घडीमा बिहानको ठ्याक्कै ७:४५ भएको थियो । आसामको राजधानी गुवाहाटीमा मैले सिलिगुरी तर्फ गुड्न लागेको कामाख्या एक्स्प्रेस् रेल चढें । स्लीपर क्लास् । म बसेको क्याबीन खाली थियो । रेल छुट्न १५ मिनेट बाँकी थियो । लगत्तै एउटा गोरो वर्णको केटा सोहि क्याबीनमा आयो । गोलो अनुहार भएको । फुर्तिलो । कपाल चिल्लो पारेर कोरेको । ऊ मेरो अघिल्तिरको सिटमा बस्यो । म उसलाई हेरेर मुसुक्क हाँसे । उसले मुस्कान फर्काएन । मोबाइल निकालेर चलाउन थाल्यो । म पनि त्यसै गर्न थालें ।
पाँच मिनेट जति पछी सिलिगुरी बस्ने माइलाबाको फोन बज्यो । “ढोग गरें माइलाबा !” भनें । अबको ६ घण्टामा सिलिगुरी रेल स्टेशन झर्ने बताएँ । सिलिगुरी झरे लगत्तै फोन गर्छु भनें । फोन काटे लगत्तै त्यो गोरे केटा मुसुक्क हाँस्दै नेपालीमा बोल्यो । “गोर्खे पो हुनुन्छ ?” म पनि मुस्काएँ । “हजुर !” भनें । तर मनमनै सोचें उसले “नेपाली” किन भनेन, “गोर्खे” किन भन्यो ?
मनिपुरको केटा रहेछ । मैले कहिले नेपालबाट मनिपुर आएको भनेर सोधिनँ । त्यो अपमानजनक हुन्छ जस्तो लाग्यो । उसले “नेपाली” भन्ने शब्द प्रयोग गरेको भए सोध्थें सायद । उसले “गोर्खे” भनेको थियो । यसो भन्नुको राजनीतिक माने थियो । यो पहिचानको र राष्ट्रियताको विषय थियो । उसले मेरो बारेमा थुप्रै सोध्न भ्यायो । म आसाम कै नर्थ लखिम्पुर जिल्लामा काम गर्दै थिएँ । छुट्टीमा नेपाल हिँडेको । एक रात माइलाबाको सिलिगुरीको घरमा बस्नलाई गुवाहाटीबाट रेल पक्डेको । लगभग एक घण्टा जति रेल चढेपछि त्यो मनिपुरे “गोर्खे” झर्यो । उसको “बिजनेस” थियो अरे त्यहाँ ।
मैले आसाममा सामाजिक अध्ययन (social research) का क्रममा थुप्रै यस्ता “गोर्खे” हरु भेटें । थुप्रै “नेपाली” हरु पनि भेटें । थुप्रै “आसामी नेपाली” हरु पनि भेटें । म विशुद्धरुपमा कुनै “जाती” विशेषलाई खोज्दै हिंडेको थिइनँ । आसामको गाउँमा जो भेटिन्छन् उनीहरुसँग बाढीका बारेमा सोध्ने प्रश्नावली थियो मसँग । म काम गर्ने संस्थाले सोध्न खटाएका प्रश्नहरु । आसामका थुप्रै क्षेत्रहरु बाढीको उच्च जोखिममा पर्छन् । आसामीहरुसँग कुरा गर्दा म हिन्दी भाषामा कुरा गर्थें । आसामी भाषामा मलाई आफ्नो नाम (मुर णाँम् सञ्जय होई) भन्न र आफू नेपालबाट आएको (मोई नेपालोर परा आहिसु) भन्न मात्रै आउँथ्यो । यो भन्दा बढी बोल्न परे म हिन्दीको सहारा लिन्थें । एकपल्ट एउटा पसलमा पुरै आसामीमा बोलेर एक पाकेट म्यागी चाऊचाऊ र एक बट्टा सलाई किनेर ल्याएको थिएँ । त्यो बेलामा के भनेर चाऊचाऊ र सलाई किनेथें अहिले याद छैन ।
आसाम पुगेको सुरु-सुरुमा कसैले आफ्नो जाती “गोर्खा” भनेर चिनाएपछि म “ए तपाइँ पनि नेपाली पो !” भन्थें । मैले यसो भन्दा कतिले कसैले “हजुर !” भन्थे । कोहि केहि पनि उत्तर दिंदैनथे । कतिले सुरुमै “नेपाली हुँ” वा “आसामी नेपाली हुँ” भन्थे । म नेपाली भएको थाहा पाए पछि “गोर्खा” वा “नेपाली” वा “आसामी नेपाली” भनेर चिनिनेहरु खुलेर बोल्थे । चिनापर्ची पछि उनीहरुसँग नेपाली भाषामै कुरा सुरु हुन्थ्यो ।
एकपल्ट एकजना ६० बर्ष जतिका मानिसले आफू नेपाली नरहेको र आफूलाई “गोर्खा” भनेर चिनाउन चाहेपछि म हच्केको थिएँ । त्यपछि कसैलाई पनि “तपाइँ नेपाली हो ?” भनेर सोधिनँ । त्यो कामाख्या एक्स्प्रेस् रेलमा भेटेको मनिपुरे “गोर्खा” लाई उसको आप्रवासनको इतिहास (migration history) नसोधेको पनि यहि कारण हो ।
मैले उनीहरुको “जाती” नसोधे पनि आफू नेपालबाट आएको कुरा भने खुलेर भन्थें । यसो गर्दा आसामीहरु खुशी हुन्थे । मैले भेटेका थुप्रै आसामीहरु अन्य थुप्रै भारतीयहरु जस्तै “नेपाल” भनेको भारतकै कुनै जिल्ला वा राज्य हो भन्ने सोच्थे/सोच्छन् । जहाँबाट आएको भए पनि मैले आसामीहरुको खुबै माया पाएँ । एउटा गाउँका ९० कटिसकेका बुढाले त भुइँमा ढोगेरै नमस्ते गरे । म चकित परें ।
मैले भेटेका मध्ये बुढाबुढी आसामीहरुले “नेपालीहरुले हामीलाई गाई पाल्न र दूध दुहुन सिकाएका हुन्” भन्थे । हुन त २०४२ सालमा आसाममा जातीय दङ्गा भड्किएपछि थुप्रै नेपालीहरु (र अन्य गैर आसामाीहरु पनि) भारतको नर्थ-इष्ट छोडेर नेपाल वा भारतकै अन्य प्रदेश र जिल्लाहरुमा शरण लिन पुगेका थिए । उनीहरुलाई यसरी लखेट्नेमा थुप्रै आप्रवासन विरोधी र नश्लवादी आसामीहरु थिए । मेरो साहिली फूपुको परिवार पनि आसामबाट लखेटिएर नेपाल फर्किएको थियो । उहाँका दर्जनौं गाईहरु, गोठ र घर जलाईएका थिए रे ! धन सम्पत्ती सबै जलेर नष्ट भएको थियो रे !
आसामको नर्थ लखिम्पुर जिल्लाको गोगामुख भन्ने सानो सहरमा बस्दा मलाई नेपालमै भएको जस्तो लाग्थ्यो । वरीपरीका मान्छेहरु उस्तै देखिन्थे । उनीहरुको लवाईखवाई उस्तै थियो । वातावरण र विकासका पूर्वाधार तराईको कुनै सानो सहरको जस्तै थियो । म मनमनै सोच्थें “यो ठाऊँमा कुुनै नेपालीलाई ल्याएर छोडिदियो भने उसले यो नेपाल होइन भनेर किटेर भन्नै सक्दैन । साईनबोर्डको लिपी र गाडीहरुको नम्बर प्लेट हेरे पछि बल्ले भेऊ पाउला ।”
आसाममा कुन्ती मोक्तान र प्रशान्त तामाङ्ग खुबै चर्चित थिए । एकपल्ट नर्थ लखिम्पुरको लिलाबारी एयरपोर्ट अगाडिको साइबरमा फोटो प्रिन्ट गर्न छिर्दा पृष्ठभूमिमा प्रशान्त तामाङ्गले रिमेक गाएको “असारे महिना…” बज्दै थियो । नेपाली बोल्न नजान्ने साइबरवालाले नेपाली समुदायलाई मात्र मन पर्ने गीत बजाएको थिएन । २००७ को इण्डियन आइडलमा आफूले पनि भोट हालेर जिताएको प्रशान्त तामाङ्गको गीत सुन्दै थियो । उसलाई शब्दसँग मतलब थिएन । गीतको भाव र सङ्गीतसँग मतलब थियो ।
पुस लागीसकेको थियो । तर ढिलै भएपनि गोगामुखमा दशैं-तिहार महोत्सवको आयोजना हुँदै थियो । गोगामुख हाई स्कुलको बडेमानको चौरमा दुई-दिने मेला लागेको थियो । गोगामुख वरपरका पाँच हजार भन्दा बढी नेपालीहरु जम्माहुने र बेलुका द्यौसी-भैलो कार्यक्रमको आयोजना हुनेवाला थियो । मुख्य आकर्षण थियो कुन्ती मोक्तानको कन्सर्ट ।
महोत्सवमा थुप्रै स्टलहरु राखिएका थिए । खानाका, लत्ता-कपडाका, भाडाकुँडाका, सजाउने वस्तुका । कुनाको एउटा स्टलमा एउटा वृद्धले कालो भादगाउँले टोपी बेच्दै थिए । एउटा टोपीको भारु १२५ । नेपाल छोडेको धेरै महिना भईसकेको थियो । नेपालको भन्दा पनि घरपरिवारको नियास्रो लागीरहेको थियो । देशप्रेम र “नेपाली हुँ” भन्ने (राष्ट्रियता) देखाउन त्यो “नेपाली टोपी” किन्न लागेको थिएँ ।
नेपाली टोपीलाई कोष्ठकमा किन राखें भनेर सोच्दै हुनुहुन्छ भने नेपालीको पहिचान बहुआयामिक छ र त्यो एउटा टोपीले समेट्न सक्दैन बरु त्यसले विभेदको सिर्जना गर्छ भन्ने मेरो अहिलेको बुझाई हो । त्यो बेला त्यस्तो सोच पलाईसकेको थिएन । भारतमा चार महिना बस्दा पहिचानको खडेरी (identity crisis) परिरहेका बेला टोपी लगाउँदा मेरो राष्ट्रिय पहिचान खुल्ने सोचेको थिएँ । त्यो बेला मेरो राष्ट्रियता यो टोपीमा अड्केको थियो । टोपीले नै मेरो राष्ट्रियता बचाउने वाला थियो । म यस्तै सोच्थें ।
म मेरो पहिलो टोपी किन्न त जाँदै थिएँ तर रमाइलो कुरो के थियो भने यो टोपी म भारतीय भूमीमा भारतीय पैसाले किन्न गईरहेको थिएँ । (So much for national identity!) टोपी स्टलका बाजेले खुकुरीको ब्याज (badge) पनि लग्न भने । पच्चीस भारु थप्न लगाए । मेरो राष्ट्रियता, मेरो राष्ट्रिय पहिचान मैले भारु १५० मा किनें । धत्तेरी !
आसामका “नेपाली” वा “गोर्खा” हरुलाई नेपाली भाषा, संस्कृति र सङगीतले नेपाल देशसँग जोडेपनि पहिचानको कुरा अरु धेरै कोणहरुमा गएर ठोक्किन्थ्यो । कति कोणहरु समनान्तर रेखा बनेर निस्कन्थे भने थुप्रै पहिचानका मुद्दाहरु एक आपसमा बाझिन्थे । जस्तै आसामका नेपालीहरु आसामी पनि हुन् । नेपाली पनि हुन् । उनीहरुले आफूलाई गोर्खा “जाती” भनेर चिनाउन चाहन्छन् । उनीहरु थुप्रै हिन्दु हुन् । आसामी पनि बोल्छन् नेपाली पनि बोल्छन् । जातभात पनि मान्छन् । कोहि बाहुन छन् कोहि दलित । कोहि महिला, कोहि पुरुष, कोहि यी दुईटा लैङ्गिक भिन्नतामा नपर्नेहरु । एउटै मान्छेको धेरै पहिचान हुन्छ । यो आसाममा मात्रै होइन नेपालमा पनि हुन्छ । संसार भरी हुन्छ । एउटै व्यक्तिले बहुपहिचान बोकेको हुन्छ ।
पहिचानको मुद्दासँग आफ्नो र पराई भन्ने द्वैदता प्रष्ट देखिन्छ । कसैले “म नेपाली” भन्यो भने अरुलाई “तिमी नेपाली होइनौ” भनेको हुन सक्छ । आसाममा “गोर्खा जाती” को पहिचान बोकेका मानिसहरुले आफूलाई नेपाली भनेर चिनाउन चाहेका छैनन् । आसाममा आप्रवासन (बसाइँ-सराइ) को मुद्दा निकै नै संवेदनशील मुद्दा हो । आफूलाई “नेपाली” भनेर चिनाउनु भनेको आफू नयाँ आप्रवासी रहेको बुझिन सक्थ्यो । आफूलाई “गोर्खा” भन्नुको मतलब ब्रिटिश र भारतीय सेनामा आफ्नो वीरता प्रस्तुत गरेका देशभक्तीको पहिचान बोकेका मानिस हुन पुग्थे । केहिले मुख्यता भारतको नर्थ इष्ट तिरका मानिसहरु माथी “नेपाली” ठानेर हुने नश्लीय गालीगलौज र जातीय भेदभावका कारण आफूलाई गोर्खा भनेका होलान् । अन्य केहिले भने नेपाल देशको “नेपाली” भन्दा आफ्नो पहिचान भिन्न बनाउनका लागी यसो गरेका होलान् । उनीहरुको पहिचान उनीहरुको राष्ट्रियतामा गएर ठोक्किन्छ । “म गोर्खा हुँ” भन्नुको अर्थ “म नेपाली होइन” वा “म नेपालबाट आएको होइन” भन्ने निष्कर्षमा पुग्छ ।
यो पहिचान बाझिने कुरा मैले छुट्टी सक्काएर नेपालबाट आसाम फर्कने बेला याद गरें । काकडभित्ताको एउटा होटलमा माइलाबाले सम्पर्क गराइदिनु भएको थियो । त्यो होटलवालाले भारत जाने नेपालीहरुलाई काकडभित्ताबाट सिलिगुरी बस वा रेल स्टेशन सम्म लगेर छोडिदिने व्यवस्था मिलाईदिन्थे । त्यस्तै भारतबाट नेपाल छिर्नेहरुलाई पनि आफ्नो गन्तव्यमा पुग्न मद्दत गर्थे । म काकडभित्ताबाट आसाम हिंडडुल नगरेको भएर माईलाबाले यो होटलको सहारा लिन अह्राएका थिए ।
एकाबिहानै मकालु यातायातको नाइट बसले काकडभित्ता बसपार्कमा झारिदियो । सिधै होटल तर्फ गएँ । ठूला-ठूला झोला बोकेका थुप्रै यात्रीहरु पालो पर्खेर बसेका थिए । कोहि म जस्तै भारत हिँडेका । कोहि भारतबाट भर्खरै नेपाल पसेका । होटल साहुजीलाई सिलिगुरी रेल स्टेशन सम्म पुग्ने गाडी मिलाइदिन भनें । साहुजीले फोनमा कुरा गरे र अब ३ वटा सिट भरिएपछि गाडी लिन आउने बताए । एउटा खाली कुर्सीमा गएर बसें । छेऊमा मैलो ढाका टोपी, गलबन्दी, सर्ट-प्यान्ट र हाफ स्वेटर लगाएका एकजना बाबै थिए । बाबैको अनुहार निरास थियो । पाँच-छ दिनदेखि दाह्री फालेका थिएनन् । उमेर अति धेरै नभए पनि अनुहारमा थुप्रै चाउरी परेका थिए । कैला आँखा थिए केहि खोजिरहे जस्ता । मैले गफ सुरु गरें ।
बाबै गुवाहाटी भन्दा केहि बाहिर गाई पालेर बस्ने रहेछन् । बुटवलमा बहिनीको घरमा आएका । त्यहाँ ४ दिन बसेर आसाम फर्कन थालेका । उनको काम गुवाहाटीमा दूध बेच्ने थियो । चार छोरीहरु मध्ये दुईटीको बिहे भईसकेको थियो । एउटीले कलेज सकाउन लागेकी थिइन् । अर्कीले भर्खरै कलेज सुरु गरेकी थिइन् । छोरा स्कूल पढ्दै थियो । श्रीमति र उनी दिनभरी गाईहरुको रेखदेख गर्थे । पन्ध्रवटा गाई थिए उनका । श्रीमतिलाई एक्लै काम समहाल्न गाह्रो भयो होला भनेर चिन्तित थिए ।
होटलमा जीप आएपछि हामी १० जना मिलेर बस्यौं । बाबै र म सँगै बस्यौं । जीप भारत प्रवेश गरेपछि सीमा-सुरक्षामा खटिएका सैनिकहरुले कागजपत्र हेरेर जान दिए । रेल स्टेशनमा जीप रोकियो । गाडीवालालाई हामी प्रत्येकले १५० भारु दियौं ।
मैले रेलको टिकट काटेको थिइनँ । “गुवाहाटी सम्म सँगै जानुपर्छ” भन्दै बाबैले आफ्नो र मेरो टिकट काटे । हामी कामाख्या-पुरी एक्स्प्रेसको स्लिपर क्लास भित्र छिर्यौं । सिटमा बसे लगत्तै बाबैले आफ्नो टाउकोमा रहेको टोपी निकाले । आफूसँगै रहेको एउटा सानो झोलामा हाले । कपाल मिलाए ।
मैले केहि सोधिनँ तर सोच्न थालें ।
टोपी खोल्नुको थुप्रै अर्थ हुन सक्थ्यो । के बाबैलाई चिन्ता थियो आफू नेपाली हो भन्ने अरुले थाहा पाए केहि हुने ? बाबैले रेलमा बसेपछि मात्रै टोपी किन खोले, भारत छिर्ने बित्तिकै किन निकालेनन् ? के बाबैको नेपालीत्व टोपी खोल्ने बित्तिकै सकियो वा कम भयो ? के टोपी लगाउनाले कोहि नेपाली हुने नलगाउनाले नहुने हुन्छ ? मैले त अघिदेखि टोपी लगाएको थिइनँ । के अब हामी उत्तिकै नेपाली भयौं ? के अघिसम्म बाबै म भन्दा बढी नेपाली थिए ? बाबैको राष्ट्रियता टोपीमा अड्केको त थिएन । के त्यसो भए अरु कसैको राष्ट्रियता टोपीमा नाप्न सकिन्छ ? टोपी नलगाउँदा नेपाली भइँदैन ?
बाबैले खोलेको टोपी गुवाहाटीमा रेलबाट झरेपछि पनि लगाएनन् । उनी स्टेशन बाहिरबाट बिदा भए । म गोगामुख तर्फ लागें । म बाटोमा सोच्दै गएँ ।
मैले भारतमा किनेर टोपी लगाएर नेपाली पहिचान बनाएँ भन्ने सोचेको त बाबैले टोपी खोले सँगै मेरो राष्ट्रियताको पहिचान डगमगायो । गोगामुख पुग्दासम्म म यो निष्कर्षमा पुगें कि राष्ट्रप्रेम त टोपीमा अड्किने होइन रहेछ । यो त मनमा गडेको हुँदो रहेछ । र यसको गडाई पनि भिन्न-भिन्न रुपमा हुने रहेछ । कसैलाई “नेपाली” को पहिचान जरुरी छैन भने उसले त्यो पहिचान बोक्नै पर्छ भन्ने हुँदैन । कोहि “गोर्खा”, कोहि “आसामी नेपाली”, कोहि “एन आर एन”, अनि कोहि “आर्थर गन” ! आफ्नै डम्फु आफ्नै ताल । सय थरी बाजा, सय थरी चाल ।
Leave a Reply