर त किन फर्कन्थ्यो र ! उसको सात्तो पनि उडिसकेको हुँदो हो । चार कोश पर पुगीसकेको थियो होला । चोरसँगको साक्षात्कारले निद्रा लाग्ने कुरै भएन ।

बिहान चार बजेदेखि एक घण्टा चोरलाई कुरेर बसें तर चोर फर्केर आएन । बरु पाँच बजेतिर “मर्निङ वाक” मा जान आमा उठ्नु भयो । आमालाई चोर आएको कुरा भनें । आमा त झन् आत्तिनुभयो । “कराउनु पर्छ नि ! चोरलाई पक्रनु पर्ने थियो ।” भन्नुभयो । आफू कत्रो बहादुरी गरें सोच्दै थिएँ । खिस्रिक्क परें ।

भोलीपल्ट हरि सरको कक्षामा चोर आएको र चोरसँग “गान्धीगिरी” गरेको कुरा सुनाएँ । तर कसैले पत्याएन । “सञ्जयले गफ लगायो” भन्दै सबैले हाँसेर उठाए । हिमाल दाइ पनि हाँस्दै थिए ।

1 May 2020 | २०७७ बैशाख १९

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *