खुमलटारदेखि लगनखेल, झम्सीखेल, सानेपा, कालीमाटी, कलंकी हुँदै साइकल चलाउँदै स्यूचाटार पुग्दा झमक्क साँझ परिसकेको थियो । पुसको महिना थियो । बाहिर अति जाडो भएपनि म पसिनाले निथुक्कै भिजेको थिएँ ।
मेरो ट्रेक (Trek) कम्पनीको ९७० को सिङ्गल ट्रयाक मोडल साइकल छ । सन् १९९१ मा निर्मित साइकल मैले क्षेत्रपाटीको साइकल पसलमा सन् २०११ मा बीस हजार रुपिंयामा सेकेण्ड ह्याण्ड किनेको हुँ ।
त्यहि साइकलको मधुरो हेडलाइट बाल्दै स्यूचाटारको उकालोमा पसिनाले भिजेर सकी-नसकी म प्याडल पेल्दै थिएँ । बाटामा गफ चुट्दै गरेको चार जना मानिसको झुण्डमा मेरा छिमेकी देखिए र भने: “हेर ! आफ्ना उमेरका सबैले (मोटर) बाइक चलाउन थालिसके । यसरी पसिनै-पसिना भएर साइकल चलाएर ! खुरुक्क बुलेट (मोटरबाइक) नकिनेर !”
मेरा छिमेकीले मेरो साइकल र मेरो साइकलमा दिनहुँ आवतजावत गर्ने बानीलाई धेरै तरिकाबाट होच्याए । उनले सवारी साधनलाई सिधै वर्ग (class) सँग लगेर पनि जोडिदिए । नेपाली समाजको आम धारणा यहि हो । पहिले-पहिले सक्नेले साइकल चलाउँथे । साइकल हुनु भनेको पुगीसरी आएकाको बिलासिता थियो । सामान्य नेपाली पैदल हिंड्थे । अचेल मोटरसाइकल वा स्कुटर किन्न नसक्नेले साइकल किन्छन् भन्ने बुझाई छ । मैले पैसा हुँदा पनि मोटरसाइकल नचढेर पसिना काढ्दै साइकल चलाएको देखेर मेरा छिमेकी छक्क परेका होलान् ।
एकदिन चिया खाँदै गर्दा एकजना साथीले “मलाई त हिंड्न ठिक लाग्छ । वातावरणलाई पनि फाइदा पुग्छ ।” भन्दा एउटी अर्की साथीले भनेकी थिई, “त्यसो गर्न त तिम्रो स्रोत-साधन (resources) ले दिन्छ । कति मान्छेलाई कहिले घर पुगौं र त्यहाँको चटारो सकाऔं भएको हुन्छ । उनीहरुले हिंड्न त अफोर्ड (afford: चाहेर पनि नसक्नु) नै गर्न सक्दैनन् नि !”
म उसको कुराले घोत्लिएँ । मैले चलाउने साइकल पनि वर्गीय प्रश्नमा आएर अड्कन्थ्यो । मेरा छिमेकीको बुझाई पनि शत प्रतिशत गलत त थिएन ।
मैले सन् २०११ देखि २०१८ सम्म दैनिक सालाखाला २० किलोमिटरका दरले कहिले स्यूचाटार-बत्तिसपुतली-स्यूचाटार त कहिले स्यूचाटार-खुमल्टार-स्यूचाटार आवतजावत गरें । सन् २०११ मा डाक्टर प्रल्हाद योञ्जनलाई साइकल चलाउँदै गर्दा ट्रकले हानेर मारेको बल्खुको बाटोबाट जिऊ सिरिङ्ग पार्दै म साइकल चलाउँथे । धुलाम्मे काठमाडौंका डरलाग्दा सडकहरुमा म रहरले साइकल चलाउँथे । यहि सडकमा थुप्रै यस्ता भेटिन्छन् जो बाध्यताले साइकल चलाउँछन् ।
तपाइँले केहि दिन पहिले सामाजिक सञ्जालमा एउटा फोटो देख्नुभयो होला । त्यहाँ एकजना माउन्टेन बाईकमा सवार थिए र अर्का सामान्य “बुढो” साइकलमा । फोटोको क्यापसन थियो “कोहि पेट घटाउन साइकल चलाउँछन्, कोहि पेट पाल्न ।”
यो लेखमा म दुई उस्तै देखिने तर भिन्न आयामहरुलाई साइकल चलाउनुसँग जोड्न जाँदै छु । पहिलो, मेरो छिमेकीले भने जस्तो । साइकल चलाउनु भनेको निम्न वर्गले गर्ने काम हो भन्ने सोचले समाजमा यसको दुरुत्साहन हुनु । र दोस्रो, मेरो साथीले भने जस्तो । साइकल चलाउनु भित्रै पनि वर्गीय आयाम हुनु । यसमा महँगा साइकल (माउन्टेन बाइक, mountain bike) चलाउने र सामान्य (“बुढो”) साइकल चलाउनेहरु बीचमा ठूलो सामाजिक र सँस्कृतिक खाडल छ ।
साइकल प्रतिको सामाजिक सोच
नेपालको सहरी समाज आर्थिक रुपमा यति छिटो बदलियो कि पञ्चायतकाल सकिएर प्रजातन्त्र आउँदा सम्म पनि साइकलले दिईरहेको सामाजिक प्रतिष्ठा मोटरसाइकलमा र त्यसबाट कारमा सर्यो । छिट्टै कुन कम्पनीको, कुन मोडलको, कति पर्ने कार भन्ने हिसाबमा मानिसहरुको वर्ग निर्धारण गर्ने दिन पनि आउला । अहिले सामान्यतया सम्भ्रान्त हुनु भनेको कार चलाउनु हो । कुन मोडलको कति पर्ने कार भन्ने प्रश्न अहिले तिखारिएर आउँदैछ । मध्यम वर्गीय नेपाली परिवारमा कुन कम्पनीको, कुन मोडलको कति पर्ने मोटरसाइकल वा स्कुटर भन्नेमा ठूलो वादविवाद हुन्छ अचेल । यस्तो अझै केहि समय होला ।
एसईई वा प्लस् टु सकिने बित्तिकै मोटरसाइकल र स्कुटरको “डिमाण्ड” गर्न थाल्छन् केटाकेटीहरु । साइकल किनिदिनु भनेर त चार वर्षे बच्चाले मात्र भन्दा होलान् अचेल । मैले नै साइकल किन्छु भन्दा पनि मेरा बा-आमा तीन छक परेका थिए । साइकल चलाउने हुँदा म पसिना-पसिना भएर मामाघर पुगेको देखेर यसले किन मोटरसाइकल चढ्दैन भन्दै थुप्रै आफन्ती छक पर्थे । अलि-अलि चेत भएकाहरु “म पनि साइकल चलाउन थाल्छु भनेको खोई के मिलेन, मिलेन !” भन्थे । तर साइकल नै चलाउने आँट भने कसैले गरिहालेन ।
सहरको सामाजिक तह (social ladder) नै यसरी बनेको छ कि हामीले सबैलाई कुनै न कुनै तप्कामा विभाजित गर्छौं । यसमा वर्गीय सोच निकै हावी छ । सामान्यतया पैदल यात्रुलाई वा सार्वजनिक यातायातमा आवतजावत गर्नेहरुलाई निम्न वा निम्न-मध्यम वर्गमा राखेर हेरिन्छ । साइकल चालक सो भन्दा माथि पर्छन् । सो भन्दा माथि मोटरसाइकल र स्कुटर वाला । कार चालक सबैभन्दा माथि । मोटामोटीरुपमा हेर्दा नेपाली सहरी समाज यसरी चार भागमा वर्गीकरण हुने रहेछ । तर यसमा एउटा थप यस्तो तह पनि छ जसले माउन्टेन बाईक चलाउने मानिस जो दैनिक आवतजावतको लागी हैन पर्यटकीय ध्येयले साइकल चलाउँछ वा हप्ताको निश्चित दिन निश्चित स्थानको चक्कर लगाउन आफ्नो माउन्टेन बाईक निकाल्छ । यो तहका मानिसहरुले आफ्नो दैनिक आवतजावतका लागी साइकलको प्रयोग गर्दैनन् । कार वा मोटरसाइकल वा स्कुटर नै प्रयोग गर्छन् । वर्गीय दृष्टिकोणले यी सामान्य साइकल चलाउने र पैदल हिंड्ने भन्दा माथी नै पर्छन् ।
साइकल भित्रको सामाजशास्त्र
साइकलकै रुपरङ हेरेर पनि नेपाली सहरी समाजमा वर्गीकरण गर्ने गरेको पाइन्छ । हेलमेट, मास्क, पञ्जा र चस्मा लगाएर लगाएर सुरु-सुरुमा साइकल चलाउँदा थुप्रै काठमाडौंवासीहरुले मलाई विदेशी ठानेर सडकबाट “हेल्लो ! हेल्लो !” भन्थे । त्यो बेला काठमाडौंमा अति कम मान्छेहरुले माउन्टेन बाईक चलाउँथे । सन् २०१५ को नाकाबन्दी र अहिलेको कोरोनाकहर पछि साइकल चलाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । अचेल महँगा साइकल चढेर काँठ तिर साइकल कुदाउँदै गरेका थुप्रै यस्ता मान्छे भेटिन्छन् । सडकमा “हेल्लो” पनि कसैले भन्दैन ।
नेपाली समाज मात्र नभएर नेपाली साइक्लिङ (cycling) क्षेत्र नै वर्गीय सोचबाट हावी छ । गन्यो भने काठमाडौं मै माउन्टेन बाइक चलाउनेहरु भन्दा दर्जनौ गुणा धेरै मानिसहरु “बुढो” साइकल चलाउँछन् होला । साइकल चलाउन सजिलो समथर तराई-मधेस यसमा जोडियो भने “बुढो” साइकलले सङ्ख्यातमक रुमा कता हो कता माउन्टेन बाइकलाई जित्छ । तर सडकमा “बुढो” साइकल चलाउने थुप्रै मान्छेहरु न त साइकल प्रेमी (cycling enthusiast) को आँखामा खासै पर्छन् न त उनीहरुले गो ग्रीन (Go Green) भन्दै नारावाजी गर्छन् । उनीहरुका लागी साइकल चलाउनु रहर कम बाध्यता बढी हो । यो बाध्यता चिर्न सायद उनीहरु मोटरसाइकल वा स्कुटर किन्न पैसा जम्मा गर्दै होलान् । वा उनीहरुको दैनिक आम्दानी नै पेट पाल्दै सकिएला । बचत त परको कुरा !
नेपालमा साइकल र साइक्लिङ रोमान्टिसाईज् हुन पुगेको छ । यसलाई ग्ल्यामराइज् गरिएको छ । यसमा साहसिक पर्यटन (extreme adventure tourism) मन पराउनेहरुको ठूलो योगदान छ । माउन्टेन बाईक पसलहरुमा अति चर्को मूल्यमा साइकल र यसका पाटपूर्जा बेच्ने गरिन्छ । यसले “बुढो” साइकल चलाउने वर्ग र माउन्टेन बाइक चलाउने वर्ग बीच खाडलको सिर्जना गरिदिएको छ । नेपालमा साइकल चलाउने संस्कृति त माउन्टेन बाईक वालाहरुले नै सुरु गरेको जस्तो गर्नेहरु पनि थुप्रै छन् । उनीहरुको आँखामा “बुढो’ साइकल चलाउनेहरु सामान्यतया पर्दैनन् । उनीहरु अदृश्य हुन पुग्छन् ।
एकपल्ट एउटा “बुढो” साइकल चलाउने केटाले मलाई कालिमाटीबाट “च्यालेन्ज” दिएको थियो । कलंकी पुग्दासम्म पनि मेरो साइकलमा उसलाई भेट्टाउन सकिनँ । “बुढो” साइकल निश्सन्देह तगडा कुद्छ । तर यसमा कसैले ग्ल्यामर थपेको छैन । यसलाई सामान्य निम्न वर्गीय मानिसको सवारी भनेर चिनिन्छ । अनि मेरा छिमेकीले जस्तै हेपिन्छ ।
केहि अवधारणा
नेपाली साइक्लिङ (cycling) क्षेत्रले नेपालमा साँच्चैको साइकलको भविष्य खोज्ने हो भने चार मुख्य क्षेत्रमा काम गर्नु पर्ने देखिन्छ । अन्य थुप्रै मुद्दाहरु होलान् । यी चार मेरो निजी अनुभवका कुरा हुन् ।
१. दैनिक आवतजावतको लागी साइकल प्रयोग गर्ने । माउन्टेन बाईकलाई शनिबार वा बिदाको दिन घुम्न जाने माध्यमको रुपमा मात्र प्रयोग नगरेर दैनिक आवतजावतको माध्यमका रुपमा पनि प्रयोग गर्न सके यसको लोकप्रियतामा बढावा आउनेछ । सङ्ख्यात्मक रुपमा साइकल प्रयोगकर्ताहरु बढेमा यो यातायातको साधनको रुपमा मूलधारमा स्थापित हुन सक्छ ।
२. साइकल मैत्री पूर्वाधारको लागी लविइङ गर्ने । यसमा साइकल लेन मात्रै नभएर साइकल चलाउँदा सहयोगी हुने अरु थुप्रै पूर्वाधारहरु पर्छन् । जस्तो सडक बत्तीहरुको उपलब्धताले साइकल चलाउन धेेरै सहयोग गर्छ । साइकल लेन र यसको पूर्ण पालना हुँदा साइकल चलाउन सुरक्षित हुन जान्छ । साइकलयात्री सुरक्षाका उपकरणहरु जस्तै हेलमेट, पञ्जा, मास्क इत्यादिको सहज र कम मूल्यमा उपलब्धता हुँदा पनि मानिसहरु साइकल चलाउनमा आकर्षित हुन सक्छन् ।
३. साइकल चलाउन समुदायमा प्रोत्साहन गर्ने र साइकलको वर्गीय स्वरुपलाई चिर्ने । साइकलमा काठमाडौंको कुनै पनि कुनाबाट अर्को कुनामा पुग्न लगभग एक घण्टा लाग्ला । सार्वजनिक सवारी साधनमा शनिबार बाहेक त्यो भन्दा धेरै समय लाग्छ । देशमा सार्वजनिक सवारी साधनको सहज उपलब्धतामा सबैले जोड दिनु जरुरी छ । साइकल वा अन्य सवारी चलाउन नसक्नेले मात्र होइन आम जनसमुदायले सुरक्षित आवतजावतको लागी सार्वजनिक सवारीसाधनमा जोड दिनु पर्छ । तर त्यसको लागी समय लाग्छ । साइकल चलाउन थाल्दा ठेलमठेल सार्वजनिक सवारीको सास्ती खेप्नु पर्दैन । मैले दिनहुँ साइकल चलाउँदा सोच्थें: “मैले बस नचढ्दा कोहि एकजनालाई भए पनि सजिलो भयो होला आफ्नो गन्तव्यमा पुग्न ।” साइकल प्रोत्साहनमा सरकार र अन्य सरोकारवाला पनि लाग्नु जरुरी छ ।
४. साइकल चालकहरु बीचको खाडल पुर्ने । साइकल चालकहरुलाई हेप्ने चलन भत्काउन जति जरुरी छ “बुढो” साइकल चालकहरुलाई हेप्ने तर हेल्मेट लगाएर माउन्टेन बाइक चलाउनेहरु रोमान्टिसाइज गर्ने सोच भत्काउनु जरुरी छ । साइकल प्रेमी (cycle enthusiasts) वा साइकलयात्रीहरुले “कम” मूल्यमा पाइने “बुढो” साइकल प्रयोग गर्दा पनि वर्गीय सोच कम हुन सक्ला । माउन्टेन बाइक चढ्न थुप्रै मानिसहरु साहसिक पर्यटन (extreme adventure) का लागी पनि साइकल चलाउनु हुन्छ । यसो गर्न “बुढो” साइकलले सम्भव हुँदैन । तर माउन्टेन बाइक चलाउनेहरुको र “बुढो” साइकल चलाउनेहरुको संवाद हुनु आवश्यक छ । हाल यो पटक्कै भएको देखिंदैन । यी दुवै तप्काले सरकार र सरोकारवालाहरुसँग वार्गेनिङ् गर्न आवश्यक छ ।
फोटो: हरिस्वर https://www.flickr.com/photos/harishwar8/32993107041/
Leave a Reply