फिल्मको क्लाईम्याक्स् जस्तो दिन

२०७७ जेठ १ | 14 May 2020

सन् २०१३ को नोभेम्बरताका म भारतको आसाममा काम गर्थें । मेरो काम आठ जना आसामी अनुसन्धाताहरुलाई सुपरभाईज गर्नु थियो । आठ मध्ये पाँच केटा र तीन केटी थिए । आसामीहरु गुवाहाटीको एउटा संस्थामा काम गर्थे जसलाई काठमाडौंमा रहेको एउटा गैर-सरकारी संस्थाले सर्भे गर्ने जिम्मेवारी दिएको थियो । म नेपाल कै कुनै अर्कै संस्थाबाट काठमाडौंको सो संस्थामा परामर्शदाता भएर चार महिनाको लागी आसाममा खटिएको थिएँ ।

हाम्रो काम लगभग २००० घरधुरीको सर्वेक्षण गर्नु थियो । धेमाजी, नर्थ लखिमपुर, डिब्रुगढ र तीनसुकीयाका लगभग १०० गाउँहरुमा पुगेर यो काम सम्पन्न गर्नु पर्ने थियो ।

हामी उत्तरी आसामको धेमाजी र नर्थ लखिमपुर जिल्लाको सिमानामा रहेको गोगामुख भन्ने सानो बजारको लगभग एक किलोमिटर बाहिर भाडाको घरमा बस्थ्यौं । यी आठजना अनुसन्धाताहरु मुख्यतया नर्थ लखिम्पुर र धेमाजी कै स्थानीय युवाहरु थिए । हामी सबैजना यहि भाडाको घरमा बस्थ्यौं । उनीहरु पालै सँग दुई हप्ताको एक पल्टजस्तो घर जान्थे । म भने घर फर्किन सजिलै पाउन्नथें ।

सर्भेका क्रममा धेरै टाढा-टाढा जानु पर्ने भएकाले हामीलाई एउटा गाडी दिईएको थियो । कहिले बिहानै २०० किलोमिटर परको गाउँ पुगेर, सर्भे गरेर, साँझसम्म फर्किसक्नु पर्थ्यो । हाम्रो गाडी चालकको नाम दीप थियो । सबैले साह्रै माया गर्थे उसलाई । दीपले गाडी चलाउने बाहेक हाम्रो लागी खानपीनको व्यवस्था गर्ने पनि गर्थ्यो । बेला-बेला पैसा छैन भनेर मसँग माग्न आईरहन्थ्यो । तर एक हप्ता भित्र फिर्ता पनि दिईसक्थ्यो ।

दुई हप्ता जति अगाडि गौरव र विपुल (आठ अनुसन्धाता मध्येका दुई) मोटरसाइकल दुर्घटनामा परेका थिए । विपुललाई सामान्य चोट मात्रै लागेको थियो तर गौरवको घुँडाको लिगामेन्ट च्यात्तिएको थियो । उसको दायाँ खुट्टाको औंलादेखि तिघ्रा सम्म प्लास्टर लगाएको थियो । त्यति बेला ऊ “फिल्ड” मा “डेटा” सङ्कलन गर्न जान सक्दैन थियो । त्यसैले मलाई घरै बसेर सघाउँथ्यो ।

अरु बेला मलाई सर्भेमा नजानु भनेर आसामको संस्थाका संयोजक “पार्थ दा” ले भनेका थिए । आज्ञाकारी भएर म घरै बसेर काम गर्थें । अनुसन्धाताहरुले भरेर ल्याएका सर्भे फर्ममा समस्या औंल्याउँथें र त्यो समस्या हल गर्ने उपाय नेकाल्थें । म सर्भे गर्न गाउँ गएमा पार्थ दालाई समस्या पर्न सक्थ्यो किन भने मैले सर्भे हुँदै गर्दाका क्षणहरु नजिकबाट देख्थें र धेरै ठाउँमा खोट लगाउँन सक्थें । त्यसले गर्दा सर्भे गर्न सोचे भन्दा बढी समय लाग्थ्यो । उनले काठमाडौंको संस्थालाई “सञ्जयलाई आसामी भाषा आउँदैन र ऊ विदेशी भएकाले उसको सुरक्षाको दृष्टिकोणले पनि गाऊँ तिर नडुल्न ठीक होला ।” भन्ने कारण देखाएका थिए । पार्थ दा गुवाहाटीमै बस्थे । म गोगामुख बस्दा उनी कहिल्यै भेट्न आएनन् ।

एक दिन गौरवले २३० किलोमिटर परको आफ्नो घरमा खाना खान सबैलाई लग्ने भएकाले हामी दश जना (आठ अनुसन्धाता, दीप र म) पहिले सर्भे गर्ने गाउँमा सँगै जाने र उहि बाटो गौरवको घर जाने वाला थियौं । यो गाउँ सुवान्सिरी नदी पारी थियो । यहाँ गाडी गुड्ने बाटो पुगेको थिएन । त्यसैले नदीको छेऊमा दीप, गौरव र मलाई छाडेर बाँकी सात जना गाउँ तिर लागे । यतिबेला दिउँसोको १२ बजेको थियो सायद ।

मैले समय बिताउन महेशचन्द्र रेग्मीको ईम्पेरियल गोर्खा साथमा ल्याएको थिएँ । गोर्खाली सेनाले कुमाऊँ, गढवाल तिर हमला गर्दा कति ज्यादती गरेका थिए भन्ने च्यापटर खुबै रोचक थियो । हामीले स्कुलमा पढेको “वीर गोर्खाली” इतिहास भन्दा निकै भिन्न । दुई घण्टा जति घरी किताब पढ्दै, घरी दीप र गौरबसँग गफ गर्दै र घरी सुवान्सिरीको बगरमा डुल्दै बिताएँ । साह्रै अल्छी लागेपछि सानो एउटा पसलमा गएर दुईटा फ्रुटि, दुईटा चाऊचाऊ, दुईटा लेज किनेर दीप र गौरवलाई दिएँ र उनीहरुलाई त्यहिँ छाडी बाँकी अनुसन्धाता भएको गाउँ तिर लागें ।

नदी तारिदिने डुङ्गाका माझीले भारु २० मा पारी लगीदिए । मसँगै अरु २० जना जति पनि थिए त्यहि डुङ्गामा । कोहि किनमेल गरेर फर्कंदै थिए । कोहि आफ्नो दैनिक आवतजावत गर्दै थिए ।

मैले एउटा मात्रै नदी होला भनेको त सुवान्सिरी यो ठाउँ भन्दा केहि माथी दुई चिरामा विभाजित भएर एउटा टापु बनाएर बगेको रहेछ ।

पहिलो नदी तरेर अगाडी बढ्दै जाँदा १० मिनेट (८०० मिटर जति) पछि अर्को नदी (सुवान्सिरीकै अर्को धार) आयो । नयाँ यात्रीहरु । नयाँ डुङ्गा । नयाँ माझी । म छिटो हिँडेकाले थुप्रै पुराना यात्रीहरु पछाडी नै छुटे ।

यो डुङ्गामा पारी गएको पनि २० रुपियाँ नै थियो । तर माझीले मसँग पैसा लिन मानेनन् । “तिम्रा साथीहरुले अघि नै तिम्रो पैसा तिरिसके” भनेर आसामी भाषामा भनें । मैले कुरो बुझिन । पैसा फेरी दिन खोजें तर फेरी पनि लिन मानेनन् ।

यस डुङ्गामा एकजना अन्दाजी ६० बर्ष जतिका बुढा मान्छे साइकल बोकेर तर्दै थिए । मेरो छेवैमा बसेका । आफ्नो नदी पारीको कामका लागी अघिल्लो दिन नै हिंडेका । हिजो काम नसकिएकाले आज घर फर्किएका । उनले म को हुँ र किन यो विकट गाउँमा जाँदै छु सोधे । मैले मेरा साथीहरु त्यता छन् भनें । नदी तरिसकेपछि आफ्नो साइकलको पछाडी बस्न भने र साइकल हुइँकाए । १० मिनेट यसरी साइलक कुदाए पछि एउटा ठूलो बाँसको घारी अगाडी रोकेर आफ्नो घर आईपुगेको जानकारी गराए । मलाई अगाडीको बाटो नछोडि १५ मिनेट हिँडेपछि गाउँ पुगिने बताएँ । म बिदा भएँ ।

गाउँ पुगेपछि आठ अनुसन्धाता मध्येका तेस्रा र चौथा: रतुल र जतिनलाई पहिले भेटें । रतुलले यस्तो अनकन्टार गाउँमा कसरी आइपुगिस् ? डर लागेन ? भनेर सोध्यो । मलाई अल्छी लागेर आएको बताएँ ।

रतुलले गफ बढी काम कम गर्दै थियो । त्यो बेला उसको सपना नेता बन्ने थियो । अहिले साँचैको नेता भएको छ आफ्नो गाउँमा ।

उनीहरुले त्यतै कतै कुनै घरमा आफ्ना लागी खाना भनेका रहेछन् । यतै दिउँसोको खाना खायौं । यतिबेला लगभग दिउँसोको चार बजेको हुँदो हो ।

साँझ ६ बजे तिर हामी काम सकेर गाडी भए तर्फ फर्कन थाल्यौं । यतिबेला अँध्यारो हुन थालिसकेको थियो ।

सर्भे गरेको गाउँ भन्दा अगाडिको गाउँको बाटोमा स्थानीय केटाहरुले हाम्रो समूहका केटी साथीहरुलाई सिठ्ठी बजाए । रिज्वाना (पाँचौं अनुसन्धाता) रिसाई र स्थानीय केटाहरु तिर फर्केर आसामी भाषामा केहि भनि । निक्कुमोनी र जानमोनी (छैठौं र सातौं अनुसन्धाता) ले उसलाई केहि नभन्न आग्रह गरे । लगत्तै रतुलले ती केटाहरुलाई झन् चर्को स्वरमा गाली गर्‍यो । निक्कुमोनी र जानमोनी रतुलसँग पनि कराए । अब भने स्थानीय केटाहरु हामी तिर हेर्दै कराउँदै थिए । हामी अगाडी बढ्यौं ।

फर्केर आउँदाको पहिलो नदी नजिकको डुङ्गा चढ्न खोज्दा हामीले देख्यौं कि ती स्थानीय केटाहरु हाम्रो पीछा गर्दै मोटरसाइकलमा आईरहेका रहेछन् । हामी हतार-हतार डुङ्गा चढ्यौं र माझीलाई छिटो पारी तार्न भन्यौं । यो बेला झमक्क अँध्यारो भईसकेको थियो । हामी नदी पारी पुग्दा स्थानीय केटाहरु बल्ल वारी पुगेका थिए । अर्को डुङ्गा नभएकाले हामी पारी पुगेकै डुङ्गालाई आफू तिर बोलाउँदै थिए र आसामी भाषामा हामीलाई गाली गर्दै थिए । हामी धेरै नै आत्तिएका थियौं ।

यो डुङ्गा हामीलाई उतारेर पारी पुग्न लगभग ५ मिनेट लाग्थ्यो । यसो गर्दा हामी उनीहरु भन्दा कम्तीमा १० मिनेट अगाडि हुन्थ्यौं । तर उनीहरुसँग मोटरसाइकल पनि त थियो !

अब हामी दौडन थाल्यौं । अर्को नदी लगभग ८०० मिटर पर थियो । लगभग ६०० मिटर दौडिएपछि हामी पछाडी देख्यौं कि ती स्थानीय केटाहरु मोटरसाइकललाई डुङ्गामा नदी तरेर फेरी हाम्रो पछि आउँदै रहेछन् । फिल्ममा भिलेनले लखेटेको जस्तै उनीहरुको मोटरसाईकलको हेडलाईट परबाट अँध्यारोमा चमकिरहेको देखिन्थ्यो । ब्याक्ग्राउण्डमा ईन्टेन्स् म्युजिक बजिरहेको जस्तो लाग्थ्यो ।

दोस्रो नदी आईपुग्दा हामीले देख्यौं कि यहाँ त डुङ्गावाला आफ्नो आजको काम सकेर डुङ्गा पारी नै छोडेर गईसकेछ । निस्पट्टै अँध्यारो थियो । डर र त्रास थियो सबैको अनुहारमा ।

दिगन्त (आठौं र अन्तिम अनुसन्धाता) ले पारी पौडेर जाने र डुङ्गा तरेर ल्याउने उपाय लगायो । तर जतिनले दीप (जो गौरवसँग गाडीमा पारीपट्टी थियो) लाई फोन लगायो र पारीबाट डुङ्गा लिएर आउन भन्यो ।

सबै जना डराईरहेको देखेर अवस्था बुझ्न मैले “किन यति धेरै डराउनु पर्छ र ?” भनेर हिन्दीमा सोधें । विपुल (जो गौरवसँग मोटरसाइकल दुर्घटनामा परेको थियो) ले “तँलाई यहाँ काटेर फालीदिए पनि कसैले थाहा पाउँदैन” भन्यो । अघि सम्म अलि कम डराएको म पनि अब पसिना निकाल्न थालें ।

पाँच मिनेट पछि नदी पारी दीप देखियो । डुङ्गा सकि-नसकि हामी भए तिर ल्याउन खोज्दै थियो । तर सायदै कहिल्यै डुङ्गा चलाएको ऊ पानीको बहावसँग जुध्दै थियो । पृष्ठभूमिमा मोटरसाइकलको हेडलाईट नजिकिँदै थियो । ब्याक्ग्राउण्ड म्युजिक झनै ईन्टेन्स् हुँदै थियो ।

धन्न दीपले ती स्थानीय केटाहरुले हामीलाई भेट्नु अगाडि नै डुङ्गा वारी ल्यायो । हामी हावाको गतिमा डुङ्गा चढ्यौं र रवाना भयौं ।

हामी नदीको बीचमा पनि नपुग्दै स्थानीय केटाहरु तीरमा आईपुगे । उनीहरुसँग न त अब डुङ्गा थियो न त हाम्रो तिर आईपुग्ने अरु कुनै उपाय नै !

उनीहरुले हामीलाई “तिमीहरु धन्य बाँच्यौ आज” भन्दै गाली गरे । हाम्रा साथीहरु पनि “हामी आज धन्य बाँच्यौं” भन्न थाले । यतिबेला ब्याक्ग्राउण्ड म्युजिक पनि शान्त बज्दै थियो ।

दुईटा नदीको बीचको बलौटे बाटोमा उनीहरुको मोटरसाईकल फसेर उनीहरु हामी सम्म आइपुग्दा ढिलो भएको हो कि भन्ने अड्कल काट्यो रतुलले । नत्र उनीहरुले हामीलाई दीपले डुङ्गा ल्याउन्जेल भेटिसक्थे भन्ने अनुमान लगायो ।

यो घटनालाई मसला हालेर अलि अलि हाँस्दै, अलि धेरै काम्दै हामीले गौरवलाई सुनायौं । दीप पनि काम्दै थियो । अब हामी गाडीमा सानो कच्ची बाटो अघि बढ्यौं ।

यति बेला सायद बेलुकाको साँढे सात बजेको हुँदो हो ।

डर र भोकले आत्तिएका हामी गौरवको घर पुग्न आतुर थियौं । हाइवे आउने बित्तिकै हामीले दीपलाई गाडी कुदाउन भन्यौं । ऊ पनि भोक र त्रासले आत्तिएको हुँदो हो ।

लगभग २० किलोमिटर जति हाईवेमा गाडि हुँईकाएपछि एउटा पुल आयो । पुल तर्ने बित्तिकै एउटा घुम्ती (sharp turn) थियो । गाडी लगभग १०० किमी प्रति घण्टाको रफ्तारमा थियो होला । दीपले त्यो घुम्ती कटाउन सकेन तर ब्रेक भने हान्न भ्यायो । गाडी सडकबाट दुई मिटर तल झर्‍यो र दश मिटर जति पर हुत्तियो । एउटा टहरामा ठोक्कियो । धन्न पल्टिन चाहिँ पल्टेन । दीप (ड्राईभर) बसेको दायाँ तिरको सीसा छेडेर एउटा बाँसको खम्बा गाडी भित्र छिर्यो । दीपलाई छुन भने छोएन । दीप र गौरव (जो अगाडिको सिटमा बसेको थियो) को हातमा गाडिको फुटेको सीसाको चोट लाग्यो । रिज्वाना र निक्कुमोनीको ढाड मड्कियो । बाँकि अरु ६ जना (म सहित) लाई केहि भएन ।

स्थानीयहरु जम्मा भए । नजिकै पुलिस थानाबाट पुलिस आए । राती ८ बजेदेखि १२ बजेसम्म हामी त्यहिँ पुलिस थानामा कुरा मिलाउँदै बस्यौं ।

पछि पार्थ दा (संस्थाका संयोजक) ले पुलिससँग हामीलाई छोड्न फोनमा आग्रह गरे । पुलिसले दीपलाई छोड्न नमिल्ने बतायो । दीपलाई रतुलले एक्लै नछोड्ने बतायो । उनीहरु दुईजना त्यो रात थाना मै बसे । गौरव र विपुल गौरवको घर गए । गौरवको घरमा हाम्रो खानाले हामीलाई कुरिरहेको थियो । तर मध्यरातमा त्यता जाने कुरा पनि भएन र मन पनि थिएन । बाँकी हामी ६ जना (जतिन, दिगन्त, निक्कुमोनी, जानमोनी, रिज्वाना र म) गोगामुखको डेरामा फर्कियौं । चाऊचाऊ उमालेर खायौं । त्यो रात त्यसै आत्तिंदै बित्यो ।

यो फिल्मी दिन यहिँ सकियो ।

कभर फोटो: उत्सव मादेन (twitter: @utsavmaden)

Comments

3 responses to “फिल्मको क्लाईम्याक्स् जस्तो दिन”

  1. janak Avatar

    Full of thrills..what a day man! good to know that you were already an international research consultant :))

  2. राजेन्द्र सेन्चुरी Avatar

    हैट, झन्डै झन्डै उतै सहिद पो बन्ने वाला रैछउ त साथि, आंगै सिरिंग भो यार ! यस लेखले पाठकहरुका लागि एउटा राम्रो लेसन पस्केको छ !

    1. adhikari.sd@gmail.com Avatar

      धन्यवाद साथी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *