यो लेख दीपेन्द्र चौंलागाईसँगको सहलेखनमा २०७७ भाद्र ११ (२७ अगष्ट २०२०) का दिन नयाँ पत्रिकामा छापिएको थियो ।
प्रदिपजी, नमस्कार ! तपाइँको सुजित महत र नरेश ज्ञवालीले लिनुभएको हालै नयाँ पत्रिकामा प्रकाशित अन्तरवार्ता पढेपछि मनमा उब्जेका केहि प्रश्नहरुको उत्तर नपाउँदा यो पत्र लेखेका छौं । युवा नेतृत्वको बहस चलिरहँदा तपाइँले उठान गर्नु भएको युवा नेतृत्वमा वैचारिक र सैद्धान्तिक खडेरीको विषय अत्यन्तै महत्त्वपूर्ण छ । नेपाली समाजले नेपाली राजनीतिसँग युवा नेतृत्वको आशा गरिरहँदा उहि पुराना र बुढा अनुहारहरु अगाडि आइरहेका छन् र भविष्यको आशा गर्न मिल्ने खासै ठाउँहरु छैनन् । यसै बीचमा “इनफ् इज् इनफ्” अभियन्ताहरुले सुरु गरेको आन्दोलनले नेतृत्व तह र सरकार समक्ष सशक्त र सटिक प्रश्नहरु खडा गरिदिएको छ । कोमामा गएको नेपाली काँग्रेस कतै नदेखिँदा प्रतिपक्षको रिक्त भूमिकामा सडकमा अहिंसात्मक आन्दोलन र अनसनमा उत्रिएका यी युवाहरुले जवाफदेहिताको सवाललाई खरो रुपमा अगाडि प्रस्तुत गरे । थुप्रै युवाहरु सडकमा उत्रिए पछि कयौं वर्षदेखि नदेखिएको युवा जोश सडकमा छताछुल्ल भएको थियो । ठूला पार्टीहरुमा युवाले तुरुन्तै अवसर नपाउने प्रष्ट भइरहँदा वैकल्पिक राजनीतिमा आश गर्ने ठाउँ एकदमै कम छ । तपाइँको अन्तरवार्ता पढेपछि र तपाइँले यी युवाहरुमा सिद्धान्त र विचारको कमी औंल्याउनु भएको कारणले हामीले यो पत्र तपाइँलाई सैद्धान्तिकरणको पथप्रदर्शकको रुपमा अगाडि उत्रन आवह्वान गर्दै पनि लेखेका हौं ।
प्रदिपजी ! तपाइँको दार्शनिक र सैद्धान्तिक ज्ञानसँग हाम्रो कुनै मतभेद छैन । तर, तपाइँको अन्तरवार्ता पढिरहँदा मनमा केहि उल्झनहरु पैदा भए ।
तपाइँले नेपालमा शिक्षा, स्वास्थ्य प्रणाली र भौतिक निर्माण गरी तीन वटा क्षेत्रमा समस्या रहेको बताउनु भयो । “तीनवटै समस्या बुझेको, समाधानको उपाय र संकल्प भएको हुनुपर्छ । सँगसँगै उदात्त आदर्शवाद, विचारधारा हुनुपर्यो । नाम र दाम कमाउन आएको हैन, तीन करोड जनताको हितमा केही न केही गरेर छाड्छु भन्ने कठोर संकल्प हुनुपर्छ” भन्नुभयो । अहिले जनताको हितमा काम गर्ने संकल्प नै नभएका नेताहरुले देश चलाईरहँदा र फेरी पनि चुनावमा पटक-पटक उनीहरुले नै जितिरहँदा तपाइँको नेपालको शासन प्रणाली माथीको टिप्पणी के हो ? के संसदिय व्यवस्थाले नेपालमा काम नगरेको हो ? वा व्यवस्था जुनसुकै भए पनि नेतृत्व मै समस्या हो ? वा समस्या व्यूरोक्रेसी (कर्मचारीतन्त्र) मा छ या अन्य कतै छ ? ठूला पार्टीका ठूला नेताहरुले कुर्सी छोड्ने कुनै संकेत नदिंदा वैकल्पिक शक्ति भएर आउने युवाहरुलाई तपाइँको शासन प्रणालीमा राय के हो ? भ्रष्टाचार, विचौलियातन्त्र, दण्डहीनता, नातावाद, कृपावाद, आफ्नोमान्छेवाद, लगायतका यावत समस्याहरुमा तपाइँको विचार र समाधानका उपायहरु के-कस्ता छन् ? देशलाई समतामूलक सहभागिताका आधारमा समावेशी बनाउँदै लग्ने, आर्थिक समृद्धि तर्फ देशलाई डोर्याउने, र संविधानमा अझै रहिरहेका विभेदपूर्ण प्रावधानहरुको हल गर्ने तपाइँको मोडल के हो ? यसमा युवा र युवा नेतृत्व कसरी अटाउँछ ?
अन्तरवार्तामा तपाइँले “आजका युवाले अलिअलि बुझ्दै छन्, समग्रमा बुझेका छैनन् । ‘इनफ् इज् इनफ्’ स्वार्थभन्दा माथि उठेको देखेँ । स्वार्थत्याग अनिवार्य सर्त हो, पर्याप्त होइन ।” भन्नुभयो । साथै, “युवालाई हामीले गौरवीकरण किन गर्नुहुँदैन भने हिटलरलाई बोक्ने पनि युवा थिए । दुनियाँको घनघोर दक्षिणपन्थीदेखि समाजवादी क्रान्तिसम्म युवाले नै गरेको हो … नेपाली युवाको तारिफ गर्छु, उनीहरूले सही सवाल पक्रेको देखिन्छ ।” भन्नुभयो । तपाइँले “आजका युवामा जोश, जाँगर भए पनि अग्रगामी दृष्टिकोणको अभाव छ” भन्ने तपाइँको नैतिक र सैद्धान्तिक धरातल के हो ? यसको प्रतिप्रश्न स्वरुप कसैले “प्रदिप गिरिसँग अग्रगामी दृष्टिकोण भए पनि परिवर्तन गर्न सक्ने जोश र जाँगर छैन” भन्नु जत्तिकै अर्थहीन कुरा हो । यस सन्दर्भमा युवाको जोश र जाँगरमा अग्रगामी दृष्टिकोणको सम्मिश्रण कसरी गर्न सकिन्छ ? युवालाई दोष दिनु भन्दा यसमा तपाइँले कस्ता समाधान पेश गर्नुहुन्छ ? तपाइँले “आज समाजको विचार निर्माणको आधार ‘युट्युब्’ भएको छ । त्यहाँ कुनै मार्क्सवादीको उपस्थिति छैन । पुँजीवादले थिचेको मिडिया छ ।” भन्ने मत राख्नुभयो । तपाइँले भन्नुभए जस्तो “सोसल डेमोक्र्याट भनिने र आफूलाई मार्क्सवादी भनाउने विवेकशील तत्व एक ठाउँमा” ल्याउने माध्यम के हो ? नेपाल मै पनि कुन यस्तो धागो होला जसले नेपाली काँग्रेस र नेकपालाई एउटै धरातलमा उभ्याउँछ ? सोसल डेमोक्रेसी र मार्क्सवादमा पकड राख्ने तपाइँले यस विषयमा के-कस्ता ठोस कदम चाल्नु भएको छ ? के तपाइँ आफैंले यो सम्भव देख्नुहुन्छ ?
के तपाइँको विचारमा नेपाली काँग्रेस सोसल डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो ? के नेकपा सच्चा मार्क्सवादी, लेनिनवादी पार्टी हो ? के लेनिनले यस्तै भ्यान्गार्ड पार्टीको कल्पना गरेका थिए ? हैन भने तपाइँको “वैचारिक खजाना” के हो ? यो कता भेटिन्छ ? नेपाली युवाहरुले सोसल डेमोक्रेसी र मार्क्सवादको फ्युजन कसरी गराउलान् ? तपाइँले यो सैद्धान्तिक बहसमा ठोस नीतिगत सुझाव कसरी दिनुहुन्छ ? पार्टीका युवा सधैं गफ सुन्ने र सानातिना व्यवस्थापकीय कामहरुमा व्यस्त गराईनुको सट्टा राजनीतिक नेतृत्वमा काम गर्न लिडरसीप एकेडेमी बनाएर त्यसको नेतृत्व तपाइँले गर्नु पर्ने होइन ? युवालाई सहयोग गर्नु, उनीहरुलाई परामर्श दिनु र अभिभावकीय भूमिका पूरा गर्नुको सट्टा “वैचारिक खजानाको खाँचो छ” भन्ने तर त्यहि वैचारिक खजाना नभएको भन्दै निरुत्साहित गर्न खोज्नु भएको हो वा हाम्रो यो बुझाई गलत छ ? संगठनको नेता फेरिनु पर्छ भन्ने तर साधारण सदस्य सधैं साधारण नै रहोस् भनेर नेतृत्व विकास सम्बन्धी कुनै पनि देखिन लायक काम नगर्ने वा पार्टीले आफ्ना विचार सम्प्रेषण गर्ने युवा सम्बन्धी गरेका कार्यक्रमको जिम्मेवारी त परको कुरो समिक्षासम्म पनि नगर्ने बानीले पार्टीमा क्षमतावान युवा कसरी आउलान् ? आफ्नो बल, कार्यक्षमता र युवा जोशले अगाडि बढ्न लायक युवालाई “तिमीले यो बुझेकै छैनौ, अझै बाँकी छ” भनेर निरुत्साहित गर्नुको साटो समय अनुकुल “अब यहाँ-यहाँ सुधार गर म यो सहयोग गर्छु” भनेर भनिदिनु भएको भए आज युवाहरु अझ सक्रिय भएर तपाइँको पार्टीको क्षमता बढ्ने थियो कि ?
वैचारिक दृष्टिकोण कै निरन्तरता स्वरुप तपाइँले “अब युवा पुँजीवादी, समाजवादी, साम्यवादी जुनसुकै विचारधारामा आस्था राख्ने होस्, उसको विचारको टर्चले समस्याको समाधान देख्ने हुनुपर्छ । दोहोर्याएर भन्छु, नेतृत्वमा युवा पहिलो अनिवार्य सर्त हो । सँगसँगै, उसमा नेपाली समाजको रूपान्तरणका लागि विश्वदृष्टि हुनु पनि अनिवार्य सर्त हो” भन्नुभयो । तपाइँले युवा नेतृत्व पहिलो सर्त हो पनि भन्ने, युवामा रुपान्तरणको विश्वदृष्टि चाहिन्छ पनि भन्ने, सत्ता उथलपुथल गर्न चाहने युवाहरुमा वैचारिक खजाना पनि छैन भन्ने, आफू आवद्ध पार्टी नै युवालाई नेतृत्व हस्तान्तरण गर्न नचाहने तर आफू पनि युवालाई वैचारिक बहसमा समबद्ध नगर्ने । यी सबै पक्षहरु एक आपसमा बाझिएका छन् । यसको समाधान के हो ? कसरी सैद्धान्तिक बहस र व्यवहारिकता (वा व्यवस्थापकीय वा प्रशासनिक) संकायमा तपाइँले इङ्गित गर्नु भएका मुद्दाहरुमा हालको समय सिद्धान्तले मूर्त रुप दिन नसकेको र अबको समय व्यवहारिक पक्ष जस्तै भष्ट्राचार नियन्त्रण, चुस्त नीति कार्यान्वयन र शिक्षा, स्वास्थ्य र भौतिक निर्माणको गतिशीलतामा हुनु पर्ने हो । बाबुराम भट्टराईले माओवाद छोडेर वैकल्पिक शक्ति तर्फ लाग्नुको कारण सैद्धान्तिक जालमा अड्कनु भन्दा व्यवहारिक र प्रशासनिक चुस्ततामा अबको समय महत्त्वपूर्ण छ भन्ने बुझाई हो ? रामचन्द्र पौडेलले कान्तिपुरमा भन्नु भएको “मानवतावाद” पुराना “वाद”हरुको मृत्युचेतबाट जन्मिएको हो ? यदि हो भने सरकारको अकर्मण्यतामा प्रश्न उठाउँदै जवाफदेहिताको वकालत गरिरहेका युवाहरु त सिद्धान्तमा अड्किनुको साटो प्रष्ट रुपमा व्यवहारिक देखिए । यसमा तपाइँले आत्मसमिक्षा गर्दा ताली बज्ने वैचारिक भाषणहरु भन्दा त कयौं गुणा यी युवाहरुले सोधेको प्रश्नले र उनीहरुले चाहेको परिवर्तनले ठूलो माने राख्दैन र ?
साथै अन्तरवार्तामा तपाइँले “हाम्रो समाज यति सानो समूहले चलाएको छ, भोलि ओलीको ठाउँमा जो–कोही आए पनि वैचारिक, सांस्कृतिक, समाजशास्त्रीय आधारमा संक्षेपमा भन्दा हाम्रो प्राज्ञिक आधार विना दिगो क्रान्ति सम्भव छैन । यी युवा आन्दोलनको कमजोरी यही छ । जोस र जाँगर प्रगतिवादी धारणा वाजिब छ, तर उनीहरूलाई वैचारिक खजानाको खाँचो छ । जब–जब युवाले त्यो खजाना पाएका छन्, भयंकर काम गरेका छन् ।” भन्नुभयो । तपाइँले भन्नुभएको “वैचारिक खजाना” के हो र त्यो कहाँ पाइन्छ ? नेपालमा निरञ्कुश शासन, निर्दालीय पञ्चायत, प्रजातन्त्र, खुला बजार व्यवस्था, पूँजीवादी व्यवस्था, समाजवाद र अहिले आएर मार्क्सवाद, लेनिनवाद र माओवादलाई सैद्धान्तिक धरातल बनाएर शासन गरेका पार्टी र शासकहरु कसैले पनि ठोस परिणाम दिन नसकेको परिप्रेक्षमा तपाइँले भन्नु भएको “वैचारिक खजाना” कस्तो हो ? नेपाली काँग्रेस आफैंमा एउटा ठोस सिद्धान्त अबलम्बन गर्न नसकेर पछिल्लो चुनावमा नराम्ररी पछारिंदा तपाइँ आवद्ध सो पार्टीलाई सैद्धान्तिक बाटोमा कति डोर्याउनु भयो ? हामी जस्ता युवाहरुले आगामी चुनावमा नेपाली काँग्रेस वा अरु कुनै पार्टिलाई किन भोट हाल्ने ? देशको अवस्था देखेर दिक्क भएर हामी जस्ता युवा र भावी पुस्ता विदेश पलायन किन नहुने ?
तपाइँले बीपीसँग बसेर सिक्नु भएका यावत राजनीतिक र प्राज्ञिक विषयहरुको शिक्षा अहिलेका युवाहरुलाई स्कुलिङ् गर्नु पर्ने होइन ? बीपीले आफ्नो २०१० सालको डायरीमा “नेपाली कांग्रेसले राष्ट्रियताको महत्व नै बुझेको रहेनछ । हामीले ठूलो गल्ती गरेका रहेछौँ । यतातर्फ हामीले ध्यान दिनुपर्छ” भनेको लगभग ७० वर्ष पुग्न लाग्दा पनि नेपाली कांग्रेसले राष्ट्रियता बुझ्न सकेको छैन । यसमा तपाइँले बीपीको विचारलाई आफ्नो बुझाईको मन्थनद्वारा राष्ट्रियताको सैद्धान्तिकरण कसरी गर्नुभयो ? देशमा राष्ट्रियता र राष्ट्रवाद बीचको फरक छुट्टाउन नसक्ने जमात ठूलो छ । यो जमात सत्तामा, सडकमा, सामाजिक सञ्जालमा र समाज भरी व्याप्त छ । यो जमातले नै “राष्ट्रवादी” भनिने शक्तिको नेतृत्व गरिरहेको छ । तपाइँले “नेपालमा राष्ट्रवादको नारा घन्काएर कोहि पनि सत्तामा पुग्दैन भनिरहँदा फेरी वैकल्पिक संस्कृति नेपालमा भोलि टिस्टादेखि काँगडाको नारा लगाउँदैमा कोही सत्तामा पुग्छ भन्ने लाग्दैन” त भन्नु भयो तर यसो भन्नुको वैचारिक धरातल के हो ? तपाइँलाई किन यस्तो लाग्छ ? कुनै पनि पार्टी बलियो हुन, वैचारिक र सांगठनिक हिसाबले सशक्त हुनु जरुरी हुन्छ । तर तपाइँ आफैं सदस्य रहेको नेपाली कांग्रेस वैचारिक र सांगठनिक दुवै हिसाबले धरासायी हुँदा गिरिको आफ्नो जिम्मेवारी के हो ? तपाइँले कस्तो वैकल्पिक संस्कृतिको प्रोत्साहन गर्न सक्नु हुन्छ ? यहाँ सिद्धान्तको गफ नेपाली काङ्ग्रेसले नै पूरा गर्न नसकिरहेको बेला राष्ट्रवादको डरलाग्दो नाच देखाइरहेका सत्ताधारीहरुलाई अगामी चुनावमा जित्ने नेपाली काङ्ग्रेसको रोडम्याप के हो ? यो परिप्रेक्षमा नेपाली काङ्ग्रेसको र बीपीको लेगसी (योगदान) नेपाली जनताहरुले राष्ट्रवाद, प्रजातन्त्र, समाजवाद र अहिलेको खुला बजार व्यवस्था, भूमण्डलिकरण र विश्वव्यापीकरणको समयमा कसरी बुझ्ने ? यो बुझाउन तपाइँले र तपाइँको पार्टीले कस्तो भूमिका खेलेको छ ? पुस्तान्तरण हुन नसकेका बीपीका विचारहरुलाई जनता समक्ष प्रस्तुत गर्ने तपाइँको जिम्मेवारी होइन ? सोसल-डेमोक्रेटिक र मार्कसिस्ट स्कुल चलाएर यो वैचारिक पुस्तान्तरण अब पनि नगरे कहिले गर्ने ?
तपाइँले “गाउँको स्कुल, हेल्थपोस्ट सबैतिर उथलपुथल जरुरी छ । म मुलुकमा हुने कुनै किसिमको उथलपुथलको स्वागत गर्न तयार भई बसेको छु । अचेल सामाजिक सञ्जालले उथलपुथल गराउन खोज्छ । डा. गोविन्द केसी वा ‘इनफ इज इनफ’ले पनि गराउन सक्थे । तर, अलिकति वैचारिक आधार चाहिन्छ । प्रत्येक दिन संसार बदलिइरहेको छ” भन्नु भयो । यो उथलपुथल कसरी आउने हो ? रोडम्याप सहितको कम्युनिष्ट आन्दोलनले समेत ठोस परिणाम दिन नसकेको र परिवर्तनकारी भनिने शक्तिहरु नै पुरातनवादी हुँदै गईरहको अवस्थामा कुन सिद्धान्तले काम गर्ने देख्नुहुन्छ ? यति भनिरहँदा के आन्दोलन, उथलपुथल, क्रान्ति स्वत: स्फुर्त आउनुपर्ने होइन ? डा. गोविन्द केसी वा ‘इनफ् इज् इनफ्’ ले अगाडि सारेको जनआक्रोशलाई नेपाली काँग्रेस वा अन्य कुनै प्रतिपक्षी शक्तिले किन वैचारिक वा सैद्धान्तिक टेवा दिन सकेनन् ? युवाहरुको त्यो रिस र उनीहरु भित्र बलेको त्यो आगोलाई चिसिनँ नदिन तपाइँको आफ्नो कस्तो भूमिका हुन सक्थ्यो ? यति भनेको लगत्तै फेरी “तर यहाँ हिन्दू राष्ट्रलाई जसरी खारेज गरियो, बहस पुगेन । त्यही भएर हिन्दुत्व, हिन्दू राष्ट्रको मुद्दा मान्छेको दिल, दिमागमा रहिरहेको छ” पनि भन्नुभयो । उथलपुथल ल्याउनलाई पुरातन सोचलाई भत्काउनु जरुरी छ । आफू र आफू जस्ता नेताको “महत्व पनि जान्दिनँ, भूमिका पनि जान्दिनँ । तर, मजस्तै व्यक्ति चाहिएको छ । … १० वर्षपछिको सोचेर बोल्दिने मान्छे हरेक पार्टीमा चाहिन्छ । सबैजना पदको मुखापेक्षी भएर हुँदैन, पदको आकांक्षीले भन्नुपर्ने कुरा भन्न सक्तैनन् । ‘पार्टी जाओस् भाँडमा’ भनेर बोल्ने मान्छे चाहिन्छ ।” गगन थापाको उदाहरण दिंदै गणतन्त्रको पक्षमा उनी र संघीयताको पक्षमा तपाइँ रहेको जानकारी दिंदा फेरी हिन्दु राष्ट्र प्रति तपाइँको मनमा सफ्ट कर्नर रहेको हो ? नत्र धर्मनिरपेक्षता त तपाइँले भन्नु भए जस्तै १० वर्ष पछिको सोचेरै लागू गरिएको प्रवाधान हैन त ?
समाजवादी र कम्युनिष्ट धारका बहसहरुमा प्रदिप गिरिको तर्कहरु सुन्ने भिड लागेका मानिसहरुलाई आफ्नै पार्टीमा भविष्यका खम्बाहरुलाई सैद्धान्तिक मार्गचित्र दिने माहोलको निर्माणमा तपाइँको कस्तो भूमिका हुन सक्थ्यो ? तपाइँ कहाँ चुक्नुभयो ? र तपाइँको पार्टीले नयाँ विश्वको सैद्धान्तिक र वैचारिक अवधारणा अगाडि बढाएर नयाँ पुस्तालाई कसरी प्रेरित गर्न सक्थ्यो ? तपाइँको पार्टी कहाँ-कहाँ चुक्यो ? यसको चिन्तन मनन कसले, कहिले गर्छ ?
अन्तमा, तपाइँ आवद्ध पार्टीको अधिवेशन वास्तवमै भएछ भने युवाका विचार बोकेर नयाँ नेपालको सपना साकार पार्नका लागि हरेक जसो आन्दोलनहरुमा होमिएका तपाइँकै पार्टीका युवाहरुलाई अगाडि बढ्न र यो कुरामा समर्थन जुटाउन तपाइँ र तपाइँका समकक्षी नेताहरु एक ठाउँमा उभिनु होला भन्ने आशा गर्दछौं । यो महत्वपूर्ण कर्ममा तपाइँको साकरात्मक भूमिकाले पार्टीको भविष्य र तपाइँको जिम्मेवारी दर्शाउनेछ । यावत कुरा गरेर ताली खाएर फेरी पनि ति युवालाई “अहिले बेला भएको छैन, विचारमा स्पष्ट हुनुहोस्” भनेर फेरी थन्क्याउने नगरीदिनुहोला ।
हवस् त । धन्यवाद !
फोटो श्रोतः नेपाली टाईम्स्
Leave a Reply