नश्लवाद (रेसिजम्) को शिकार

२०७७ बैशाख ३० | 12 May 2020

“तिमीलाई रोमा हो भन्ठान्छन् । खासै रेसिजम् त भोग्नु पर्दैन होला तिमीले ।” सम्प्रितीले म हङ्गेरी जानु अघि मेरो अनुहार हेर्दै भनेकी थिई ।

“मैले त साइकल चलाईरहेको बेला एउटा केटा मेरो साइकलको अगाडि आएर एक्कासी उभियो । मेरो साइकल झण्डै लडेको थियो । मलाई चाईनिज भन्ठानेर ‘नि हाओ !’ भन्दै ठूलो स्वरमा हाँस्यो । मेरो सात्तो उड्यो ।” उसले थपेकी थिई ।

म हङ्गेरी जानु अघि सम्प्रिती त्यहाँ पढाई सकेर नेपाल फर्किसकेकी थिई । हङ्गेरीमा भिक्टर ओर्वान प्रधानमन्त्रीको रुपमा आएपछि संसार भरी जस्तै दक्षिणपन्थी, अनुदारवादी र पुरातनवादी (कन्जरभेटिभ) सोच हावी हुँदै गईरहेको थियो । युरोपमा बढ्दै गईरहेको आप्रवासन सम्बन्धी नकारात्मक सोचले पनि दक्षिणपन्थ हावी हुने क्रम बढ्दै थियो ।

यस्तैमा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुनु भन्दा दुई महिना जति अगाडि म हङ्गेरीको राजधानी सहर बुडापेस्ट पुगेको थिए ।

कक्षा औपचारिक रुपमा सुरु हुने अघिल्लो दिन नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना हुँदै थियो । होस्टलबाट सेन्ट बजिलीका (स्थानीय चर्च) हुँदै सेन्ट्रल युरोपियन युनिभर्सिटी तर्फ जाँदै थिएँ । म भन्दा पाँच मिटर जति अगाडी दुईटा केटाहरु हिँड्दै थिए । उनीहरु पर्यटक हुन् भन्ने अनुमान गर्दै थिएँ म । बजिलीका पर्यटकीय दृष्टिकोणले एकदमै चर्चित ठाउँ हो ।

यी दुई केटाहरु मध्ये एउटाले लामो दाह्री पालेको थियो र इस्लामिक टोपी र कुर्ता सुरुवाल लगाएको थियो । अर्को भने टिसर्ट र जिन्स् प्यान्टमा थियो । उसको भने दाह्री छोटा थिए, एक हप्ता जति दाह्री नफालेको जस्तो । पहिलो मुश्लिम (visibly Muslim) केटालाई विपरीत तर्फबाट आईरहेका चारजना गोरा केटाहरु मध्ये एउटाले धार्मिक अपशब्द प्रयोग गर्‍यो । चारैजना ठूलै काम फत्ते गरें जसरी हाँसे । अनि बेलायती लवज (British accent) मा गफ गर्दै अगाडि बढे । यी केटाहरुले आफू पर्यटक हुँदा-हुँदै पनि अरुलाई नश्लीय गाली गर्न सक्ने हिम्मत राखेको देखेर म छक्क परें । यो घटनालाई यी चार जना गोरा केटाहरु, वरीपरीका अन्य मानिसहरु र ती दुई केटाहरुले सामान्य रुपमा लिए वा लिए जस्तो देखिए ।

स्वागत कार्यक्रममा त त्यो मुस्लिम केटा पनि उपस्थित रहेछ । ऊ पनि म जस्तै राजनीति शास्त्र विभाग मै रहेछ । उसको नाम फर्कान (Furqan – फ भन्दा जोडले भन्नु पर्छ) । घर लहोर, पाकिस्तान । ऊ सँगै हिंडेको अर्को केटा पनि सोहि विभागमा रहेछ । नाम दानिश । घर लहोर, पाकिस्तान ।

म नेपालबाट भन्ने थाहा पाएपछि फर्कान एक्कासी नजिकियो । मेरो नाम, देश र विभाग सोधेपछि उसले मेरो उमेर सोध्यो । उसले सबैको उमेर सोध्थ्यो । आफूलाई सानै छु भन्ने सोच्थ्यो । छिट्टै मलाई “बडे भाई” (ठुल्दाई) भन्न थाल्यो ।

सुरुसुरुमा उसले दिनहुँ थुप्रै पल्ट नश्लवादी गालीगलौजको सामना गर्नु पर्ने बताउँथ्यो । तर उसलाई यस्तो गालीगलौजको खासै मतलब छैन भन्थ्यो । “मलाई अल्लाहले धेरै धैर्य गर्ने र प्रतिकुलतासँग जुध्ने शक्ति दिनुभएको छ” भन्थ्यो । अनि भन्थ्यो कि “हामी यहाँ यति छोटो समयलाई आएका छौं कि यस्तो नकारात्मक कुरामा ध्यान दिने समय कसैसँग छैन । यो समय आँखा झिम्काएको जस्तो छिटो बितेर जानेछ । यो समयको सदुपयोग गरौं ।”

मैले यो मेरो मन्त्र बनाएको थिएँ । “यो समय आँखा झिम्काएको जस्तो छिटो बितेर जानेछ ।”

दानिश र फर्कान सँगै बस्थे । दानिश किङ्ग साईज खाटमा सुत्थ्यो । फर्कान सोफामा सुत्थ्यो । कोठामा एउटा मात्रै खाट थियो ।

दश महिने हङ्गेरी बसाईका क्रममा फर्कानले थुप्रै पल्ट नश्लवादको शिकार हुनु परेको कुरा दानिशले बताउँथ्यो । फर्कान आफैंले भने सुरुमा मात्रै यस्ता घटनाका बारेमा बताउने गर्थ्यो । पछि कहिल्यै गुनासो गरेन । खोई किन हो बुद्ध जस्तो थियो ऊ !

बीचमा “फर्कानले पढाई छोड्न खोजेको छ” भन्ने हल्ला पनि चलेको थियो । उसलाई हङ्गेरीमा बस्न गाह्रो भयो भन्थ्यो दानिशले । तर यो नश्लवादी मानिसहरुले गर्दा हो वा अरु कुनै कारणले हामीलाई कहिल्यै थाहा भएन । फर्कानले कहिल्यै यस विषयमा बोलेन । सोध्दा पनि केहि भनेन ।

बिस्तारै एक पछि अर्को गर्दै खैरो, कालो र पहेंलो वर्णका विद्यार्थीहरुले नश्लवादको शिकार हुनु परेको बताउँथे । यस मध्ये थुप्रैले गालीगलौजको सामना गर्नु पर्थ्यो । कर्के नजरले हेर्ने र झर्केर बोल्ने त सामान्य घटना मै पर्दथे ।

दानिशको नश्लवादी गालीगलौजको सामना गर्ने तरिका भने भिन्न थियो । उसलाई कसैले केहि भनेमा उसले सामान्यतया जवाफ फर्काउँथ्यो । ऊ युनिभर्सिटीको विद्यार्थी नेता (student leader) पनि थियो र युनिभर्सिटीमा आयोजना हुने कुनै कार्यक्रममा आफूले भोगेको नश्लवादी घटनाहरुका बारेमा खुलेर बोल्थ्यो । उसैले फर्कानलाई पनि बोल्न प्रोत्साहन गर्थ्यो । तर हङ्गेरीको अनुदार हुँदै गईरहेको समाजमा खुलेर मुश्लिम हुँ भनेर देखाउने (visibly Muslim) फर्कानलाई गालीगलौजको डटेर सामना गर्न गाह्रै पर्थ्यो । त्यसैले उसले जे नीति अपनाएको थियो, त्यो नै सायद उसका लागी ठीक थियो । दानिशको भिन्न नीति पनि सायद दानिशका लागी उत्तम थियो ।

म हङ्गेरी पुगेको ६ महिना हुँदा पनि भाग्यवश कुनै नश्लीय गालीगलौजमा परेको थिइनँ । सम्प्रितीले भने जस्तै थुप्रै मान्छेहरुले मलाई रोमा भन्ठान्थे ।

मेरा थुप्रै रोमा साथीहरु पनि थिए र म उनीहरुसँग खुबै घुलमिल भएको थिएँ । टर्की, बुल्गेरिया, सर्बिया, अजरबैजान, हङ्गेरी, रोमेनिया, मेसेडोनिया, कोसोभो, मन्टेनेग्रो, र अन्यत्रबाट पढ्न आएका थुप्रै रोमाहरु होस्टेलको म बस्ने तल्लामा बस्थे । खानेकुरा र रक्सी आदानप्रदान गर्थे ।

टर्कीका एक जोडी इल्खिन् र गाम्जे भने विशेष नजिक थिए । सुरु-सुरु कै दिनमा इल्खिन्ले मलाई “नेपाल भनेको कता हो ?” भनेर सोधेको थियो । मैले “ईण्डिया भन्दा उत्तर तिर हो । तेरो र मेरो पुर्खाहरु सायद सँगै खेतीपाती गर्थे होलान्” भनेको मात्र के थिएँ ऊ त मलाई अँगालो हाल्न आयो । दङ्ग पर्‍यो । त्यो दिनदेखि इल्खिन् र गाम्जेले मलाई आफ्नै दाइ जस्तो व्यवहार गर्न थाले ।

६ महिना जस्तो नश्लवादको शिकार नभएको एकखाले रेकर्ड एकदिन अचानक टुट्यो ।

पूजा नामकी भारतीय साथीले कामरान (अर्को पाकिस्तानी साथी) लाई र मलाई आफ्नो घरमा खाना खान बोलाएकी थिई । उसको घर बुडापेस्टको बुडा साईडमा थियो ।

कामरान र म होस्टलमा बस्थ्यौं जुन पेस्ट साईडमा थियो । दानुव नदीले छुट्टाएका बुडा र पेस्ट नामका दुई सहर मिलेर बुडापेस्ट सहर बनेको थियो । बुडा साईड पहिले धनीहरुको सहर थियो रे ! अनि पेस्ट चाहिँ गरिबहरुको ।

पूजाको घरमा उसकी सिङ्गापुरे साथी जेनीफर पनि आएकी रहेछ । ऊ पूजाको घर नजिकै बस्थी । पूजा कामरान जस्तै समाजशास्त्र विभागमा थिई । पूजा पिएचडी क्यान्डिडेट थिई भने कामरान म जस्तै मास्टर्स् गर्दै थियो । जेनीफर कग्निटिभ साईन्स् (cognitive science) की पिएचडी क्यान्डिडेट थिई ।

हामी बेलुकी ९ बजेदेखि राती २ बजेसम्म देश, दुनियाँ, राजनीति, अर्थतन्त्र, असमानता लगायतका अनेकौं विषयहरुमा गफ गरेर बस्यौं । पूजा र जेनीफरका थुप्रै कुराहरु मेरो दिमागले नभ्याउने खालका थिए । सायद त्यो बेला अलि बढी नै कच्चा पनि थिएँ । धेरै कुरा सिक्दै पनि थिएँ । र भाषिक समस्या पनि बढी थियो ।

राती दुई बजे कामरान र म पूजाको घरबाट होस्टल फर्किनका लागी निस्कियौं । राती १२ बजे मेट्रो बन्द भईसक्थ्यो । कामरानले होस्टेल जाने बस पत्ता लगायो । सिधै गए आधा धण्टामा पुगिने ठाऊँ यो बसले घुमाउँदै एक घण्टामा बल्ल पुर्‍याउने रहेछ ।

बस खचाखच भरिएको थियो । शुक्रबार थियो सायद, अहिले बिर्सें । पब र पार्टी गएर फर्किएकाहरु थुप्रै थिए । कोहि झर्दै थिए, थुप्रै चढ्दै थिए । बाटो आधा-आधी सकिनेबेला म कोचाकोच बसमा बिस्तारै ठेलिंदै पछाडि पुगेछु । कामरान भने बसको अगाडिको ढोका नजिकै थियो ।

होस्टेल नजिकैको बस स्टप आउन थालेपछि म अगाडि बढ्न कोशिश गर्दै थिएँ । मान्छेहरुको बीचमा आफ्नो बाटो बनाउन खोज्दै थिएँ ।

बसको बीचमा एउटा बडेमानको गोरा केटा उभिएको थियो । उसले सुन्तला र गुलाबी रँगको मोहाक (mohawk) बनाएको थियो । म ढोका तिर जान खोजेको देख्दा पनि उसले बाटो छोडेन । मैले उसलाई अङ्गेजीमा “मलाई यहाँ अघिल्लो स्टपमा झर्नु छ” भनें । उसले बसको डण्डीमा समातिरहेको थियो । आफ्नो हात निकालेन । मलाई निकास नदिई बाटो मै अड्काउन खोज्यो । मलाई उल्टै हङ्गेरीयन भाषामा केहि भन्यो । मैले बुझिनँ । मलाई हङ्गेरीयन आउँदैन थियो । मेरो सात्तो उड्यो । रातो-कालो भएँ । कान रनक्क रन्कियो । कामरान तिर हेरें । ऊ पनि लाचार जस्तो देखिन्थ्यो ।

न त मैले यो गोरा केटाले भनेको कुरा बुझें त मैले उसको कुरामा प्रतिक्रिया जनाएँ न त उसको अनुहारमा हेरें ।

एकैछिन पछि उसले आफ्नो हात हटायो । म बसको अघिल्लो भाग तिर गएँ जहाँ कामरान उभिईरहेको थियो । स्टप आएपछि कामरान र म बसबाट ओर्लियौं । मैले लामो सास तानें ।

बसबाट झर्दा त त्यो मोहाक वाला गोरा केटा त यहि स्टपमा पछाडिको ढोकाबाट झरेको रहेछ । पहिले त यसले किन हाम्रो पीछा गर्दै छ सोचे । यसले केहि नराम्रो गर्न खोजेको हो कि भनेर म सतर्क भएँ । तर कामरानलाई केहि भनिंन । सरासर आफ्नो बाटो हिंडे । हामी त्यो गोरा केटा कटेर हिंड्नु पर्थ्यो । कामरान मेरो पछि-पछि आयो । हामी त्यो गोरा केटा कटेर अगाडि बढ्यौं । उसले त हाम्रो अनुहारमा पनि हेरेन । ऊ आफ्नै दुनियाँमा मस्त थियो ।

हामी होस्टल भित्र छिरेपछि अनुमान लगाएँ । त्यो गोरे केटालाई मैले “मलाई यहाँ अघिल्लो स्टपमा झर्नु छ” भन्दा सायद उसले हङ्गेरीयन भाषामा “म पनि त्यहिँ झर्ने हो । अगाडि कोचाकोच छ सँगै झरौंला” भनेको थियो । सायद म भित्र नश्लवादको शिकार हुने डर यति धेरै झाङ्गिई सकेको थियो कि मैले त्यो मोहाक भएको बडेमानको केटा देख्ने बित्तिकै दिमागमा नराम्रो सोच्न थालिसकेको थिएँ ।

यो घटना पछि फर्कानले भनेको जस्तो मैले यो कुरामा ध्यान दिन छोडें । दानिश जस्तो नीति अपनाउन पनि सक्थें । तर ममा सायद त्यति शक्ति थिएन मानिसहरुसँग जुध्ने । मेरो शक्ति अरु कुराहरुमा केन्द्रित गर्नु पर्ने थियो । वा मैले त्यस्तै सोचें । सायद यसपछि म नश्लवादको शिकार पनि भएँ हुँला, तर मैले कहिल्यै यादै गरिनँ । “यो समय आँखा झिम्काएको जस्तो छिटो बितेर जाने छ ।” भन्ने फर्कानको मन्त्र जप्दै बसें । दश महिने हङ्गेरी बसाई नभन्दै आँखा झिम्काएको जसरी नै सकियो ।

फोटो: मुरात काराबाग । फोटोमा फर्कान बाँयाबाट दोस्रो हो । दानिश तेस्रो ।

Comments

One response to “नश्लवाद (रेसिजम्) को शिकार”

  1. Arjun BK Avatar
    Arjun BK

    गजब लाग्यो तपाइको लेख | एउटा समुन्द्र पारीको देशमा विदेशी मूलका विध्यार्थी कसरी (नश्लीय) विभेदमा पर्दछन् र कसरी यसता समस्या जुध्संछन् भन्ने आफ्नो अनुभवले भरिएको | यो समस्या विचित्र छ | अलिकति मन संग जोडिएको र अलिकति बाहिरि दुनियाँ संग पनि | सबै मान्छे संग समस्या संग जुध्ने आ-आफ्नै तरीका हुन्छन् | तपाइको लेखले मलाई पनि आफ्नो विगतका दिनको पुन: स्मरण गरायो | धन्यवाद |

Leave a Reply

Your email address will not be published. Required fields are marked *