यो लेख २०७९ पुस १५ गतेको कान्तिपुरमा छापिएको थियो । कान्तिपुरको लिङ्कः https://ekantipur.com/opinion/2022/12/30/167236503713314991.html?author=1
गगन थापाले काङ्ग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएको दिन थुप्रै सकारात्मक लेख पत्रपत्रिकामा आए । सामाजिक सञ्जालमा समेत धेरैले उनको उम्मेदवारीले बोकेका सम्भावनाहरूको चर्चा गरे । गैरकाङ्ग्रेसीले समेत काङ्ग्रेसभित्रको लोकतन्त्रको गुणगान गाए ।
कतिले उनी संसदीय दलको नेता चुनिए उनी भावी प्रधानमन्त्री बन्ने र देशले ‘कायापलट गर्ने’ आशा व्यक्त गरे ।
तर भोलिपल्ट गगनले संसदीय दलको चुनाव हारे । काङ्ग्रेसका सांसदले देउवालाई जिताए । आफूले सोचेको भन्दा पनि कम मत गगनले पाए । यसपछि थुप्रैको आशा निमिट्यान्न भयो । सामाजिक सञ्जालमा परिवर्तन चाहनेहरूले निराश हुँदै ‘देशको केही हुन नसक्ने’ दिक्दारी प्रस्तुत गरे । नेपाली काङ्ग्रेसको विरोध गरे ।
अब बन्ने सरकारमा पनि उही थोत्रा, पुराना, खिया परेका नेताहरू मन्त्री हुनेछन् भन्ने प्रस्ट भइसक्यो । जनताले चाहेको परिवर्तन यो चुनावी अंकगणितले व्यवहारमा लागू गराउन सकेन । तर अबका पाँच वर्षमा गगन वा उनीजस्ता मानिसहरूले के–कस्ता उथलपुथल ल्याएर जनताको परिवर्तनको चाहनालाई पूरा गर्न सक्छन् ? यो लेखमा नेपाली समाज र नेपाली राजनीति अड्चनका केही पाटाको विश्लेषण र गगनको राजनीतिक सकसबारे चर्चा गरिनेछ ।
गगनको मोडल
२०७६ सालमा म सिंगापुरमा पढ्दै गर्दा सिंगापुर नेपाली समाजको मेसेज फेसबुकमा आयो । गगन सिंगापुर आएका रहेछन् । स्थानीय नेपालीहरूसँग भलाकुसारी गर्न एउटा शनिबारको दिन तोकियो ।
मलाई यति धेरै नाम सुनेका तर कहिल्यै नभेटेका गगनको दिमागमा के चल्दो रहेछ बुझ्ने मन थियो । निश्चित दिन म बेलैमा कार्यक्रमस्थल पुगें । कोठा सानो तर कोचाकोच थियो । गगन निर्धारित समयभन्दा ढिलो आइपुगे र कार्यक्रम अर्ध–औपचारिक रूपमा सुरु भयो ।
गगनलाई सहभागीहरूको मुख्य प्रश्न थियो, ‘तपाईं कहिले प्रधानमन्त्री बन्ने ?’ यो प्रश्न केवल उनको राजनीतिक चढाइका लागि थिएन, देशको आर्थिक विकाससँग जोडिएको थियो । यो प्रश्न पक्कै पनि गगनलाई थुप्रैले धेरैपल्ट सोधिसकेका थिए र रेडिमेड उत्तर उनीसँग थियो । तर पनि उनको अनुहारमा एउटा रिक्तता देखिन्थ्यो ।
सहभागीहरूले अन्य प्रश्न पनि गर्दै जाँदा गगनको अनुहारमा देखिएको रिक्तता कायम थियो । जब प्रश्नकर्ताहरूको पालो सकियो, गगनले मैले नसोचेको उत्तर दिए । देशमा एक जनाले मात्रै परिवर्तन ल्याउन नसक्ने भएकाले देशको ‘सिस्टम’ (पद्धति) र ‘इन्स्टिट्युसन’ (संस्था) बलियो र सुदृढ बनाउनुपर्ने उनको तर्क थियो । (हुन त यो ‘ह्वाई नेसन्स फेल’ किताबमा डारेन एसिमोग्लु र जेम्स रोबिन्सनले विश्लेषण गरेकै तथ्य हो, जुन विवादास्पद पनि छ ।) डेलिभरीमा केन्द्रित रहनुपर्नेमा उनको जोड थियो ।
एक जनाले परिवर्तन ल्याउन सक्छ कि सक्दैन भन्ने विषय विवादित नै छ तर यो ‘सेभियर मेन्ट्यालिटी’ (कसैले उद्धार गरिदेला भन्ने मानसिकता) रहेको उनको विश्लेषण थियो । राणाकाल र पञ्चायत व्यवस्थामा त आउन नसकेको परिवर्तन हालको शक्ति पृथकीकरणको युगमा – त्यसमाथि भ्रष्टाचारले आक्रान्त हाम्रोजस्तो देशमा – एक जनाले ल्याउन खोज्नु निश्चय पनि धेरै मुस्किल काम हो । तर उसले आशा भने पक्कै दिलाउन सक्छ । ‘सेभियर मेन्ट्यालिटी’ बाट नेपालीहरू मात्र होइन, थुप्रै देशका मानिसहरू ग्रस्त छन् । डोनाल्ड ट्रम्प र उनको देशलाई नै हेरौं ।
साक्षात्कारकै क्रममा गगनले आफूले एउटा यस्तो टिम बनाउन लागेको बताए जसले एक जनाको बलमा होइन मिलेर काम गरी ‘देशलाई कोल्टे फेराउनेछ’ । काङ्ग्रेस संसदीय दलको भर्खरैको निर्वाचनले गगनले भनेको सिस्टम र इन्स्टिट्युसनको मात्र समस्या देखाउँदैन, आम नेपालीको मानसिकता र तिनले चुनेर पठाएका सांसदहरूका दिमागमा भरिएको लम्पसारवाद र यथास्थितिवादलाई पनि झल्काउँछ ।
विद्रोह गर्न आँट चाहिन्छ तर यथास्थितिमै रहन धेरै सजिलो छ । गगनका सामुन्ने देउवाको शक्ति यति धेरै हावी भयो, सांसदहरूलाई देउवाले साम, दाम, दण्ड, भेदको नीति अनुरूप तुरुन्तै आफ्नो पक्षमा पारे । देउवाले देखाएको लोभ (मन्त्री पद) वा सांसद बनाउन गरेको कृपाका कारण मात्र थुप्रै काङ्ग्रेस सांसदले गगनलाई भोट हालेनन् ।
गगनलाई प्रश्नैप्रश्न
निश्चय पनि गगनको टिम राम्रो र बलियो बन्दै गएको छ । उनको ‘कोर टिम’ पनि बलियो छ । पढेलेखेका मानिसहरूले उनलाई नीतिगत सल्लाह दिन्छन् । उनी कार्यक्रममा बोल्नुअघि गृहकार्य गर्छन् । एउटा कुशल राजनीतिज्ञमा हुनुपर्ने थुप्रै गुण उनमा छन् । यति गुणहरूका बावजुद के उनले काङ्ग्रेस सांसद र नेपालका आम मतदाताको यथास्थितिवादलाई चिरेर नेतृत्व दिन सक्छन् ?
नेपालजस्तो सिस्टम र इन्स्टिट्युसन अत्यन्तै कमजोर भएको देशमा उनलाई प्रधानमन्त्री भएर परिवर्तन ल्याउन कति सजिलो/गाह्रो छ ? एउटा नेताले समाजमा कस्तो परिवर्तन ल्याएर जनतालाई नेतृत्व दिन सक्छ र उनले समाज बदल्न कस्तो टिम गठन गर्न सक्छन् ?
पुरातनवादीहरूले भरिएको पार्टीमै बसेर उनले सोचेको जस्तो परिवर्तन ल्याउन सकिन्छ वा बालेन शाह र रवि लामिछानेले जस्तै उनी पनि स्वतन्त्र उठेर वा नयाँ पार्टी खोलेर यो परिवर्तनको पक्षमा उभिन सक्छन् ? के उनी पनि (केही हदसम्म) यथास्थितिवादी हुन् जसका कारण उनी पार्टी र देशमा उथलपुथल ल्याउने गरी विद्रोह गरेर नयाँ पार्टी गठन गरी परिवर्तनका तरंगहरू ल्याउन डराइरहेका छन् ? के हामीले उनीबाट आशा गरेको परिवर्तन संसदीय दलको चुनावमा आएर टुंगिन्छ वा टुंगिन पाउँछ ?
मुख्यतया पुरुष नवउदारवादीहरूको वरपर बस्ने गगनले थुप्रै, आफूले उत्तर नदिएका र दिन नसकेका, प्रश्नहरूको उत्तर दिनुपर्छ । समावेशीता, पछाडि पारिएका समुदायहरूका लागि राज्यद्वारा उपयुक्त व्यवस्था, संघीयताको सुदृढीकरण, सामाजिक सुरक्षा, सुकुम्बासी लगायतका लागि बसोबास र भूमिसुधारका थुप्रै प्रश्नको प्रस्ट उत्तर गगनले दिन सक्नुपर्छ । देशमा व्याप्त भ्रष्टाचार (आर्थिक, नीतिगत र नैतिक), कुशासन, दण्डहीनता र अन्य सामाजिक मुद्दाबारे गगनको लाइन प्रस्ट हुनुपर्छ । देशको आर्थिक अवस्थामा सुधार, देशभित्रै दक्ष जनशक्ति उत्पादन र रोजगारीको व्यवस्था, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार लगायतका थुप्रै नीतिगत र कार्यान्वयनका पाटाहरूमा गगनले आफू र आफ्नो टिमलाई परिचालन गर्न अब ढिलो गर्न हुँदैन । साथै, आफ्नो टिममा कस्ता पृष्ठभूमिका मानिस छन् र तिनीहरू जनताप्रति कत्तिको जवाफदेह छन् भन्ने ख्याल उनले गर्नुपर्छ ।
अबका पाँच वर्षमा उनले र उनको टिमले पार्टीभित्र मात्र होइन, समाजमा पनि परिवर्तन ल्याउने सैद्धान्तिक र प्रयोगात्मक कामहरू गरेर देखाउन र परिवर्तनका संवाहक मानिसहरू छानेर उनीहरूलाई नेतृत्व दिलाउन र सांसद बनाउन थुप्रै गृहकार्य गर्नुपर्ने देखिन्छ ।
अहिलेकै नेताहरूबाट न परिवर्तनको आशा गर्न सकिन्छ न त उनीहरूमाथि गगनले विश्वास गर्न सक्छन् । संस्थापन पक्ष र उनीभन्दा सिनियर भन्ने नेताहरूले फेरि पार्टीको आगामी महाधिवेशन, आम चुनाव र संसदीय दलको चुनावमा उनलाई नै साथ दिन्छन् भन्ने ग्यारेन्टी हुन असम्भव छ । त्यस्तै, अब आउने पार्टीको महाधिवेशनमा शेखर प्यानलले जितेर उनी संसदीय दलका उम्मेदवार भए पनि उनीभन्दा सिनियर नेताहरूले आफ्नो
भाग खोजेर उनलाई फेरि संसदीय दलको नेताको चुनावमा हराइदिन सक्छन् र फेरि उनीबाट आशा गरेका मानिसहरूले निराश भएर ‘अर्को पाँच वर्ष’ कुर्नुपर्नेछ । तर आम जनताको धैर्यको बाँध त्यति बलियो छैन ।
गगनलाई पनि थाहा छ, यहाँ उल्लिखित कुराहरू कार्यान्वयन गर्न सजिलो छैन । एक जनाले गर्नै सक्दैन । यसका लागि सल्लाहकारहरूको टिम मात्र होइन, परिवर्तनका संवाहकहरूको टिमको पनि जरुरत छ । यो बेला गगन, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा मात्र नभएर सयौं (वा हजारौं) अरू युवा र परिवर्तनका पक्षमा उभिन चाहनेहरूलाई गगनले नेतृत्व गर्न सक्नुपर्छ ।
समावेशी लोकतन्त्रको अभ्यास गर्दै महिला, जनजाति, दलित, अपांगता भएका व्यक्ति, विकट क्षेत्रका प्रतिनिधि, र पछाडि पारिएका व्यक्तिहरूलाई समावेश र परिचालित गरी आर्थिक विकासका साथसाथै सामाजिक मुद्दाहरूमा पनि गगनको आवाज अपरिहार्य बन्न सक्छ, जुन हालसम्म निकै कमजोर छ । रविले वा बालेनको जस्तै विद्रोही सन्देश (सो विद्रोहमाथि शंका र प्रश्न त छँदै छ) जनमानसमा पुर्याउनुपर्छ ।
गगनका लागि अबका पाँच वर्ष निकै चुनौतीपूर्ण छन् । तर यो काम गगन एक्लैले गर्ने होइन । बलियो टिमलाई प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरूमा नेतृत्वदायी भूमिकामा आउन प्रोत्साहन र मद्दत गरेर मात्रै राष्ट्रिय राजनीतिमा गहिरो प्रवाह पार्न सकिन्छ । गगन संगठन निर्माणमा केन्द्रित हुनुपर्छ ।
अन्त्यमा, परिवर्तन ल्याउन गगनलाई नेपालीहरूले खोजेको थुप्रै भइसक्यो । उनको पार्टीले उनलाई अगाडि आउन नदिन थुप्रै सफल प्रयास गरिसक्यो । नेपालमा अन्य परिवर्तनकारी शक्तिहरू आएर जनतालाई परिवर्तनको प्रत्याभूति दिन थाले गगनले त्यस्ता शक्तिहरूसँग कस्तो सहकार्य गर्लान् वा नगर्लान् ? गगनको ठाउँमा अर्को कसैले परिवर्तन ल्याउने आशा देखाउन थाल्यो भने उसलाई गगनको साथ रहला वा नरहला ? गगन वा अर्को जो अगाडि आए पनि अब यथास्थितिवादलाई निमिट्यान्न पार्न धेरै ढिलो भइसकेको छ ।
यो लेखमा राखिएको फोटो कान्तिपुरमा छापिएको लेखमा प्रयोग भएको थियो ।

Leave a Reply