लेकसाईड टु चिप्लेढुङ्गा

म पोखरामा छु । उखरमाउलो गर्मी छ । चिप्लेढुङ्गा (महेन्द्रपुल) को पोखरा आर्ट ग्यालेरीमा कला प्रदर्शनी भएकाले त्यता जाने मेसो मिलाउँछु । दिउँसोको १:१० बजेको छ ।

बाराही चोकमा पोखरा यातायात प्रा.लि.को “सिटि यातायात” लेखिएको बस आउँछ । पोखरा जानुभएको छ भने यो हरियो रंगको बस पक्कै देख्नु भएको होला ।

सो बस चढ्छु र सबैभन्दा पुछारको सिटमा गएर बस्छु । बायाँ तिर । तर म चढ्ने बित्तिकै बस सडक छेऊमा थप यात्रु पर्खनाका लागी रोक्छ । झ्याऊ लाग्छ । मोबाइल निकाल्छु । इन्स्टाग्राम खोल्छु । गतिलो केहि भेट्दिनँ । के गरौं, के गरौं हुन्छ । किताब झोलामा हाल्न बिर्सिएछु । चिनुवा अचेवेको “एन्टहिल्स अफ सभाना” कोठामै छुटेछ । आज शनिबार सम्झेर “कोसेली” पढ्न कान्तिपुरको वेभसाईट छिर्छु । झलक सुवेदीको लेख छापिएको रहेछ – गोर्भचोभका लागी श्रध्दाञ्जली । त्यहि पढ्न थाल्छु ।

ठ्याक्कै अड्लक त छैन तर केहि बेर रोकेपछि बस गुड्न थाल्छ । तुरुन्तै सहचालक (२५-२६ वर्ष उमेरको पुरुष) गाडि भाडा उठाउन आउँछ । दुई-चार जनासँग सहचालकले पैसा उठाईसके पछि बसको ढोका पछाडिको सिटको केटा “बिरौटा सम्म” भन्छ र ५० रुपिँयाको नोट र विद्यार्थी आईडि कार्ड सँगै दिन्छ । सहचालकले आईडि कार्ड समात्दैन । कार्ड केटाको हातमै ठेलिदिन्छ । ५० को नोट मात्र समातेर “आज शनिबार डिस्काउन्ट हुँदैन ल !” भन्छ र पच्चीस रुपैँया फिर्ता दिन्छ । केटा त्यसको बिरोध गर्छ । २५ रुपिँया मात्रै लिन नमानेको जस्तो गर्छ । तर सहचालकले उसको हातमा पैसा थमाएर पछिल्तिरका यात्रुको भाडा उठाउन आउँछ । केटा अझै विद्यार्थी छुट सहितको पैसा फिर्ता माग्दै हुन्छ । सहचालक नसुने झैं गरी अन्य यात्रुसँग पैसा उठाउन थाल्छ ।

गाडि गौरीघाट पार्क अगाडि रोकिन्छ । एउटा पुरुष चढ्छ । म बसेको लहरमा (बायाँ पट्टी) नभई अर्को पट्टी (दायाँ तर्फ) गएर अन्तिम भन्दा ठिक अगाडिको सिटमा बस्छ ।

गाडिमा धेरै यात्रु छैनन् । म बसेको सिट ढोकाबाट चौथो लहरको सिट हुन्छ । मेरो अगाडि एउटा पुरुष बसेको हुन्छ । उसले पालिखे चोक सम्मको भाडा ४० रुपिँया बुझाउँछ । उसको अगाडि पोखरा घुम्न आएको एउटा परिवार बसेको हुन्छ । भर्खरै तालबाराही मन्दिरको दर्शन गरेर फर्किएका सो चार जनाको परिवार सबैको निधारमा ठूलो रातो अक्षताको टिका हुन्छ । सहचालकले ती मानिसहरुको २५ रुपिँयाको दरले १०० रुपिँया लिन्छ । लेकसाईडदेखि बिरौटा सम्मको ।

बसको ढोकाको दाँया तिर दुईटा साना बच्चासँगै एउटी महिला बसेकी हुन्छिन् । उनले कति पैसा दिइन् मैले याद गर्दिनँ । यता झलक सुवेदीले कतै प्रशंसा र कतै कटाक्ष गर्दै गोर्भचोभलाई श्रध्दाञ्जली दिँदैहुन्छन् ।

बसको ढोकैमा क्याप लगाएको एउटा केटा उभिएको हुन्छ । तुरुन्तै झर्ने भएर त्यहाँ उभिएको होला सोच्छु ।

सहचालक मेरो छेऊ उभिन्छ । २०-२० का दुईटा नोट निकाल्छु । “चिप्लेढुङ्गासम्म” भन्छु । ऊ चुपचाप त्यो पैसा राख्छ । गौरीघाट पार्क अगाडि चढेको पुरुष केहि नबोली २५ रुपिँया दिन्छ । सहचालक पनि केहि नबोली र अगाडि जान्छ । मेरो भाडा ४० रुपिँया नै रहेछ भन्ने सोच्छु र फेरी गोर्भचोभ तिरै फर्कन्छु ।

बस राष्ट्र बैंक चोक पुगेर सिधै मुस्ताङ चोक वा सिर्जना चोक तिर नलागेर लामो बाटो बिरौटा तिर लाग्छ । दायाँ मोडिने बित्तिकै फेरी रोकिन्छ । दुई महिलाहरु चढ्छन् । ड्राईभरको पछाडिको सिटमा बस्छन् ।

म समय हेर्छु । एक्कासी फेरी त्यो विद्यार्थी छुट नपाएको केटा कराउँन थाल्छ: “म अघि आउँदा त डिस्काउन्ट दियो त !”

“थाहा नपाएर दियो होला ! शनिबार डिस्काउन्ट कसैले दिँदैन ।” सहचालक भन्छ ।

“म पनि कानूनको विद्यार्थी हो । जे पायो त्यहि गर्न पाइन्छ ? हाम्रो कलेज शनिबार पनि लाग्छ । तपाईंले भनेर हुन्छ । पैसा फिर्ता दिनुस् ।”

“मेरो गाडिमा मैले नभनेर कसले भनेर हुन्छ त ?”

फोटो: बिकास रेग्मी/अविनाश बराल

“नियम कानून भन्ने हुँदैन । कहाँ लेखेको छ शनिबार छुट हुँदैन भनेर ?”

“त्यसो भए कहाँ लेखेको छ त शनिबार छुट हुन्छ भनेर ? किताब लिएर आऊ ।”

“म पुलिस बोलाउँछु ।”

“तिम्रो बाऊ बोलाएर ल्याउने भए पनि ल्याऊ ।”

यतिबेला सहचालको छेऊमा उभिएको क्याप लगाएको केटा पनि झोक्किन्छ । “ए भाइ धेरै नबोल अहिले यहिँ झारिदिउँला ।” मैले यात्रु भन्ठानेको क्यापवाला पनि सहचालक वा उसकै साथी रहेछ । अब दुईजनासँग केटोको केहि लाग्दैन ।

केटो एक्लै छ । वरिपरिका, म लगायत, कसैले उसको साथ दिएका छैनन् । म पनि त्यो सहचालकसँग झगडा गर्न जाऊँ वा केहि नबोलौँ ? के त्यो केटालाई साथको आवश्यकता छ ? सहचालकसँग झगडा गर्ने मसँग जोश (एनर्जी) छ ? के म पनि झगडा गर्न गए सहचालकले त्यो केटालाई विद्यार्थी सहुलियत देला ? के त्यो केटाको आईडि सक्कली हो ? के साच्चै पोखरामा शनिबार डिस्काउन्ट नदिने चलन छ ? यस्तो चलन छ भने किन छ ? विद्यार्थीलाई छुट दिएको हो कि पढ्न जाने दिन मात्र छुट पाइने हो ? केटाले प्रहरी बोलाउन सक्ला ? वा आफ्ना साथीहरुलाई फोन गरेर यो सहचालकलाई थर्काउन आउला ? उसको गाडि हो भन्दैमा सहचालकले जे मन लाग्यो त्यहि गर्न पाउँछ ? छुट नपाउँदा उजुरी गर्ने ठाउँ छन् ? के त्यस्तो उजुरीको कार्यान्वयन हुन्छ ? मनमा हजारौं प्रश्न उब्जिन्छन् । मलाई बोल्ने-नबोल्ने निर्क्यौल गर्न गाह्रो हुन्छ ? कुनै पनि अवस्थामा कसकालागी कति बेला कसरी बोल्ने भन्ने निर्धारण कसरी हुन्छ ?

मलाई सहचालकसँग रिस उठ्छ । तर म श्रद्धाञ्जली पढे जसरी मोबाईलमा घोप्टिन्छु । ध्यान भने उनीहरुको झगडा मै हुन्छ ।

यत्तिकैमा बस बिरौटा पुग्छ । केटो मुर्मुरिँदै बसबाट झर्छ । पोखरा घुम्न आएका चार जना यात्रु पनि यहिँ झर्छन् । उनीहरुलाई सहचालकले डेभिस् फल (पाताले छाँगो) र गुप्तेश्वर गुफा जाने बस चढ्ने ठाऊँ देखाईदिन्छ । बस चालकले बसको इन्जिन बन्द गर्छन् । छेऊको यात्रु प्रतिक्षालयमा सहचालक र क्यापवाला बस्छन् । “जाँठो पुलिस बोलाउँछु भन्छ !” सहचालक क्पापवाला तिर हेर्दै झोक्किन्छ । चालक खल्तीबाट सुर्तिको पोको निकालेर माड्न थाल्छ । अब उनीहरुले लामै बिश्राम लिने भए भन्ने सोचेर म श्रद्धाञ्जली तर्फ लाग्छु । गोर्भचोभ कति दयनीय पात्र बनाइएछन् भनेर सोच्छु । झलक सुवेदीको लेख पढिभ्याउँछु । यतिबेला १:२३ बजेको हुन्छ ।

श्रद्धाञ्जली पढिसकेर फेरी चालक तर्फ हेर्छु । ऊ सुर्ती मुखमा च्यापेर मोबाइल खेलाउँदै हुन्छ । सहचालक र केटा केहि गफ गर्दै हुन्छन् । आफू नजिकै मान्छे आउने बित्तिकै सहचालक “ए ! पिर्थिवी चोक, न्युरोड, चिप्लेढुङ्गा, बगर ।” भन्दै कराउन थाल्छ । यति कराएपछि फेरी क्यापवाला बसेको ठाउँमा जान्छ । फित्तावाला चप्पल खोल्छ र पलेटी मारेर बस्छ । यो क्रम दुई मिनेट जतिमा फेरी दोहोर्‍याउँछ ।

म उसलाई हेर्छु । उसको उमेरका कति मानिस विदेश गए होलान् । यो मानिस किन गएन होला सोच्छु । विदेश गएर फर्किएको वा पासपोर्ट निकाल्न आवेदन दिएको होला कि सोच्छु । उसका जीवनका आरोह-अवरोह के-कस्ता होलान् सोच्छु । त्यो विद्यार्थीलाई छुट दिँदा उसलाई कति घाटा लाग्थ्यो होला ? विद्यार्थी छुट नदिँदा उसलाई कति फाईदा होला ? उसको मनलाई विद्यार्थीसँग पुरा भाडा लिँदा शान्ति मिल्ला ? के आफ्नो मनलाई शान्ति दिन मानिसले नियम मिच्न पाउँछ ?

फेरी मोबाइल हेर्छु । भोगीराज चाम्लिङको निकै लामो लेख देख्छु । त्यहि पढ्न थाल्छु । यहाँ बस रोकेको ५ मिनेट भईसकेको थियो । समय: १:२८ ।

चाम्लिङले सुँगुर र मानवसभ्यतामा क्या राम्रो लेख लेखेका रहेछन् । त्यहि पढ्छु । दुईजना पुरुषहरु बस चढ्छन् ।

बाहिर सहचालक बोलेको सुनेर आँखा त्यता लग्छु । तीन जना पैदल यात्रु केटिलाई सहचालकले जिस्काउँछ । “कता हो चिटिक्क परेर ?” मेरो जिऊ सिरिङ्ग हुन्छ । उठेर गएर सहचालकलाई दुई झापड हानौं जस्तो हुन्छ । उसले आफू पुरुष भएर पाएको सामाजिक फाइदाको खुलेआम प्रदर्शन गर्छ । म गएर उसलाई झापड हानेर आफ्नो पनि पुरुषत्वको प्रदर्शन गरौं ? वा उसलाई लैङ्गिक हिँसाको पाठ पढाऊँ ? (हैन अलि कम भाएलेन्ट हुम् हामी !)

मैले यति सोच्न नभ्याउँदै तीन जना मध्ये एउटी केटिले सहचालकलाई आँखा तरेर हेर्छे अनि भन्छे “आई मुख च्यातिदिऊँ तेरो ?”

सहचालक चुप हुन्छ ।

केटिहरु अलि पर पुगेपछि सहचालक फेरी “ए ! पिर्थिवी चोक, न्युरोड, चिप्लेढुङ्गा, बगर ।” भन्न थाल्छ । उसलाई के रमाइलो भयो होला केटिलाई जिस्काएर ? केटिले मुख च्यातिदिने भनेपछि ऊ डरायो होला कि उसकालागी त्यो सामान्य घटना होला ? के केटिका लागी पनि त्यो सामान्य घटना होला ? उनीहरुलाई यो घटनाले कति मानसिक तनाव थप्यो होला ? बाटोमा आफू सुरक्षित भएर हिँड्नै अझै कति गाह्रो छ नेपालमा । लैङ्गिक हिँसा र अन्याय पाइलै पिच्छे छन् ।

बस रोकेको १० मिनेट जति पछि चालकले इन्जिन स्टार्ट गर्छ तर बस गुडाउँदैन । एउटा पुरुष, एउटी महिला र दुईटा स-साना बच्चाहरु बस चढ्छन् । सायद उनीहरुको एउटा परिवार छ होला । म भोगीराज चाम्लिङको लेख तर्फ फर्कन्छु ।

म घडि हेर्छु । १:३३ भएको छ । बरु हिँडेरै चिप्लेढुङ्गा गएको भए पो छिटो पुगिन्थ्यो कि जस्तो लाग्छ । तर यो गर्मीमा पक्कै हिँड्न मुश्किल हुन्थ्यो । ट्याक्सी पो लिएको भए । पोखराको ट्याक्सी ! मलाई के को पो हतार छ र ? तर यो बसको यात्रा कुनै पनि हिसाबमा रमाइलो भईरहेको छैन । यो साह्रै नै झूर नेपाली फिल्म जस्तो लाग्दैछ ।

फेरी त्यो सहचालकलाई हेर्छु । उसको जिन्दगीमा कस्ता उतारचढावहरु होलान् सोच्छु । ऊ जिन्दगीदेखि कति हतोत्साहित (फ्रस्ट्रेटेड) होला ? कि आफ्नो काममा खुशी होला ? उसको काम र तलबले उसलाई खुशी बनाउलान् ? राती सुत्ने बेला आफूले केटि जिस्काएकोमा गर्व गर्ला वा उसलाई ग्लानी होला वा केटि रिसाएकोमा ऊ झनै झोक्किएला ?

१:३७ मा बस गुड्न थाल्छ । तर चालकले साह्रै ढिलो हाँक्छ । ५ किलोमिटर प्रतिघण्टा होला । दिक्क हुन्छु । यहि गतिमा पर्दी पुग्छ । १:४१ बजेको हुन्छ । सहचालक “ए ! पिर्थिवी चोक, न्युरोड, चिप्लेढुङ्गा, बगर ।” भन्दै हुन्छ र बसमा बेस्कन एकपल्ट हिर्काउँछ । चालकले झ्याप्पै ब्रेक हान्छ । बस रोकिन्छ । सातजना साडी लगाएका महिला र सर्ट-प्यान्टमा ढाकाटोपी लगाएको एउटा पुरुष चढ्छन् । बसको सिट लगभग भरिन्छ । उनीहरु आठ जना बस्न नपाउँदै बस एक्कासी हुत्ताएर चलाउँछ । ५ किलोमिटर प्रतिघण्टाबाट एकैपल्ट ८० किलोमिटर प्रतिघण्टाको वेग । एक्कासी के भयो म चाल पाउँदिन ।

बस एयरपोर्टको गेट कटेपछि “ए ! पिर्थिवी चोक, न्युरोड, चिप्लेढुङ्गा, बगर ।” भन्दै गरेको सहचालकले फेरी ढ्वाक्क बसमा हान्छ । बस झ्याप्प रोकिन्छ । एउटा पुरुष चढ्छ । अर्को सिटि बस यो बसलाई उछिनेर अगाडि बढ्छ । त्यो बसको गति होला ९० किमी प्रतिघण्टा । यो बस तुरुन्तै हुइँकाउँछ । अब दुईटा बसको छिटो कुदाउने प्रतियोगिता सुरु हुन्छ । यात्रुलाई छिटो समयमा गन्तव्यमा पुर्‍याऊँ भन्ने उद्देश्यले होइन आफूलाई अर्को बसले उछिन्यो भन्ने पीर बढी छ चलाकलाई । देशमा न नेताले जनता प्रति उत्तरदायी हुनुपरेको छ, न त सेवाप्रदायक निकायले सेवाग्राहीमाथी । देश यसै चलेको छ । समाज यसै चलेको छ । नेपालीको जीवन यसै चलेको छ । बस यसै चलेको छ । न कसैले प्रश्न सोध्छ । न कसैले विरोध गर्छ । विरोधका एकाध स्वर सुनिए पनि ती कोलाहलमा यसै हराउँछन् । सब आ-आफ्नै धुनमा मस्त ।

पृथ्वी चोक पुग्नु अघिको पेट्रोल पम्पमा बस पुन: रोकिन्छ । चालकले इन्जिन भने बन्द गर्दैनन् । सहचालक “ए ! न्युरोड, चिप्लेढुङ्गा, बगर” भन्ने थाल्छ । हाल्फप्यान्ट लगाएका दुईजना केटिहरु बस तर्फ आउँछन् । के सहचालकले यी केटिहरुलाई पनि जिस्काउला ? म सोच्छु । उनीहरु यहि बस चढ्छन् । सहचालक केहि बोल्दैन । अघिको केटिले थर्काएपछि यी केटिहरुलाई जिस्काउने आँट गरेन अथवा यी आफ्नो बसमा यात्रा गर्ने हुन् भनेर केहि बोलेन ?

यहाँ एउटी महिला एउटा सानो बच्चा र एउटा ठूलो बोरा बोकेर चढ्छिन् ।

१:४५ तिर बस पृथ्वी चोक कटेर सभागृह चोक तिर मोडिन्छ । बस बिसौनीमा पुगेर रोक्छ । अघि चढेका सात महिला र एक पुरुष यहाँ झर्छन् । सहचालकले प्रत्येकको २५ रुपिँयाका दरले २०० रुपिँया उठाउँछ । खल्तीबाट दुईटा गुट्खा निकाल्छ । एउटा क्यापवालालाई दिन्छ । अर्को खोल्छ र आफ्नो मुखमा हाल्छ । गुट्खाको खोल फुत्त सडकमा फाल्छ अनि “ए ! न्युरोड, चिप्लेढुङ्गा, बगर” भन्न थाल्छ । यहाँ थप ७ मिनेट रोकेपछि बस बिस्तारै न्युरोड तर्फ बढ्छ । यतिबेला १:५३ भएको हुन्छ ।

महानगरपालिका अगाडि ४ जना मानिसहरु (एक पुरुष, दुई महिला र एउटी सानी बच्ची) उभिएका हुन्छन् । सहचालकले चालकलाई बस रोक्ने संकेतस्वरुप बसमा एकपल्ट ढ्वाक्क हिर्काउँछ । बसमा झ्याप्प ब्रेक लाग्छ । ती मानिसहरुलाई सहचालकले “कता हो ?” भन्छ ।

“महेन्द्रगुफा ।”

“यो बगरसम्म जान्छ त्यहाँबाट पाउँछ महेन्द्रगुफा जाने ।”

“हैन पर्दैन यहिँ आउँछ ।”

“आउँन्न के !”

उनीहरु अब सहचालक तिरबाट अन्त हेर्छन् । सहचालक दुईपल्ट बसमा ढ्वाक-ढ्वाक हिर्काएर चालकलाई अघि बढ्ने संकेत गर्छ । आफ्नो फाइदाका लागी मानिसले अरुलाई गलत सूचना दिन पाउँछ ? यात्रुलाई महेन्द्रगुफा जाने गाडि आउँछ भन्ने थाहा हुँदा-हुँदै सहचालकले सजिलै झूठो कसरी बोल्न सकेको ? हाम्रा नेताबाट सिकेको ? कि हाम्रो समाज नै यस्तो भईसक्यो जहाँ हामीले आफ्नो स्वार्थकालागी जे गर्न पनि पाउँछौँ ? सहि-गलतको डर कसैलाई हुँदैन ? नैतिकता मरिसक्यो हाम्रो ? कि नेपाली समाजको नैतिकता नेपाली नेताहरुको नैतिकता जस्तै निकै तल गिरेको छ ?

१:५८ मा बस चिप्लेढुङ्गा चोकमा रोकिन्छ । म बसबाट झर्नलाई सिटबाट उठ्छु । सहचालकले सानो बच्चा र ठूलो बोरा लिएकी महिलाको बोरा बसबाट तल झारीदिन्छ । महिला बच्चा च्यापेर बसबाट झर्छिन् । महिलाको पछि-पछि म पनि झर्छु । सहचालक “नगरपालिका त अघि गैसक्यो । पैलै भन्न पर्दैन त नगरपालिका झर्ने भनेर” भन्दै महिलासँग कराउँछ । महिला एउटा हातमा बच्चा र अर्को हातमा बोरा बोकेर बसमा आएकै बाटो चिप्लेढुङ्गा तर्फ फर्किन्छिन् ।

म लगभग चार किलोमिटरको सिधा बाटो घुम्दै-घुम्दै सात किलोमिटर लगभग एक घण्टा लाएरै भएपनि चिप्लेढुङ्गा आईपुगियो भनेर महेन्द्रपुलको कला प्रदर्शनी तर्फ लम्कन्छु । दिमाग खलबलिएको हुन्छ ।

सहचालक “ए ! बगर, बगर !” भन्न थाल्छ ।

आवरण फोटो: अनिकर्मा

Comments

One response to “लेकसाईड टु चिप्लेढुङ्गा”

  1. Sangharsha Bhattarai Avatar
    Sangharsha Bhattarai

    “देशमा न नेताले जनता प्रति उत्तरदायी हुनुपरेको छ, न त सेवाप्रदायक निकायले सेवाग्राहीमाथी । देश यसै चलेको छ । समाज यसै चलेको छ । नेपालीको जीवन यसै चलेको छ । बस यसै चलेको छ । न कसैले प्रश्न सोध्छ । न कसैले विरोध गर्छ । विरोधका एकाध स्वर सुनिए पनि ती कोलाहलमा यसै हराउँछन् । सब आ-आफ्नै धुनमा मस्त ।”

    पोखरामा एक दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *