समाजशास्त्रीय कल्पनाशक्ति

“The sociological imagination enables us to grasp history and

biography and the relations between the two within society.”

– C Wright Mills

“समाजशास्त्रीय कल्पनाशक्तिले हामीलाई इतिहास र

जीवनी र समाजभित्र यी दुईको सम्बन्धका बारेमा बुझ्न सिकाउँछ ।”

– सी राईट मिल्स् (मेरो अनुवाद)

मेरी आमामा मधुमेह (वा डायबिटिज वा बोलीचालीको भाषामा “चिनी रोग” वा “सुगर”) देखिएको लगभग २० वर्ष भयो । बालाई देखिएको १० वर्ष भयो । आमा तर्फका हजुरबा-हजुरआमालाई मधुमेह थियो/छ । बा तर्फकी हजुरआमालाई पनि डायबिटिज थियो । हजुरबा (बाका बा) लाई थियो थिएन थाहा छैन किनभने उहाँ धेरै पहिले बित्नुभयो । बा-आमा दुवैलाई डायबिटिज भएकाले मेरी बहिनी र म डायबिटिजको उच्च जोखिममा छौं । मेरा डाक्टर साथीहरु र नातागोताका डाक्टरी सर्टिफिकेट नभएका डाक्टरहरु (नेपालमा सबैजना आफूलाई डाक्टरै हुँ भन्ठान्छन्) हामीलाई “तिमीहरुलाई पनि डायबिटिज हुने संभावना बढी भएकाले नियमित व्यायाम गर” वा “मुख बार” भनिरहन्छन् । (यसो भन्ने कतिपय आफैँलाई डायबिटिज छ र उनीहरुले मुख बारेको खासै देख्दिनँ ।) बहिनी र म दुवै मोटा-मोटा नै छौं । हाम्रो जीवनशैली यहि लयमा चलिरह्यो भने हामीमा पनि डायबिटिज छिट्टै देखा पर्नेछ । म यहि डरले पछिल्लो चार वर्षदेखि सकेसम्म नियमित व्यायाम गर्ने गर्छु तर त्यो भन्दा धेरै अल्छी गर्ने गर्छु । फेरी बढ्दै गएको पेटको गोलाई र डायबिटिजको जोखिम सम्झेर फेरी व्यायाम सुचारु गर्छु । (यो लेख लेखेर सम्पादन गर्दै गर्दा ८ किलोमिटर दौडेर आएँ ।) बहिनी मभन्दा बढि व्यस्त छे । विवाह भएपछि, छोरा जन्मेपछि, र घरको र कार्यालयको कामको चाप झनै बढेपछि उसले व्यायाम गर्ने समय कम पाउँछे । मेरा बा-आमालाई र उहाँहरुका आ-आफ्ना बा-आमाहरुलाई डायबिटिज लागेकाले हामीले विशेष किसिमको शतर्कतापूर्ण जीवनशैली अपनाउनु छ । तर त्यसप्रकारको “स्वस्थ” जीवनशैली अपनाउन हामी किन निरुत्साहित छौं ? म त अल्छी धेरै भएँ तर मेरी बहिनीले (ऊ कम अल्छी छे भन्ने शर्तमा) व्यायाम गर्न किन भ्याउँदिन ? तर के यो मेरी बहिनीको र मेरो समस्या मात्रै हो ?

डब्लुएचओ (WHO) को सन् २०१६ मा प्रकाशित एउटा रिपोर्टका अनुसार नेपालका ९% जनसङ्ख्या मधुमेह रोगी छन् । यसमा पुरुष १०.५% र महिला लगभग ८% मधुमेहका विरामी छन् । सन् १९८० (आज भन्दा ४० लगभग वर्ष पहिले) नेपालका ५% भन्दा कम जनसङ्ख्यामा डायबिटिज देखिएको थियो । ४० वर्षमा यो दोब्बर भएको छ । हुन त ४० वर्ष पहिले नेपालीहरुको स्वास्थ्यसेवामा पहुँच अहिलेको भन्दा धेरै न्यून थियो र डायबिटिज भएको भए पनि थाहा हुने अवस्था कन थियो, तर पनि डायबिटिजको जोखिम बढ्दै गईरहेको नेपालमा मात्रै होइन विश्वभरी नै हो । सन् १९८० र २०१४ को बीचमा संसारभरीको मधुमेह रोगीको सङ्ख्या लगभग ११ करोडबाट बढेर ४२ करोड भन्दा बढी भयो । (यो बीच संसारको जनसङ्ख्या दोब्वर भन्दा कम बढ्यो भने मधुमेहका विरामीहरुको सङ्ख्या झण्डै चार गुणा बढ्यो ।) सन् २०१२ मा संसारभरी मधुमेहले १५ लाख मानिसहरुको ज्यान लग्यो । मधुमेहका रोगीहरु र यसबाट ज्यान गुमाउनेहरुको सङ्ख्या निम्न र मध्यम आय भएका मुलुकहरुमा धेरै छ । नेपालजस्ता कम आय भएका मुलुकहरुमा डायबिटिजको जोखिम किन उच्च छ ?

डब्लुएचओ (WHO) ले माथि उल्लेखित रिपोर्ट सार्वजनिक गरेकै वर्ष सिँगापुरले “वार अन डायबिटिज” (War on Diabetes – मधुमेहविरुद्धको युद्ध) मधुमेहलाई निमिट्यान्न पार्ने अभियान सुरु गर्‍यो । सानो देश भए पनि सिँगापुरमा सन् २०१६ मा ४ लाख जनसङ्ख्यामा डायबिटिज देखापर्‍यो र तुरुन्तै कुनै कदम नचाले सन् २०५० मा १० लाख मानिसमा डायबिटिज देखापर्ने आँकलन सहित डायबिटिजमाथी सिँगापुर सरकारले “युद्ध”को घोषणा गर्‍यो । (सन् २०१६ मा सिँगापुरको जनसङ्ख्या ५६ लाखको हाराहारीमा थियो ।) त्यहाँको सरकारले डायबिटिजको यो “युद्ध”का लागी वर्षको १ अर्ब डलर खर्च गर्ने गर्छ । व्यायाम र सक्रिय जीवनशैलीको महत्त्वलाई दृष्टिगत गर्दै त्यहाँ थुप्रै किसिमका “च्यालेञ्ज”हरुको आयोजना गरिन्छ (जस्तै: नेशनल स्टेप्स् च्यालेञ्ज) र मानिसहरुलाई व्यायाम गर्न प्रेरित गर्न उनीहरुको व्यायामको तथ्याङ्क अनुसार पुरस्कृत गर्ने गरिन्छ । त्यहाँका प्रधानमन्त्रीले आफू पनि नियमित व्यायाम गर्ने गरेको बताउँदै र आफ्ना जनताहरुलाई पनि स्वस्थ रहन सन्देशमूलक विज्ञापनहरुमा उपस्थिति जनाउँछन् । सिँगापुरका सडकहरुमा बुढाबुढीहरु पनि दौडने (हिँड्ने मात्र होइन) गरेको देख्दा म छक्क परेको थिएँ । यहि बेला मेरो एउटा सिँगापुरे साथीले मलाई माथी उल्लेखित “युद्ध” का बारेमा बताएको थियो ।

फेरी नेपालमै फर्कौं । मलाई नेपालका कति नेताहरुलाई मधुमेह छ थाहा छैन तर मलाई याद भएसम्मका सबै नेताहरुको जीवनशैली नराम्रो छ भन्ने उनीहरुको पेटको गोलाईबाट थाहा हुन्छ । (मैले यहाँ body shaming – बडि शेमिङ्ग – गर्ने खोजेको होइन तर हाम्रो जीवनशैलीलाई मात्र इंगित गर्न खोजेको हुँ ।) उनीहरु आफैंले आफ्नो स्वास्थ्यलाई ख्याल नगर्ने हुनाले उनीहरुले जनताको स्वास्थ्यबारे खासै ध्यान दिन्छन् जस्तो मलाई लाग्दैन । उनीहरु आफू सजिलै विदेशी अस्पतालमा सरकारी पैसामा उपचार गर्न जाने हुँदा नेपालको स्वास्थ्यसेवाको अवस्था निकै नाजुक रहेको हामीलाई थाहा भएकै कुरा हो । नेपालको स्वास्थ्य नीति तथा कार्यक्रम कत्तिको (न)राम्रो छ भनेर त हामीले कोरोना महामारीका बेला थाहा पाई नै हाल्यौँ । नेपालमा रोग लागेपछिको उपचारमा समस्या त छँदै छ, रोगको रोकथामका लागी पनि कुनै ठोस कार्ययोजना र नीतिगत पहल छैन ।

मेरो बाल्यकालदेखिको एउटा साथी – जोसँग म स्कुलबाट फर्केपछि र छुट्टिका बेला दिनभरी सँगै खेलेर बिताउथेँ – कतार गएको १० वर्ष भयो । अहिले राम्रै कमाउँछ । दुई-दुई वर्षमा नेपाल आउँछ । छोरा र छोरीलाई बोर्डिङ स्कुलमा हालेको छ । तर उसले आफूले भने कक्षा १२ पछि पढ्न पाएन । घरमा कमाउने मानिस कम हुँदा र आर्थिक अवस्था कमजोर हुँदा उसले पढ्दा-पढ्दै काम गर्न थाल्यो । उसका बा एउटा सरकारी कार्यालयमा पियनको जागिर गर्नुहुन्थ्यो । आमा गृहणी हुनुहुन्थ्यो/हुनुहुन्छ । बाह्रको परिक्षा दिएपछि एउटा साप्ताहिक पत्रिकामा काम गर्न थाल्यो । त्यहाँको कमाईले खासै मद्दत नगरेपछि उसलाई अन्य उपाय खोज्ने दबाब थियो । ऊ लगत्तै कतार गयो ।

०७८ पुस २१ गते शीतलहर र बढ्दो चीसोका कारण धनुषा र सप्तरीमा दुईजनाको मृत्यु भएको समाचार अनलाईनखबरले छाप्यो । प्रत्येक वर्ष चीसोका कारण नेपालमा दर्जनौं मानिसहरुले ज्यान गुमाउँने गर्छन् । २१ औं शताब्दीमा आईपुग्दा पनि बास र कपासको अभाव किन छ ? कसैले काठमाडौंको दरबारमार्गमा हजारौँ रुपैँया तिरेर ब्राण्डेड लुगा किन्न सक्छन् तर कोहि किन चिसोमा कठ्याङ्ग्रिएर मर्न बाध्य छन् ? उनीहरुले न्यानो बस्न लुगा र बास नभएर ज्यान गुमाउने अवस्था किन आयो ? न्यानो लुगा नहुनुमा उनीहरुको गल्ती हो वा समस्या अन्यत्र कतै छ ? के यो समस्या ती कठ्याङ्ग्रिएर ज्यान गुमाउनेहरुको नितान्त व्यक्तिगत हो वा समस्या समाज र देशको बृहत राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा छ ?

नेपाली काङ्ग्रेसको भर्खरै सकिएको महाधिवेशनमा “खुल्ला” तर्फका ३५ जना केन्द्रिय सदस्यहरुको चुनावी विजय पछि ती ३५ जना नै पुरुष देखेपछि ट्विटरमा लुना भट्टराईले ती सदस्यहरुको नामावली सहित लेख्नुभयो “नेपाली कांग्रेस ‘पुरुषवादी’ !!” यो ट्विटले ठूलै हल्लाखल्ला पैदा गर्‍यो । थुप्रैले “रिप्लाई” र “कोट ट्विट” मार्फत सो ट्विटमा जवाफ फर्काए । थुप्रैले नबुझिकन ट्विट गरेको आरोप लगाए, गाली गरे । केहिले जिस्काए । केहिले यसो हो भनेर सम्झाई-बुझाई गर्न आए । कसैले विधान पढेर मात्र बोल्न सुझाव दिए । (Different forms of mansplaining.) उहाँले “पुरुषवादी” भनेर टिप्पणी गर्दा ट्विटरमा उहाँसँग चिढिएका, रिसाएका, ठस्किएका, र जिस्काएका सबै पुरुष नै थिए । नेपाली राजनीति लगायतका क्षेत्रमा हावी मानिसहरुजस्तै ! यो नेपाली काङ्ग्रेसको मात्र समस्या होइन । नेपालका कुनै पनि राजनीतिक दल वा अन्य सामाजिक र सार्वजनिक वृत्तमा देखिने अनुहारहरु यहि नै हुन् ।

फेरी ट्विट मै फर्कौं । धेरै रिसाएकाको बुझाई थियो: “महिला त सबै समावेशी कोटामा उम्मेदवारी दिन गए । ‘खुल्ला’ मा जो बाँकी भए ति पुरुष मात्र भए ।” कसैले “खुला तर्फ महिला उठ्न सक्छन्…खुला महिला तर्फ पुरुष आउन सक्दैनन् ।” भनेर बुझाए । सर्सर्ती हेर्दा यो कुरा ठिकै लाग्छ । आम मानिसले यो कुरालाई सहर्ष स्वीकार्छ । माहिला उम्मेदवारी नै दिन नगएपछि पुरुष मात्र त चुनाव जितेर आउने भए । हाम्रो सार्वजनिक र नीतिगत विमर्श यहिँ सकिन्छ । हामीले रोगको उपचार हैन रोगका लक्षणहरुको उपचार गर्न लाग्छौं । महिला आएनन् भनेर समावेशी कोटा ल्याउनु एक कदमको हल होला तर महिला कोटा छ भनेर महिलालाई खुल्ला कोटामा उठ्ने संरचनागत अप्ठ्याराहरुको निवारण गर्ने तर्फ कसको ध्यान केन्द्रित होला ?

ट्विट गर्ने जो महिला हुनुहुन्थ्यो, उहाँले नबुझी ट्विट गर्नुभयो होला ? कि उहाँले समस्याको जरा खोज्न पहल गर्नुभएको होला ? समस्या उहाँको ट्विटमा हो वा अन्त कतै ? समस्याको जरो कहाँ हो ? खुल्लामा महिलाहरु उम्मेदवारी दिन नजानुमा ? कि महिलाहरुलाई र अन्य सिमान्तकृतलाई समावेशी कोटा छुट्टाएको जस्तो देखाएर “खुल्ला” कोटा र महत्त्वपूर्ण पदहरु आफ्ना लागी राख्ने प्रवृत्तीमा ? विनोद चौधरी र उमेश श्रेष्ठहरु समावेशी कोटामा लडेर “खुल्ला” तर्फ कसलाई बाटो बनाएका होलान् ? चौधरी र श्रेष्ठको ठाउँमा सदस्यमा निर्वाचित हुन नपाएका जनजाति प्रतिनिधिले के सोचे होलान् ? कुनै महिलाले “म खुल्ला तर्फ लड्छु” भनिन् भने नेतृत्व तहले उनलाई के जवाफ देलान् ? वा कुनै महिलाले “म खुल्ला तर्फ लड्छु” भनेर किन भन्न नसकेकी होलिन् ? खुल्ला तर्फ दलित, जनजाति र अन्य सिमान्तकृतहरुको पहुँच सहज किन नभएको होला ? अझै, दलित महिला, जनजाति पारलैङ्गिक पुरुष, बाहुन समलिङ्गी महिला, र शारिरीक अपाङ्गता भएकाहरुले “खुल्ला तर्फ” लड्ने अवस्थाको सिर्जना किन हुन सकेन ? महिला कोटामा पहाडे बाहुन महिला मात्रै किन भए ? जनजाति कोटामा पुरुष जनाजाति धेरै किन हुन्छन् ?

२, ३ र ४

एकछिन कतार गएको सञ्जीव, महिला प्रतिनिधि, र चिसोले ज्यान गुमाउनेहरुको बीच समानता खोजौं । लुनाको ट्विटमा “खुल्ला” तर्फ महिला आफू नै उम्मेदवारी दिन नगएकाले उनीहरुले जित्ने सम्भावना नरहेको भनेर रिसाएका वा बुझाउन आएका पुरुषहरुले चिसोमा कठ्याङ्ग्रिएर ज्यान गुमाउनेहरुलाई “तिमीहरुले ज्याकेट किन नलगाएको ?” भन्लान् ? वा मेरो विदेश गएको साथीलाई “नेपालमै काम नगरेर किन विदेश गएको ?” सोध्लान् ? कि यी कुरामा केहि संवेदनशील भएर समस्याको गहिराई बुझ्लान् वा बुझ्ने कोशिश गर्लान् ?

फेरि मधुमेहमा फर्कौं । मेरा बातर्फका हजुरबा-हजुरआमा किसान हुनुहुन्थ्यो । धेरैजसो काम खेतमा गर्नुहुन्थ्यो । पैदल हिँड्ने बाहेक उहाँहरुसँग उपाय थिएन । गाउँमा फलेको (अर्ग्यानिक) खानुहुन्थ्यो । हजुरआमा धेरै बुढी भएपछि हामीसँग काठमाडौं बस्न आउनुभयो । उहाँको उमेरले र शारिरीक निस्क्रियताले धेरै पछि लगभग ८० वर्षको हाराहारीमा उहाँमा मधुमेह देखियो । तर आमा लगभग ४० वर्षकी हुँदा उहाँमा मधुमेह देखियो । बालाई ६० छुने बेला बल्ल सो रोग देखा पर्‍यो । मेरा बा-आमा काठमाडौंमा शिक्षण गर्नुहुन्छ । दिनभरी उभिने र बस्ने काम धेरै गर्नुहुन्छ । बा अझै पैदल र सार्वजनिक सवारी साधन र पाएको बेला आमाको स्कुटर चढ्नुहुन्छ । आमाले ५० औं जन्मदिन मनाएपछि स्कुटर चलाउन थाल्नुभयो । उहाँहरु सकेसम्म घरमै पकाएको खानुहुन्छ ।

बहिनी र म बसेर गर्ने काम धेरै गर्छौं । दिनहुँजसो एक छाक बाहिरी खानेकुरा र प्याकेज्ड (प्रशोधित ?) खानेकुरा खान्छौं । तीन पुस्तामा यति ठूलो परिवर्तन कसरी आयो ? हाम्रो व्यक्तिगत र पारिवारीक आय बढ्दै आयो र सोहि अनुसार हामीलाई कामको चाप र शारिरीक सक्रियताको अभाव बढ्दै गयो । पहिले महँगो प्याकेट, चिल्लो, तारेको खानेकुरा किनेर खान गाह्रो हुने हामी अहिले सोच्दै नसोची त्यस्ता खानेकुरा खाने भयौँ । व्यायाम गर्ने समय हुँदा नेटफ्लिक्स् हेरेर समय बितायौँ । हामी शारिरीक निस्क्रियताका बारेमा चिन्ता गरिदिने सिँगापुरको सरकार जस्तो हाम्रो सरकार भएन । बिरामी परे औषधी कम्पनी र डाक्टरहरुले फाईदा पाउने हुँदा स्वास्थ्यसेवाको कोर्पोरेट विश्वले पनि हामी जस्ता अल्छीहरुलाई अल्छी नै भईराख भन्यो, हामी त्यसै गरिरह्यौँ । सरकारले आफ्ना जनताको स्वास्थ्यमा चिन्ता लिन्थ्यो त उसले स्वास्थ्यसेवालाई चुस्त बनाउँथ्यो । आफू विरामी परेपछि विदेश जान पाउने भएर सरकारी अस्पतालहरु नै विरामी बनाएउने नेताहरुले सहर केन्द्रित नीजि अस्पतालहरुलाई प्रोत्साहन गरे । गाउँका जनतालाई स्वास्थ्यसेवा पाउन अझै हम्मे हम्मे नै छ । बेलैमा स्वास्थ्य उपचार नपाएर दिनहुँ कति मरिरहेका छन् !

फेरी मेरो कतार गएको साथी सञ्जीवको कुरा गरौं । कक्षा १२ सकेर काम गर्न थाल्दा चाहिने जति कमाउ नसकेपछि सञ्जीव आफूसँग खासै शीप नभएर आफूले राम्रो जागीर पाउन नसकेको ठान्दथ्यो । उसलाई आफूले पढाई अगाडि बढाउन नसकेको पछुतो पछिसम्म भयो । मलाई ब्याचलरसम्म मेरा बा-आमाले पढाउनुभयो । मास्टर्स पछि पनि मैले पढाईलाई कामसँगै अगाडि बढाउने मौका पाएँ । सञ्जीव र ममा किन भिन्नता भयो ?

सञ्जीवका बा-आमा अनपढ हुनुहुन्छ । उहाँहरु काभ्रेबाट काठमाडौं जागिर खोज्दै आउनुभयो । उसका बा-आमा मेरा बा-आमा जस्तै पढेलेखेका भए उसको जीवनमा कस्तो फरक पर्थ्यो ? उसका बा-आमासँग काभ्रेमै प्रशस्त जग्गा जमिन भएर सोहि अनुसार उहाँहरुको आर्थिक अवस्था राम्रो भएको भए सञ्जीव अहिले के गरिरहेको हुन्थ्यो ? उसका बा-आमासँग प्रशस्त जग्गा किन भएन ? उसका हजुरबा-हजुरआमाको जग्गा कसरी अन्य कुनै जातको मानिसले आफ्नो नाममा पार्‍यो ? उसका पुर्खालाई किन अन्य कुनै जातका मानिसले करिया बनाएर राखे ? सञ्जीवका छोराछोरीले कतारमा काम गरिरहेको उनीहरुका बालाई फेसबुक मेसेन्जरमा मात्रै देख्नुको सट्टा उनीहरुको बा-आमासँगै भईदिएका भए यसको असर छोराछोरीको लालनपालनमा कसरी पर्थ्यो ? प्रश्न यी माथि उल्लेखित भन्दा धेरै छन् । यी प्रश्नले सञ्जीवको जीवनलाई मात्र होइन उसको इतिहासलाई पनि प्रश्न गर्छ । उसको जीवन र इतिहासले मेरो जीवन र इतिहासलाई पनि प्रश्न गर्छ । उसको जीवन र इतिहासले तपाईँको जीवन र इतिहासलाई पनि प्रश्न गर्छ । उसको जीवन र इतिहासले नेपालको इतिहासलाई पनि प्रश्न गर्छ । उसको जीवन र इतिहासले दक्षिण एसियाको र मानव सभ्यताको इतिहासलाई पनि प्रश्न गर्छ ।

थुप्रै मानिसहरुलाई लाग्छ कि उनीहरुको सामाजिक-आर्थिक अवस्था उनीहरुको नितान्त व्यक्तिगत निर्णय र छनौटहरुको उपज हो । सञ्जीवलाई लाग्छ कि उसले पढाई बीच मै छोड्नु परेकाले ऊ कतार जानु पर्‍यो र परिवारसँग छुट्टिएर बस्नु पर्‍यो । लुनाको ट्विटमा रिप्लाई गर्नेहरुलाई लाग्छ कि महिलाहरु “खुल्ला” प्रतिष्पर्धामा नआउनु उनीहरुकै निर्णय र छनौटको विषय हो । तर उनीहरुको यो छनौटलाई सामाजिक इतिहास, राष्ट्रिय इतिहास, क्षेत्रीय इतिहास, र विश्व इतिहासले कसरी प्रभाव पारेको छ ? महिलाहरुलाई स्कुल जानमा समाज र सरकारले केहि दशक पहिलेसम्म निरुत्साहित गर्थ्यो । सञ्जीवका बा-आमा चाहिर पनि आफ्नो आर्थिक विपन्नताले विद्यालय जान पाएनन् । सञ्जीव आफैं पनि चाहँदा-चाहँदै पढाई छोडेर काममा होमिन पर्‍यो ।

अमेरिकी समाजशास्री सी राईट मिल्स् भन्दछन् कि मानिसको जीवन उसको इतिहाससँग जोडिएको हुन्छ । तर सबै मानिसले आफ्नो व्यक्तिगत जीवनलाई इतिहासको बृहत्तर परिधी भित्र राखेर हेर्न जान्दैनन् । यस्तोमा समाजशास्त्रीय कल्पनाशक्ति काम लाग्छ । सी राईट मिल्स्का अनुसार “समाजशास्त्रीय कल्पनाशक्तिले हामीलाई इतिहास र जीवनी र समाजभित्र यी दुईको सम्बन्धका बारेमा बुझ्न सिकाउँछ ।” मैले माथि उल्लेख गरेका विषयहरु “समाजशास्त्रीय कल्पनाशक्ति” लाई उदाहरणमा ल्याउने केहि कोशिश मात्र हुन् ।

कुनै पनि सामाजिक अध्ययन र प्रक्रियाहरु जीवनका आरोह अवरोह र इतिहासका पन्नाहरुलाईसँगै समेटन सक्षम भएपछि मात्र तिनीहरुको बौद्धिक यात्रा पूरा हुने बिश्वास सी राईट मिल्स्को छ । कुनै पनि सामाजिक विश्लेषकले सामाजिक वास्तविकता बुझ्न तीन खाले प्रश्न सोध्नु पर्ने मिल्सको भनाई छ । उनकै शब्दमा:

१) कुनै पनि समाजको संरचना समग्रमा कस्तो छ ? समाजका विशेष तत्वहरु के-के हुन् र उनीहरुको एक अर्कासँग कस्तो सम्बन्ध छ ? सामाजिक व्यवस्थाका अन्य विविधतासँग के-कस्तो फरक छ ? कुनै पनि सामाजिक व्यवस्था किन परिवर्तन हुन्छ वा किन निरन्तरता पाउँछ ?

२) कुनै पनि समाज मानव इतिहासमा कुन मोडमा उभिएको छ ? सो समाज के-कस्ता कारक तत्वहरुले परिवर्तनशील छ ? कुनै पनि समाजको मानवताको विकासमा कस्तो स्थान ओगट्छ र यसले अर्थ राख्छ ? हामीले अध्ययन गर्ने कुनै पनि सामाजिक प्रक्रियाले समय र इतिहासलाई कसरी असर गर्छ वा समय र इतिहासको सो प्रक्रियामा कस्तो असर परेको छ ? सो ऐतिहासिक समय अन्य समय भन्दा कसरी फरक छ ? इतिहास निर्माणका अवधारणाहरु के-के हुन् ?

३) अहिलेको समाजमा र अहिलेको समयमा कस्ता मानिसहरु उपस्थित छन् ? भविष्यमा अन्य कस्ता प्रकारका मानिसहरु उपस्थित हुनेछन् ? कस्ता तरिकाहरुबाट उनीहरु छानिएका र बनाईएका, स्वतन्त्रता दिईएका र अन्यायमा परिएका, र संवेदनशील बनाईएका र असंवेदनशील छन् ?

अन्त्यमा

मलाई मधुमेहको जोखिम, सञ्जीवको कतारको कर्म, चीसोमा कठ्याङ्ग्रीएकाहरुको मृत्यु, महिलाहरुको राजनीतिक वृत्तमा सहभागिता त उदाहरण मात्र हुन् । कुनै पनि सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक, वा जुनसुकै प्रक्रियाको पछाडि एउटा लामो इतिहास रहेको हुन्छ । यो लेखले तपाईँलाई ती इतिहास बुझ्न सक्ने बनाउँछ भन्ने मेरो अभिलाषा हो । त्यति नभएपनि कुनै पनि प्रक्रियालाई कसरी प्रश्न गर्न र सतहि रुपमा नलिन यसले प्रेरित गर्नेछ भन्ने मेरो आशा हो ।

– सञ्जय शर्मा “खेतारे”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *