अन्ना गौतम र सञ्जय शर्मा “खेतारे”
वसन्त ऋतुको आगमन भएको छ । आकाश निलो छ । शीतल हावा चलिरहेको छ । भँगेराको चिर्बिर र परेवाको घुराइको आवाजले पाश्र्वसंगीत दिइरहेको छ । तर, त्यसबाहेक अरू सबै शान्त छ । शून्य छ । काठमाडौंका सम्भ्रान्त परिवारका केही प्रौढ मानिसले यो शान्तिमा आफ्नो र काठमाडौंको विगत सम्झिरहेका छन् । आजभन्दा करिब ५० वर्षपहिलेको काठमाडौंको शून्यता र स्वच्छताको सम्झना उनीहरूका दिमागमा ताजा भइरहेको छ । निश्चय पनि यो सहर सुन्दर र शान्त छ, अहिले । तर, समयले यसलाई साथ दिएको छैन । काठमाडौंवासीको अनुभूतिको शान्त र सुन्दर सहर त यो पक्कै होला । तर, यो एक्काइसौँ शताब्दीको सहरजस्तो भने देखिन्न ।
प्रौढ सम्भ्रान्त काठमाडौंवासीले आफ्नो छतबाट देख्ने र कल्पना गर्ने ५० वर्षअघिको काठमाडौं यो हुन सक्दैन र हुन हुँदैन पनि । संसारको कुनै पनि सहर आजभन्दा ५० वा सय वर्ष पुरानोजस्तो देखिन हुँदैन । सम्भ्रान्त वर्गका लागि यो सम्भव होला । तर, बनोटैले सहर गतिशील र परिवर्तनशील हुनुपर्छ । काठमाडौं पनि अहिलेको शून्यता चिरेर आफ्नो खुट्टामा उभिएर छिटै दौडन सक्नुपर्छ । यो तुरुन्तै सम्भव नहोला । तर, निकट भविष्यमा यसो हुनैपर्छ ।
नेपालको पछिल्लो पुस्ता बन्दैबन्दमा हुर्किएको हो । त्यस हिसाबमा नेपाल पनि बन्दमै हुर्किएको हो । दिनैपिच्छे वा हप्तौँसम्म हुने बन्द हामी सबैले भोगेकै हौँ । तर, त्यस्ता बन्द हुँदा दोष लगाउन मिल्ने कोही हुन्थ्यो । प्रतिपक्षले बन्दको आह्वान गथ्र्यो, सत्तापक्षले स्थिति सामान्य पार्न खोज्थ्यो । आममानिसको जीवनमा त्यसले प्रतिकूल असर त पाथ्र्यो नै ! बन्दको वर्षौंदेखिको अनुभव भए पनि हालको बन्द अरूभन्दा फरक छ । यो गैरराजनीतिक, गैरदलीय बन्द हो वा आवरणमा त्यस्तै देखिन्छ । यो बन्दमा दोष थोपर्न मिल्ने कोही छैन । यसमा प्रतिपक्षी छैन ।
यो सरकार प्रायोजित बन्द अर्को प्रकारले पनि फरक छ । हामी सबैले यसको समर्थन र पालना गरेका छौँ । हामीसँग अरू कुनै उपाय पनि छैन । यो बन्दको अवज्ञा गरेमा दण्ड, जरिवाना हुन्छ र हामीले यो दिनदिनै देखेकै छौँ । सप्तरीको लाठीचार्ज यसको उदाहरण हो । यो बन्दमा प्रतिपक्ष नभए पनि वा नदेखिए पनि ऊप्रतिको त्रास अनुभव गर्न सकिन्छ । एउटा अदृश्य हात्ती हामीबीच छ । यो हात्तीको कुनै नाम वा बनोट छैन किनभने हामीले यसलाई देखेकै छैनौँ । हामी यो अदृश्य हात्तीबारे पढ्छौँ । यसले विश्वभरि कतिलाई असर ग-यो, दैनिक तथ्यांक हेर्छौं । हामी यसविरुद्ध दिनमा दर्जनौँपटक हात धुन्छौँ । हामीमध्येका केही अभिशप्तहरू यसको कहालिलाग्दो सपना पनि देख्छौँ ।
कोही भन्छन् कि यो अदृश्य हात्तीले कुनै रंग, धर्म, वर्ग वा लिंग देख्दैन । यो रहस्यमयी तर सर्वव्यापी छ । यसले कसैमाथि विभेद नगर्ला तर यसको असर दूरगामी छ । अनियन्त्रित पुँजीवाद र पितृसत्ताले यसको असरलाई समाजका फरक–फरक तप्कामा फरक–फरक तरिकाले प्रस्तुत गर्दै छ । यो अदृश्य हात्ती पछिल्लो समय यति शक्तिशाली भएर प्रस्तुत भएको छ कि यसले उल्टै पुँजीवादको गतिलाई निकै कम गराइदिएको छ ।
पुँजीवादी उत्पादन प्रणालीलाई यसले आंशिक क्षति पु-याएको छ । यो क्षतिले सबैलाई कुनै न कुनै असर गरेको होला, तर यो असरको अनुपात भिन्दाभिन्दै छ । कसैले नाफा गुमाएका छन् । कोही दैनिक काममा जान पाएका छैनन् । तर, थुप्रै गरिब, निमुखाले आफ्नो दैनिक छाक टार्ने उपाय गुमाएका छन् । ज्यान गुमाएकाको त तथ्यांक संकलन गर्न सकिन्छ, तर भोकले छट्पटाएकाको पीडा कसरी हिसाब गर्ने ? त्यसैले, यो अदृश्य हात्तीबारे पढ्न सजिलो छ । यसको असरलाई बेवास्ता गर्न सहरकेन्द्रित सम्भ्रान्त वर्गलाई झनै सहज छ । हामी त्यसैले बन्दको समर्थन गर्दै घर बसिरहेका छौँ, भोकको पीडालाई नसुनेझैँ गरिरहेका छौँ । भनिन्छ, घर त्यहीँ छ, जहाँ मन बसेको हुन्छ । तर, मन काठमाडौंमा हुनेको यहाँ घर नहुन पनि सक्छ ।
भाडाको कोचाकोच कोठालाई आफ्नो घर बनाएको श्रमिकको ‘घर’ र पचास वर्षअघिको काठमाडौंको कल्पनामा हराउनेको ‘घर’ एउटै नहुन सक्छ । कोचाकोच कोठामा आफूलाई ‘लकडाउन’ कसरी गर्ने ? घरभित्रै बसेर अदृश्य हात्तीबाट त बचिएला तर भोकबाट अवश्य बाँचिन्न । यस्तो अवस्थामा ‘लकडाउन’ले मात्र अभाव दिन सक्छ । ज्याला दिन सक्दैन । रोजीरोटी दिन सक्दैन । भात दिन सक्दैन । त्यो अदृश्य हात्तीले खानाको अभाव सिर्जना गरेको छ र महँगी बढाएको छ । अदृश्य हात्तीसँगै अदृश्य हातहरूले कालोबजारी र भ्रष्टाचारलाई प्रोत्साहन गरेका छन् । यस्ता अदृश्य हात सलबलाउने वेला राज्यको हात बलियो भएर नागरिकमाथिको आफ्नो कर्तव्य पालना गर्न आउनुपर्ने थियो । तर, सरकारले खासै केही ठोस कदम चालेको देखिँदैन । सम्भ्रान्तसँग जगेडा खानेकुराको व्यवस्था होला, महँगोमै भए पनि चामल, पिठो किन्ने पैसा होला । तर, ती अदृश्य हातले गरिब श्रमिकको घाँटी अँठ्याउन आइरहेका छन् ।
भाइरस सरकारभन्दा ठूलो देखिँदै छ । सरकारको नजरमा ‘घर’को ढोका थुन्नु नै भाइरसलाई भित्र छिर्न नदिने उपाय हो । घर आउन चाहनेका लागि पनि ‘घर’को ढोका थुनिएको छ । सुदूरपश्चिममा धार्च‘ला हुँदै दार्च‘ला आउन खोज्दा थुप्रै भारतमा काम गर्दै आइरहेका नेपालीले देशकै ढोका बन्द भएको पाए । भाइरसको डरले सरकारले ढोका खोलेन । ती कामदारमध्ये कसैसँग भाइरस छ होला, वा कसैसँग पनि भाइरस छैन होला, तर यहाँ नागरिकको अधिकारभन्दा डर ठूलो छ । हुन सक्छ सरकार भाइरससँग डराएको छ । वा यो पनि हुन सक्छ कि सरकार आफ्नै अक्षमता र लाचारीदेखि तर्सिएको छ ।
यो संकटको घडीमा हामीले यो अदृश्य हात्तीलाई मात्रै दोष दिन मिल्दैन । यो अदृश्य हात्तीले न पुँजीवाद बुझ्छ, न त यो सामाजिक सुरक्षाबारे जानकार नै हुन्छ । दुर्भाग्यवश, हाम्रो ‘कम्युनिस्ट’ सरकारले पनि यी कुरा बुझ्दैन । यो ‘कमाउनिस्ट’ सरकारले स्वास्थ्य सुरक्षाभन्दा नजिकबाट खुला अर्थ–व्यवस्थालाई चिन्छ । आफन्तै ठान्छ । खुला अर्थ–व्यवस्थाले यसलाई र यसका आसेपासेलाई फाइदा हुन्छ । आफ्ना मान्छेको पृष्ठपोषण गर्ने सरकारले नागरिकको दुःखलाई बेवास्ता गर्छ । आफ्ना पुँजीवादी आकांक्षा पूरा गर्न नसक्ने कसैलाई पनि यसले वास्ता गर्दैन । यस्ता नागरिकलाई कि त ‘घर’भित्र, कि त ‘घर’बाहिर ‘लकडाउन’ गरेर सरकार मस्त सुत्छ । सुतेको छ, केही गरे पनि उठाउन नसकिने गरी । पुँजीवादी अर्थ व्यवस्थामा रमाउने र संकटका वेला डराउने यो ‘कमाउनिस्ट’ सरकारले ‘कम्युनिज्म’माथि नै धाबा बोलेको छ । व्यंग्य छेडेको छ ।
यो कम्युनिस्टको आडम्बर बोकेको सरकारले सामाजवादी चिन्तनलाई बेवास्ता गरे पनि कहीँकतै नेपाली समाजले वर्गविभेदलाई मनन गरेको देखिन्छ । तलबी कर्मचारीले नै दुःख पाएको यो संकटका वेला ज्यालादारी मजदुर र श्रमिकले कठिनाइको सामना गरेको विषय भने यदाकदा मात्र सुन्न पाइन्छ । वर्गविभेदको झिनो आवाज सुनिए पनि लैंगिक विभेदको आवाज भने निमिट्यान्नै छ । महिला अदृश्यजस्ता भएका छन् । त्यो अदृश्य हात्तीले लिंग र पितृसत्ता नदेखेजस्तै नेपाली समाजले पनि यी मुद्दामा आफ्नो आँखा छोपेको छ । वा कहिल्यै आँखा खोलेकै थिएन । यस्तो नहुँदो हो त महिलाका आवाज पनि यहाँ सुनिन्थे । सुनिनुपथ्र्यो ।
सामाजिक सञ्जालमा फोटो हाल्न पुरुषले घरायसी काममा सहयोग त गर्लान् । तर, ठोस योगदान दिएको भने देखिँदैन । सामाजिक सञ्जालमा आफ्नी श्रीमतीले बनाएको खानाको फोटो हाल्नुभन्दा बढी ‘योगदान’ दिन खोजेमा हाम्रो सामाजिक संरचनाले उनीहरूको पुरुषार्थमाथि नै प्रश्न उठाउन सक्छ । योभन्दा सजिलो र सुरक्षित उपाय उनीहरूले महिलालाई नै घरायसी काममा लगाउनुमा देख्छन् ।
हालको समयमा सबै परिवारका मानिस घरभित्रै लकडाउनमा परेका वेला घरायसी कामले महिलामा झनै भार थपेको छ । बालबच्चा भएका महिला र बालबच्चा भएका पुरुषमा लकडाउनको असर बेग्लाबेग्लै छ । तलबी कर्मचारी सुरक्षित बसेको होला । तर, ज्यालादारी गर्ने महिलालाई लकडाउनले झनै गाह्रो बनाएको छ । तलबी नै भए पनि र ‘वर्क फ्रम होम’ नै गरे पनि बालक छोरी भएकी एउटी आमालाई सम्पूर्ण घरायसी काम सकेर छोरीलाई खेलौनामा व्यस्त गराइसकेपछि मात्र उसको बिहान नौ बजेको स्काइप मिटिङ सुरु हुन सक्छ । उसका श्रीमान् भने अघि नै ल्याप्टप च्यापेर बसिसकेको हुन सक्छ । समाजमा घरायसी काम सधैँ बेतलबी नै छ । यो महामारीले बढाएको बेतलबी घरायसी कामको बोझले न्याय पाउने सुइँको देखिँदैन ।
फेरि पनि, यो अदृश्य हात्तीको दोष होइन । यी सामाजिक अन्याय त यो महामारी आउनु धेरै अगाडिदेखि नै हाम्रा बन्द ढोकाभित्र जरा गाडेर बसेका थिए । पुस्तौँदेखि पितृसत्ताले प्रत्यक्ष वा अप्रत्यक्ष हिंसा गरिरहेकै थियो । यसरी नै पुँजीवादले पनि यो हिंसालाई बढावा दिइरहेकै थियो । हाम्रा अगाडि त्यो अदृश्य हात्ती उभिएको छ । यो अदृश्य हात्तीका अगाडि अनेकौँ हिंसाका दृश्य झल्झल्ती नाचिरहेका छन् ।
सरकार अदृश्य हात्तीलाई लखेट्नेवाला छैन । अदृश्य हात्तीले हामीमाथि विभेद नगरे पनि हात्तीप्रतिको डरले हामीमाथि विभेद गरिराखेको छ । पुँजीवाद र पितृसत्ताको आडमा यो डरले झन्-झन् भयानक रूप लिँदै छ । सम्भ्रान्तहरू आफ्नो छतमा बसेर शान्त काठमाडौंको आनन्द अनुभूति गरिरहेका वेला निमुखालाई यसले सताइरहेको छ । अदृश्य हात्ती हामीबीच लामै समय बस्ने निश्चित छ । के यसलाई लखेट्न ढोका बन्द गर्नु नै एक मात्र उपाय हो त ?
यो लेख नयाँ पत्रिका दैनिकमा छापिएको थियो । नयाँ पत्रिकाको लिङ्क: https://www.nayapatrikadaily.com/news-details/40188/2020-04-02?fbclid=IwAR1NRwq9lRKTc63YSW8aGfaVQmyRjN8tInaHA5fAWPmaSsRcI39-ZhTQqEs
Leave a Reply