आप्रवासन इतिहासको भिजुअल (दृश्य) मानवशास्त्र

आप्रवसन (बसाइँ-सराइ र लाहुरे) इतिहास झल्काउने फोटोकथा आवह्वान

मैले नेपालका प्राज्ञिकहरुलाई मेरो अध्ययन “ब्रिटिश गोर्खा” का बारेमा हो भन्दा थुप्रैले आश्चर्यको भावमा “किन गोर्खा ?” भनेर सोध्छन् । हुन पनि उनीहरुको शंका मिश्रित आश्चर्यको पछाडि लेखक आर हेककले सन् १९८८ मा भने जस्तै गोर्खा सैनिकले कुनै पनि ब्रिटिश (इण्डियन) सेनाको दाँजोमा बढी छापाको मसी पाइसकेका थिए । निश्चयपनि गोर्खा सेनाका बारेमा धेरै कृतिहरु प्रकाशित छन् जसले उनीहरुको वीरता, सैन्य कौशलता, र निष्ठाको महिमा वर्णन गरेका छन् । पछिल्ला केहि वर्षहरुमा भने समानताका लागी गोर्खाहरुको सङ्घर्ष र उनीहरुको अन्तरकथाका बारे पनि लेख-रचना र किताबहरु छापिँदै आएका छन् ।

विश्वभरि छरिएर बसेका नेपाली गोर्खा सैनिकहरुको वीरता, प्राच्यवाद, दु:ख, सङ्घर्ष, र उनीहरुको योगदानका बारेमा उल्लेख्य छलफल भएता पनि गोर्खा सैनिक परिवारका महिलाहरुका (गोर्खा महिला) बारेमा, उनीहरुका कथा-व्यथा, भोगाई, र अनुभवका बारेमा भने नगन्य रुपमा कसैले केहि लेखेको छ । उनीहरुको सैन्य, पारिवारिक, र वैवाहिक आप्रावासन (बसाइँ-सराइ वा पल्टनघर जाँदाको अनुभव) लाई खासै महत्त्व दिईएको पाइँदैन । मैले अन्य कुनै ठेट वाक्यांश वा परिभाषा नपाएको हुँदा यहाँ गोर्खा सेनाका परिवारका महिलाहरुलाई “गोर्खा महिला” भनेको छु । मेरो अध्ययनमा मैले गोर्खा सेनाका आमा, श्रीमति, प्रेमिका, पार्टनर, छोरी, र दिदीबहिनीहरुका जीवन, भोगाई, अनुभव, योगदान, बलिदान, र सङ्घर्षका कथाहरुलाई अगाडि सार्ने कोशिस गरेको छु ।

यो अध्ययनले के गर्छ ?

यो अध्ययनले दृश्य मानवशास्त्र (visual anthropology) का विधिहरुको प्रयोग गरेर गोर्खा सेना र उनीहरुको परिवारको व्यक्तिगत र अभिलेखित फोटोहरुको वर्णन र विश्लेषण गर्छ । गोर्खा महिलाहरुका आप्रवासनका प्रकृति र इतिहासका नपल्टाईएका पाटाहरुको खोज यो अध्ययनले गर्नेछ । फोटोहरुको माध्यमद्वारा आप्रवासनको इतिहास र गन्तव्यहरुको बारेमा मात्र वर्णन नगरी पुराना फोटोहरुको अन्तरकथा र ती पुराना फोटोलाई हेर्दा मानिसहरुका मनमा उब्जने भावनाहरुको व्याख्या पनि खोजिनेछ ।

यो अध्ययनले पूराना फोटो पछाडि रहेको “तथ्य” मात्र नहेरी फोटोमा रहेका मानिसहरु वा फोटोको स्वामित्व भएका मानिसहरुसँग फोटो खिच्दाको परिवेश र अनुभवलाई पनि संगाल्नेछ । मुख्यतया: ईस्वीको बिसौं शताब्दीका फोटोहरुले विगतका बारेमा दर्शाउनुका साथै आप्रवासनको प्रवृत्ति र अनुभवका बारेमा पूर्वगामी व्याखा खोज्नेछ ।

यदि सामाजिक सञ्जालमा राख्न मिल्ने खालका यस्ता कुनै फोटोहरु छन् भने कृपया हामीलाई ईमेल गर्नुहोला । ईमेल ठेगाना khetaarey@gmail.com हो । यो अध्ययनले के गरिरहेको छ भन्ने बुझ्न फेसबुक पेज www.facebook.com/gurkhawomen र इन्टाग्राम पेज www.instagram.com/gurkhawomen मा गएर फलो, लाईक, र सेयर गर्नुहोला । गोर्खा महिलाहरुका कथा-व्यथा झल्काउने खालका फोटो र फोटोकथाहरु पठाई सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौँ ।

यो अध्ययन किन महत्त्वपूर्ण छ ?

पारिवारिक र वैवाहिक आप्रवासन (बसाइँ-सराइ) एकातर्फ पुरुषप्रधान छ जसमा महिलालाई आप्रवासनको प्रकार र गन्तव्यको छनोटमा थोरै मात्र अधिकार छ । अर्कातर्फ सैन्य आप्रवासनका (लाहुर जाने) क्रममा पुरुषहरु प्रवासी (लाहुरे वा रिकुटे) हुन्छन् र महिलाहरु केवल “घर कुरुवा” वा पल्टनघरमा आफ्ना श्रीमान् वा बाबालाई “पछ्याउने” मानिस बन्न्छन् भन्ने आम बुझाई छ ।

गोर्खा महिलाहरुको फोटो र उनीहरुसँगको कुराकानी र उनीहरुको अनुभवमा आधारित रहि यो अध्ययनले नेपाली महिला आप्रवासनको सामाजिक-ऐतिहासिक पाटाहरुलाई केलाउने प्रयत्न गर्नेछ । नेपाली महिलाहरुको आप्रवासनलाई मुख्यतया: मानव बेचबिखनसँग सम्बन्धित गराई उनीहरुलाई शोसितको रुपमा व्यख्या गरिने अवधारणालाई चिर्दै यो अध्ययनले महिलाहरुको बहुआयामिक र बहुपक्षिय आप्रवासनको इतिहासलाई उजागर गर्नेछ । शोसित मात्र नभएर महिलाहरुले बहुआयामिक भूमिकाहरुमा आफू र आफ्नो परिवारका सदस्यहरुलाई आप्रवासनका बेला र त्यस अघि र पछि पनि महत्त्वपूर्ण योगदान दिएका छन् । साथै, उनीहरुले आफ्नो स्वायत्त भूमिकाका निर्वाह गरेका थुप्रै दृष्टान्तहरु छन् ।

फोटोहरुले प्रवासीहरुको सामाजिक र सांस्कृतिक परिवेश झल्काउने थुप्रै अवस्थाहरु चित्रण/कैद गरेका हुन्छन् । वर्षौंदेखि फोटोमा अल्झिएका तर नसुल्झिएका पाटाहरुको पनि नयाँ तरिकाबाट विश्लेषण गर्ने सकिने भएकाले अन्तरराष्ट्रिय आप्रवासन (बसाइँ-सराइ) का विविध पक्षलाई पनि यो अध्ययनले थप बुझ्ने सहयोग गर्नेछ ।

गोर्खा महिलाका कथा र फोटोको अभिलेख गरिने यी फेसबुक इन्टाग्राम पेजहरु सार्वजनिक रुपमा उपलब्ध रहनेछन् र यिनमाथिको पहुँच पनि खुला रहनेछ । इच्छुक व्यक्तिहरुले यो पेज/अभिलेख अध्ययन, खोज र सोधका लागी प्रयोग गर्न सक्नेछन् ।

आप्रवसन (बसाइँ-सराइ र लाहुरे) इतिहास झल्काउने फोटोकथा आवह्वान

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *