यो लेख नयाँ पत्रिका दैनिकमा २०७७ जेठमा छापिएको थियो ।
भारतले लिपुलेक हुँदै चीन जाने बाटोको उद्घाटन गरे लगत्तै नेपालमा त्यसको चर्को विरोध हुँदै छ । अरु बेला थुप्रै कुरा नमिल्ने दक्षिणपन्थीहरु र वामपन्थीहरु र यी दुई विपरित धारका बीचमा पर्ने अन्य धेरैखाले विचारधारा बोकेका मानिसहरुले भारतको यो कदमको विरोध गरे । तर भारतले यो सडक बनाउन थालेको थुप्रै भएको थियो । बीचमा सबैले बिर्सिए वा यसका बारेमा बोल्न जरुरी सम्झेनन् वा उनीहरुले बोले पनि कसैले सुनेन । तर अहिले यसको विरोध नगर्ने लगभग कोहि छैन ।
कतिले नेपाल सरकारले ठोस नीति लिन नसकेकोमा र समय मै भारत समक्ष कडा प्रतिक्रिया जनाउन नसकेकोमा पनि विरोध गरे । यस लगत्तै परराष्ट्र मन्त्रालयले अङ्ग्रेजीमा जारी गरेको विज्ञप्तिमा उसले भारतले यो बाटो सुचारु गरेकोमा “रिग्रेट्” अर्थात् खेद/अफसोस प्रकट गरेको छ । यो भन्दा नेपालले अरु ठूलो गर्न सक्ने केहि देखिंदैन पनि ।
यसमा आपत्ति जनाउने दुई फरक धार हुन सक्छन् । पहिलो र सजिलो, राष्ट्रवादी धार । दोस्रो तर जटिल, स्वराजको धार । नेपालमा दोस्रो धार भन्दा बढी पहिलो धारको प्रयोग भएको देखिन्छ । सामान्य नेपालीले जति नै स्वराजको परिकल्पना गरे पनि सत्तामा बस्नेहरुले यसलाई खोक्रो भाषणमा सिमित गर्ने गर्छन् र आफ्नो लाचारी छोप्न भारतको विरोध गर्न तिर लाग्छन् । उनीहरुले यो कहिल्यै भन्दैनन् कि उनीहरुले स्वराजको लागी के गरे ? उनीहरु यो मात्रै भन्छन् कि भारतले के कति थिचोमिचो गर्यो । त्यस माथी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा त भारतले अन्तरराष्ट्रिय सन्धी-सम्झौताहरुको उल्लङ्घन गर्दै सोझै सीमा अतिक्रमण र भौतिक हस्तक्षेप गरेको देखिन्छ ।
यो राष्ट्रियता भन्ने चीज नै यस्तो हो । यसलाई जसले बनायो, उसको मूल ध्येय नै यहि थियो । राष्ट्रियताको नाममा दाजु र भाइको लडाइँ समेत भएको हामीले संसार भरी देखेका छौं चाहे त्यो दक्षिण र उत्तर कोरिया होस् वा भारत र पाकिस्तान वा स्पेन र क्याटालोनिया । तर हाललाई यो लेख नेपाल भित्रै सिमित राखौं ।
सामान्य ज्ञानको जानकार जो कोहि नेपालीले पनि “नेपालको क्षेत्रफल कति हो ?” भन्ने प्रश्नको सजिलै उत्तर दिन्छ: एक लाख सत्चालीस हजार एक सय एकासी वर्ग किलोमिटर । हामीले सानैदेखि घोक्दै आएको एउटा सङ्ख्या हो यो । तर यो कुनै सामान्य सङ्ख्या होइन । यसमा पूरै नेपालको राष्ट्रियता नाप्न सकिन्छ ।
नेपालको भौगोलिक कल्पना गर्नु परेमा हामी दक्षिण एसियामा भारत र चीनका बीचमा च्यापिएर बसेको इँट आकारको लाम्चो सानो देश जसको क्षेत्रफल १,४७,१८१ छ भनेर कल्पना गर्छौं । यो लेखले नेपालको क्षेत्रफल र त्यस सँगै जोडिएर आउने नेपाली राष्ट्रियताका बारेमा केहि सामान्य कुराहरु केलाउने प्रयास मात्र गर्न खोज्नेछ र थुप्रै सैद्धान्तिक प्रश्नहरु सोध्नेछ । यस चेष्ठालाई सैद्धान्तिक बल दिने अभिप्रायका साथ यसमा बेनेडिक एण्डरसन् नामक राजनीतिशास्त्री एवम् इतिहासकारको विश्व चर्चित कृति इम्याजिण्ड कम्युनिटिज (काल्पनिक समुदायहरु)बाट थुप्रै विचारहरु साभार गरिएको छ ।
एण्डरसन् भन्छन् कि कुनै पनि देश वा सम्प्रदायको मानिसले आफ्नो समुदायका सम्पूर्ण मानिसहरुलाई कहिल्यै पनि भेट्दैन न त उनीहरु सबैको बारेमा जानकार नै हुन्छ, तर उसले त्यो समुदायका मानिस मिलेर एउटा राज्य बनेको कल्पना (इम्याजिन) गरेको हुन्छ । जब रेडियोमा “रातो र चन्द्र सूर्य” वा “बनेको छ पहराले यो छाती मेरो” भन्ने गीत बज्छन्, त्यो बेला आफ्नो शरीरमा जसरी रगत जोशमा बग्छ र रौंहरु ठाडा हुन्छन्, त्यसरी नै अरु सबै नेपालीको शरीरका रौंहरु पनि ठाडा हुन्छन् र उनीहरु पनि आफू जस्तै देशप्रेमी छन् भन्ने कल्पना गरिन्छ । साथै जब कुनै अन्य देशले नेपालमा नाकाबन्दी गर्छ, त्यो बेला सबै “नेपाली”को मन उत्तिकै दुख्छ भन्ने कल्पना हुन्छ ।
म कहिलेकाहीं अठोट गर्छु कि म नेपालको ७७ वटै जिल्ला एक दिन पुग्ने छु । तर म अहिलेसम्म जति पनि जिल्लाहरु गएँ, ति सबै जिल्लाहरुका सबै इलाकाहरुका सबै गाउँपालिकाहरुका सबै वडाहरुका सबै गाउँहरुका सबै घर वा जङ्गल वा फाँट वा पहाड वा नदि वा हिमाल त पक्कै पुगेको छैन र पुग्ने वाला पनि छैन । म थुप्रै जिल्लाको सदरमुकाम मात्रै पुगें हुँला वा कतै केहि वस्ती वा सडक वा जङ्गल मात्र पुगें हुँला ।
त्यसरी नै, जसरी हामीले नेपाल १,४७,१८१ वर्ग किमी छ भनिरहँदा हामी सामान्य नेपाली मध्ये कसैले पनि त्यो सबै ठाउँमा पुगेर नापेर भनेको कुरा होइन । हामी मात्रै त के नापी विभागमा रहेको जग्गाहरुको प्रत्येक कित्ता मिलाएर हेर्दा पनि ठ्याक्कै १,४७,१८१ नै हो भनेर भन्ने आधार के हो ? समथर र मानिस सजिलै पुग्ने ठाउँमा त जग्गा नापेर निर्क्यौल गरियो पनि होला, तर मानिस पुग्ने अति कष्ठकर रहेको विकट हिमाली क्षेत्रको क्षेत्रफल ठ्याक्कै हिसाब गर्न गाह्रो छ । यो सङ्ख्यामा विवादित लिपुलेक को चुच्चो पर्छ कि पर्दैन ? यदि पर्छ भने हामीले स्कुल पढ्दा नेपालको नक्सामा कहिल्यै नबनाएको चुच्चो अहिले एक्कासी नेपाल कै पो हो रहेछ भनेर थाहा पाउँदा पनि नेपालको क्षेत्रफलमा फेरी कुनै फेरबदल आएन ? कि पहिलेको सङ्ख्या नै गलत थियो ?
थुप्रै ठाउँ खोज्दा पनि नेपालको क्षेत्रफलको नापको मेथोडोलोजी कतैबाट प्राप्त गर्न सकिएन र कति मार्जिन अफ एरर् (तलमाथी) राखेर यो अङ्क निकालिएको हो भन्ने पनि ठेट हिसाब गर्न सकिएन । कसैले भविष्यमा यसो गरिदिनु भएमा अझै मज्जाले मन्थन गर्न पाइने थियो । हाललाई मात्र यत्ति थाहा भयो कि २०३१ सालमा नापी नक्साको आधारमा यो अङ्क निलाकिएको हो ।
जसरी हामीले १,४७,१८१ लाई नेपाल हो भनेर सोचिरहेका छौं, त्यसरी नै हामीले यस क्षेत्रफल भित्र बस्ने मानिसहरुलाई “नेपाली” भनेर बुझिरहेका हुन्छौं । र जसरी हामी आफैं १,४७,१८१ वर्ग किमी गएर निरीक्षण नगरी आफ्नो दिमागमा यति क्षेत्रफल जसलाई उत्तरबाट चीनले र दक्षिण, पश्चिम र पूर्वबाट भारतले घेरेको छ भनेर कल्पना (इम्याजिन) गरिराखेका छौं, त्यसरी नै नेपालका सम्पूर्ण जनताहरु—जसलाई चर्चित भाषामा “नेपाली दाजुभाइ तथा दिदीबहिनी” भनिन्छ—लाई आफ्नो जीवनकालमा कहिल्यै भेट्दैनौं । तर पनि हामी उनीहरु छन् र हामी जस्तै आफूलाई नेपाली नागरिक भएको विश्वास गर्छन् भनेर कल्पना गर्छौं । बेनेडिक एण्डरसन् भन्छन् कि हामी यो पनि सोच्छौं कि उनीहरु पनि हामीले जस्तै बोल्छन्, चाडपर्व मनाउँछन्, जीविका चलाउँछन्, आदि ।
यसमा हामीले विविधताका थुप्रै कुराहरु बिर्सन्छौं । जब हामी सोच्छौं कि नेपालीहरु एक हिसाबले एउटा क्षेत्रफलमा सिमित छन्, एक प्रकारले बोल्छन् र त्यहि रुपले सोच्छन्, त्यो बेला हामी नेपाली भाषा बोल्न नजान्ने नेपालीलाई कता राखेर हेर्छौं ? दशैं नमनाउने नेपाली हाम्रो मानचित्रमा कता बस्छन् ? पञ्चायत सरकारले “एक भाषा एक भेष”को परिकल्पना ल्याएर नेपालीलाई एकसमान बनाउने असफल कार्य गरेको पनि सुन्यौं । त्यस्तै महेन्द्रमाला र राष्ट्रवाद झल्किने लेख र सुन्ने बित्तिकै जोशले आँतमा काँडा उम्रने देशभक्तिको गीत गाउँ-गाउँमा पुर्याएर नेपालीकरणको प्रयास पनि सरकारबाट भएकै हो ।
अनि अर्को तरिकाबाट फेरी आफूलाई नेपाली वा गोर्खाली भनेर चिनाउनेहरु त नेपालको सिमाना बाहिर अरु थुप्रै ठाऊँहरुमा छन् । जस्तै, कामको लागी वा बसाइँ सरेर विदेशिएका नेपालीहरु । त्यस्तै, नेपालको पूर्व तिर म्यानमारदेखि फिजीसम्म दशकौँदेखि बसोवास गरिराखेका थुप्रै नेपालीहरु । सङ्ख्यात्मक क्षेत्रफलको हिसाबले उनीहरु १,४७,१८१ भित्र नपर्लान् तर भावनात्मक क्षेत्रफलको हिसाबले उनीहरुलाई हामी कता राख्छौँ ? नेशन-स्टेटको (राज्य वा सिमानाको आधारमा नेपाल) हिसाबले उनीहरु १,४७,१८१ भित्र बसिरहेका नहोलान्, तर उनीहरु नेपाली नेशन (राष्ट्र वा जातियताको आधारको नेपाल) भित्र कसरी अटाइरहेका छन् ? उनीहरुको अस्तित्वलाई हामीले कसरी कल्पना गरेका छौं ? हामीले भौगोलिक कल्पनामा उनीहरुलाई नपारौंला, तर नेपाली हुनुको कल्पनामा उनीहरु कता पर्छन् ?
सुगौली सन्धी अगाडिको नेपालको जुन भूभाग थियो, जून गोर्खाली सेनाले लडेर जितेका थिए र पछि लडाइँ हारेर गुमाएका पनि थिए त्यसले नेपाली हुनुको अर्थमा के कस्तो भिन्नता ल्याउँछ ? लोकसेवा तयारी कक्षा मै सुगौली सन्धी भन्दा पहिले नेपालको कूल क्षेत्रफल २,०४,५१६ वर्ग किमी भनिएको छ । गोर्खा राज्य विस्तार अगाडि यो “नेपाल” को क्षेत्रफल कत्रो थियो र पछि के भयो भन्ने कुरामा विचार विमर्श हुँदै गर्ला । तर जब गोर्खाली सेनाले स-साना राज्यहरु जित्दै गयो, त्यो बेला ति राज्यका नागरिकहरुले आफूमाथि आक्रमण गर्न आउने सेनालाई कसरी हेरेका थिए ? आफ्नो ज्यान माथि असुरक्षित हुँदै त्रसित भएका थिए वा “गौरवशाली” “वीर गोर्खाली” शासनमा मिसिन पाएकोमा के उनीहरु खुशी थिए ? अहिले लिपुलेकका जनताले नेपाली भएको महसुस कति गर्छन् ? उनीहरुलाई सिंहदरबारले सम्झने त चुनावको बेला राष्ट्रवादी प्रचारका लागी मात्र प्रयोग हो ।
त्यसरी नै, जब यी मध्ये केहि क्षेत्र नेपालले सुगौली सन्धी मार्फत गुमायो, त्यस बखतमा फेरी भारतमा वा सिक्किममा पुगेका “नेपाली”ले आफूलाई कसरी कल्पना गरे ? आफूलाई पहिले भन्दा कति कम “नेपाली” महसुस गरे वा कति बढी “सिक्किमेली” पाए ? अहिले हामीले दार्जिलिङ र कुमाउँका मानिसहरुलाई कसरी कल्पना गर्ने ? “भूतपूर्व नेपाली”को हिसाबमा कल्पना गर्ने कि अन्य देशमा बसिरहेका नेपाली जसरी कल्पना गर्ने कि सार्वभौम भारतका भारतीयको रुपमा सोच्ने ? उनीहरुलाई कुनै युद्धले एउटा देशबाट अर्को देशमा पुर्याउँदा र फेरी कुनै सन्धीले अर्कै देशमा पुर्याउँदा उनीहरुको कल्पनामा एउटा अमुक देशबाट शासित हुँदा र नहुँदाको कल्पना कस्तो थियो ? अहिले दुई शताब्दी पछि कस्तो छ ?
अहिले नेपाल छोडेर विदेशमा पिआर वा डिभी लिएर बसेकाले आफूलाई कल्पना गर्दा कति नेपाली अनुभव गरिराखेका छन् ? अबको २५० वर्ष पछि उनीहरुका सन्तानले नेपालप्रतिको कल्पना कस्तो गर्दा हुन् ? उनीहरुलाई लागी नेपालले के माने राख्दो हो ? उनीहरुले के आफूलाई नेपाली भनेर पहिचान गराउलान् ?
“ग्रेटर नेपाल”को अवधारणा सिमानागत (नेशन-स्टेट) हिसाबमा मात्रै अगाडि बढेको देखिन्छ तर राष्ट्रगत/जातिगत (नेशनको) भावनाबाट अभिप्रेरित देखिंदैन । यो अवधारणामा भएका सैद्धान्तिक समस्याहरुलाई यसका पृष्ठपोषकहरुले कसरी समाधान गर्ने सोचेका छन् ? लिपुलेकका जनताले हामीलाई भारतले बनाएको बाटोले फाइदा हुन्छ भनेर भन्न पाउने कि नपाउने ? हामीले लिपुलेकका मानिसलाई कहिल्यै सोध्यौं त उनीहरुलाई के चाहिन्छ ? पूर्वमा टिष्टा र पश्चिममा काँगडाका जनतालाई के गोर्खाली र नेपाली राज्यले कहिल्यै सोध्यो त उनीहरुले के चाहेका थिए ? नेपाल सरकारले आफ्नो जनतालाई पूर्वाधार दिन नसकेकोमा काठमाडौंमा बसेर सो सडकको विरोध मात्र गर्ने कि सरकारलाई लिपुलेकवासीलाई वा अन्य विकट ठाऊँका नेपालीहरुलाई विकासको प्रत्याभूति दिन दबाब तर्फ पनि लाग्ने ?
लिपुलेक मात्र होइन बेला-बेला नेपाल-भारत र नेपाल-चीन सीमा विवादका क्रममा हामी भारत र चीनले नेपालको थुप्रै ठाउँहरुमा सीमा मिचेका समाचारहरु सुन्न पाइरहन्छौं । २२० बर्ष पहिले अहिले जस्तै सञ्चारमाध्यम भए गोर्खा सेनासँग लडिराखेका राज्यका सञ्चारमाध्यमले गोर्खा सैनिकका युद्धहरुलाई कस्तो हिसाबले “ब्रोडकाष्ट” गर्थे होलान् ?
अहिले हामी आफ्नो सीमामा एक सेन्टिमिटर पनि तलमाथि हुन नहुनेमा दृढ छौं । यसले हाम्रो राष्ट्रिय सार्वभौमसत्ता र अखण्डतामा आँच आउने बुझ्छौं । तर हामीले नेपालले भारतको सीमा मिचेको खबर किन सुन्दैनौं ? के यस्तो हुँदै हुँदैन, नेपालले यसो गर्ने सहास नै गर्दैन, वा यस्ता समाचार हाम्रा सामु आउँदै आउँदैनन् ?
राष्ट्रवाद र सार्वभौमसत्ताको स्थापना गर्नु वा गरेको जस्तो गर्नु त अहिले विश्वव्यापी चलन नै चलेको छ । त्यहि राष्ट्रवादको सूत्र प्रयोग सफलतापूर्वक भएको हामीले नेपालको पछिल्लो निर्वाचनमा देखिहाल्यौं । कोभिड-१९ पछि संसारभरी नै राष्ट्रवादी नारा सफल भइरहेका छन् । सिमानाहरु अझै कडा हुँदैछन् । सिमान्तकृत जनताहरुका आवाज झनै मलिन हुँदै छन् । कुटनीतिक वा भूराजनीतिको हिसाबमा यो अति नै गहन प्रश्न होला जुन सरकार, नीतिनिर्माता र राजनीतिशास्त्रीका लागी अति नै अपरिहार्य होला । यस्तो बेला हामी सामान्य नेपाली नागरिकले राष्ट्रवादी धारबाट बाहिर निस्किएर स्वराजको भावनाबाट सोच्न जरुरी छ । ट्विटरमा एक मित्रले भन्नुभए जस्तै: “देश चाहिने शासकलाई हो, जनतालाई त सहज जीवनयापन सँग मतलब छ ।”
यो लेखमा प्रयोग भएको चित्र Pexels Free Photo बाट साभार गरिएको हो ।
Leave a Reply