सञ्जय शर्मा “खेतारे”
२०७७ बैशाख २२ | 04 May 2020
अँध्यारैमा ज्ञादी-कुश्मा झोलुङ्गे पुल तर्नु पर्ने थियो । बाग्लुङ-काठमाडौंको बसलाई सात बजे कुश्मा बजारमा भेट्टाउनु थियो । पुसको महिना भएकाले साह्रै जाडो थियो ।
बिहान पाँच बजे ठूलाबा, ठूलीआमा उठिसक्नु भएको थियो । म पनि बेलैमा उठें र नित्यकर्म भ्याएर ठूलीआमाले बनाईदिनु भएको तात्तातो चिया र हिजो राति बाँकी रोटी टोकेर ठूलाबा-आमासँग बिदा भएर ६ बजे घरबाट निस्कें । ठूलीआमाले मेरी आमाको आग्रहमा ५ किलो चामल र २ किलो पीठो पठाइदिनु भएको थियो । अघिल्लो दिन कुश्मा बजारको एउटा पसलमा “दुई किलो भाँगो राखिदिनु भोली बिहान साँढे ६, पौने ७ बजे तिर आईपुग्छु” भनेको थिएँ । मेरो क्यामरा र लत्ताकपडा पनि जोडेर भारी ठूलै थियो । भाँगोको थप भार बढ्ने वाला थियो ।
पर्वतको ज्ञादीमा ठूलाबा, ठूलीआमा, साहिँलाबा र साहिँलीआमा बस्नु हुन्छ । माईलाबा-आमा भारतमा बस्नुहुन्छ । हामी (कान्छा) काठमाडौं बस्छौं । वर्षमा एक-दुई पल्ट जस्तो हामी पर्वत गईरहन्छौं । पहिले बा-आमासँग बहिनी र म जान्थ्यौं । अचेल धेरै जसो म एक्लै जान्छु । अचेल बा-आमाको र मेरो डुल्ने समय बेग्ला-बेग्लै भएको छ । बहिनीको आफ्नै परिवार र भ्याई-नभ्याई छ ।
जून टह-टह लागेकाले खासै अँध्यारो त थिएन तर शीत परेकाले बाटो भने चिप्लो थियो । ठूलाबाको घरबाट कुश्मा-ज्ञादी पुल पुग्न २० मिनेट जति हिंड्नु पर्छ । पुल पुग्नु अघि १५ मिनेट हिंड्दा जम्मा एक जना महिला बाटोमा भेटेको थिएँ । त्यसबाहेक बाटो शान्त थियो । किराहरु कराएको आवाज बाहेक अरु निस्पट्ट थियो । पुलको वारी मुखतिरका केहि पसलहरु खोल्ने विचारमा पसलेहरु थिए ।
पुलको मुखमा पुगेर पारी पट्टि हेरेको पुलमा कोहि पनि हिँडेको रहेनछ । जाडोमा सबैको जीवन ढिलो र बिस्तारै सुरु हुन्छ, सायद । पुलभरि एक्लै भएपछि “यो पुलको राजा मैं हो” भन्ने सोच्दै अघि हिंड्दै थिएँ ।
शीत परेकाले पुल अति नै चिप्लो थियो । बिस्तारै सम्हालिंदै हिँड्दै थिएँ । यो झोलुङ्गे पुल खुबै लामो छ । तीन सय ४४ मिटर लामो । शीतको चिप्लोमा बिस्तारै हिंड्दा पुल तर्न झण्डै १० मिनेट लाग्ने ।
पुलमा हिंड्न सुरु गरेको तीस सेकेण्ड जति पछि एउटा सेतो ओढ्ने ओढेको मान्छे पुलको अर्को मुख (कुश्मा) तिरबाट यता ज्ञादी तिर आउँदै गरेको देखें । “यसले अरु कुनै रङ्गको ओढ्ने पाएनछ बरै” भन्ने सोच्दै अगाडि बढ्दै थिएँ । अँध्यारोमा जूनको मधुरो प्रकाशमा यो सेतो लुगा खुबै टल्किएको थियो । उजाला सुप्रिमले धोएको जस्तो । तर लगभग ३०० मिटर परको त्यो आकृति ठ्याक्कै ठम्याउन नसकिने खालको थियो ।
लगभग एक मिनेट जति पछि त सेतो ओढ्ने वाला त फेरी जुन बाटो आएको थियो त्यतै फर्किन थाल्यो । वा मैले त्यस्तै देखें ।
मन अलि डगमगायो ।
“यो के चटुकारीता हो” सोच्दै तर मुटु पनि अलि अलि कमाउँदै अगाडि त बढ्नै पर्यो । फेरी एक मिनेट जति अगाडि पुग्छु त त्यो सेतो ओढ्नेवाला मान्छे त गायब भयो । हेर्दा-हेर्दै एक्कासी हरायो । हंशले ठाऊँ छोडिगयो । अब फर्केर ज्ञादी जाऊँ कुश्माबाट काठमाडौं छुट्ने बस पक्डिनु छ । अगाडि जाऊँ सात्तो त उडिसक्यो । एकछिन त्यहिँ उभिएँ । पुल पूर्णरुपमा शान्त छ ।
अगाडि हिंड्ने बाहेक बिकल्प थिएन ।
फेरी एक मिनेट हिँडेपछि त त्यो सेतो ओढ्ने वाला मान्छे त अघि भन्दा धेरै वर मै तिर हिँड्दै आएको पो देखें । डर त लागेकै थियो । तर अलि अलि भूतलाई पनि भेट्ने इच्छा पनि थियो । र यो अनुभव पनि त रमाइलो हुन्छ नि भन्ने सोच्दै डराउँदै हिंडें ।
अब चैं म पक्का भएँ कि यो भूत मै तिर आउँदैछ भनेर । म जति अगाडि बढ्छु ऊ त्यत्ति नजिक आउँछ । त्यतिन्जेलमा म पुलको बीच तिर पुग्न थालिसकेको थिएँ ।
लगभग पूलको बीच तिर पुगेपछि “यो जाबो पूल नि कति लामो हो” सोच्दै अब भूतलाई भेट्न धेरै बेर छैन के सोच्दै थिएँ भूत त फेरी छैन । अब डरको सीमा रहेन । मुटु १५० को रफ्तारमा कुद्दै थियो ।
पूलको बीचबाट अगाडि हिँड्न थालेपछि भूतको नामो निशान छैन । पूल सकिन लाग्यो कुश्मा आउन लागिसक्यो तर भूत देखिएन । पुलको आधा भागदेखि भूत हराएको हरायै भयो । मसँग डरायो पो कि सोचें ।
पछाडि फर्केर हेर्छु त भूत त ऊ पारी ज्ञादी पुग्न लागिसकेछ । के भयो बुझ्न सकिन ।
पछि यसो सोच्दा त त्यो भूत भन्ने सोचेको आकृति त जूनको उज्यालो पूलको भुइँमा परेको शीतमा टल्केको रहेछ । भूत त कल्पना मात्र पो रहेछ ।
Leave a Reply